स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको उपस्थिती उत्साहप्रद छः तारामान रावल, मेला संयोजक

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको उपस्थिती उत्साहप्रद छः तारामान रावल, मेला संयोजक


‘आठौं नेपाल हायर एजुकेसन फेयर २०२२’ आइतबारबाट सुरु भएको छ । एभरेष्ट होटलमा सुरु भएको सो मेला आजसम्म चल्नेछ । प्लस टु सकेर बसेका नेपालमै उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै मेला आयोजना गरिएको हो । यस शैक्षिक मेलाका विषयमा मेला संयोजक तारामान रावलसँग गरिएको कुराकानीः- 

आठौं नेपाल हायर एजुकेसन फेयर २०२२ किन आयोजना गर्नुभएको हो ?
–स्टडी इन नेपाल अर्थात स्वदेशमै उच्च शिक्षा भन्ने नारा लिएर यो मेला आयोजना गरिएको हो । उच्च शिक्षाका लागि स्वदेशमा थुप्रै राम्रा विषयहरु छन्, त्यसैले ब्याचलर्स लेभलको शिक्षाका निम्ति विदेश गइरहनुपर्दैन भन्ने सन्देश यो मेलाले प्रवाह गरेको छ । विदेशी विश्वविद्यालयहरुले अन्तराष्ट्रियस्तरको शिक्षा भन्दै नेपालमा परामर्शकेन्द्रहरु मार्फत आफ्नो शैक्षिक कार्यक्रमको प्रवद्र्धन गरिरहेका हुन्छन्, तर स्वदेशमै उपलब्ध गुणस्तरिय उच्च शिक्षाको बारेमा विद्यार्थीले पर्याप्त जानकारी पाइरहेको हुँदैन्, त्यसैले यो मेलाले विद्यार्थीलाई सहयोग पु-याउने आशा लिएका छौं । एउटै छानामुनि ४० भन्दा बढी कलेजहरुलाई सहभागी गराएर स्वदेशी शैक्षिक कार्यक्रमहरुबारे विद्यार्थीलाई परामर्श उपलब्ध गराउन यो मेला आयोजना गरिएको हो ।  

यो वर्ष मेला के कारणले भिन्न छ ?
– विगत ८ वर्षदेखि हामी स्वदेशी शिक्षालाई प्रर्वद्धन गर्न भनेर मेला आयोजना गर्दै आएका छौं । नेपालका सबै विश्वविद्यालयहरुलाई उनीहरुका शैक्षिक कार्यक्रमहरुको बारेमा जानकारी गराउन अनुरोध गर्दै आएका थियौं । तर सबैलाई समेट्न सम्भव भैरहेको थिएन, सुखद पक्ष, यो वर्षको मेलामा हामीले ती सम्पुर्ण विश्वविद्यालयहरुलाई सहभागी गराउन सफल भएका छौं । त्रिभुवन, काठमाडौं, पोखरा, पूर्वाञ्चल लगायत सबै विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कलेजहरु मेलामा उपस्थित छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरु शंकरदेव, न्याथम पनि मेलामा सहभागी छन् । विगतको तुलनामा यो वर्ष विद्यार्थीहरुलाई विषयवस्तुका बारेमा पर्याप्त परामर्श उपलब्ध गराइएको छ । विद्यार्थीसँगै अभिभावकहरुको पनि उल्लेखनिय सहभागिता भएका कारण हामी उत्साहित छौं । 

मेलामा सहभागी अभिभावक र विद्यार्थीहरुको प्रतिक्रिया कस्तो पाउनुभयो ? 
-‘स्वदेशमै शिक्षा सबैको इच्छा’ नारा बोकेको यो मेलामा विद्यार्थी र अभिभावकको बाक्लो उपस्थिती र जिज्ञासाले मेलाको सान्र्दभिकतालाई प्रष्ट पारेको छ । नेपालको शिक्षा गुणस्तरहीन छ, नेपाली शिक्षा पद्दती राम्रो छैन्, रोजगारमुलक शिक्षा भएन लगायतका भ्रम सिर्जना गरिएको छ त्यो भ्रमलाई चिर्न मेला प्रभावकारी सावित भएको छ । यो मेलामा परामर्श लिने विद्यार्थीहरु धेरै उत्साहित भएको पाएको छु । 

मेलामा किन आउने ? 
-कक्षा १२ पछि विश्वविद्यालयको यात्राको क्रममा आइटी, साइन्स एण्ड टेक्नोलोजी, म्यानेजमेन्ट, ह्युमानिटीज, ल लगायतका शैक्षिक कार्यक्रममा उच्च शिक्षाको बारेमा जान्न चाहने विद्यार्थीहरुलाई लक्षित गरी मेला आयोजना गरिएको हो । त्यसैले आफ्नो करिअरका निम्ती विद्यार्थीले एकैथलोमा सबै कुराको जानकारी पाउन भन्ने हाम्रो अभिप्राय हो । 

मेलामा विद्यार्थीलाई आकर्षित गर्न के–के गर्नुभयो ?
-विश्वविद्यालय तहका शैक्षिक कार्यक्रमहरुबारे परामर्शका साथसाथै हामीले मेलामा सहभागी विद्यार्थीहरुका लागि क्युएफएक्स मुभिको टिकट, ल्यापटप, मोवाइलको रिचार्जकार्ड लगायत वस्तुहरु गिफ्टह्याम्परका रुपमा उपलब्ध गराएका छौं । 

आउँदा वर्षहरुमा यो शैक्षिक मेलालाई कसरी लैजाने सोच्नुभएको छ ?
-अवका वर्षहरुमा यो मेलालाई मुलुकका विभिन्न १२ वटा शहरमा पु-याउने लक्ष्य राखिएको छ । साथै स्वदेशी शिक्षा पनि गुणस्तरीय छ भन्ने सन्देश अहिले सबै क्षेत्रका विद्यार्थीमा पु-याउनु छ । बजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली कलेज सक्षम छन् भन्ने जानकारी दिन काठमाडौं बाहिर पनि यसप्रकारको मेला आयोजना गर्न आवश्यक देखिन्छ । 

मेलामा उपस्थित हुन नसकेका विद्यार्थीलाई मेलाका बारेमा संक्षिप्तमा बताईदिनुस् न ? 
-विश्वविद्यालयको यात्रा भनेको प्रत्येक विद्यार्थीको भविष्य निर्माणको यात्रा हो । भविष्य निर्माणका लागि विद्यार्थीले ब्यापक रुपमा रिसर्च गर्नुपर्ने हुन्छ । मेरो सन्तानलाई उसको इच्छा कुन कुरामा छ, आर्थिक अवस्था कस्तो छ र कुन कलेज र विषयमा अध्ययन गराउँदा उसको भविष्य राम्रो बन्छ भनी समयमै जानकारी पाएमा उसको भविष्य उज्जवल हुन्छ । त्यसैले विद्यार्थी र अभिभावकले यी कुराहरु सधैं ख्याल राख्नुपर्छ । म केन्द्रबिन्दु मिडियामार्फत अबको शैक्षिक यात्रा कसरी तय गर्ने ? छनौट गरिएको विषयवस्तु र कलेजमा के कति सुविधा र अवसर छन् बुझेर अघि बढ्न हामी सुझाव दिन्छौं । 

Logo