किताब जात्रा आजबाट काठमाडौँमा सुरु, पहिलो दिन के-के भए ?

किताब जात्रा आजबाट काठमाडौँमा सुरु, पहिलो दिन के-के भए ?


किताब यात्रा फाउन्डेसनले आयोजना गर्दै आएको ‘शब्दकै शक्ति, शब्दकै यात्राः किताब जात्रा’को पाँचौ संस्करण आज (शुक्रवार)बाट काठमाडौंमा सुरु भएको छ । 

कार्यक्रम राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले किताब जात्रा एउटा असल अभियान भएको बताएकी छन् । यस्तो कार्यक्रमले पाठकमा पढ्ने शैली विकास हुने उनको धारणा थियो  । 

कार्यक्रम अवधिभर भाषा, साहित्य, सिनेमा, समाज, उद्यमलगायत विविध विषयका अनुभवी तथा विज्ञसँग अन्तक्रिया गरिनेछ । दुई दिनसम्म चल्ने किताब जात्रा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा भइरहेको छ । पहिलो र दोस्रो संस्करण भौतिक रुपमा संचालन भएपनि कोरोनाको कहरले तेस्रो र चौथो भर्चुअल रूपमा संचालन भएको थियो । तर कोरोना कहर साम्य भएसँगै पाँचौं संस्करण भने आजबाट भौतिक रूपमै प्रज्ञा प्रतिष्ठानमा सुरू भएकाे हाे । 

कार्यक्रममा लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १४ वटा सेसन रहेका छन् । कार्यक्रममा भारतका ख्यातिप्राप्त चलचित्र एवं रङ्गमञ्चका अभिनेता, संगीत निर्देशक, गीतकार, गायक तथा पटकथा लेखक पियुष मिश्राको विशेष प्रस्तुतिका साथै नाटक र ‘कुटुम्ब’ ब्यान्डको सांगीतिक प्रस्तुती रहेको छ ।

कार्यक्रम समुद्घाटनको दिन उदघाटन शत्र ,चिन्तन मनन, प्रश्न प्रतिप्रश्न, डिजिटल नेपालःदृश्य परिदृश्य, पुस्तक बिमोचन, चलचित्र चरित्र, मौलिक स्वर, सांगीतिक नाट्य प्रस्तुति –अक्षाराम्भ, गीतकार, गायक तथा पटकथा लेखक पीयूष मिश्रको प्रस्तुति रहेको थियो । 

कार्यक्रममा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी र विमोचन रहेको छ । त्यसैगरी भ्याट पुस्तकको सातौं संस्करण आज बिमोचन गरिएको छ । भ्याट पुस्तकका लेखक बिष्नुप्रसाद भण्डारीले पुस्तकले आम चासोलाई समेटेकाले सातौं संस्करणसम्म आईपुगेको बताए । नेपाल सरकारका पूर्व अर्थ सचिब रामेश्वर खनालले पुस्तकका लेखकलाई शुभकामना दिँदै मुल्यवृद्धि, करका बारेमा पुस्तकले सहज बनाउने बताएका छन् । 

चलचित्र चरित्रलाई सहजीकरण रङ्गकर्मी सरस्वती अधिकारीले गरेकी थिइन् भने वक्ताहरु नेपाली चलचित्र क्षेत्रका तिन नक्षत्र भुवन थापा चन्द, गौरी मल्ल र मिथिला शर्मा रहेका थिए । चलचित्र सेसनमा नेपालको चलचित्र क्षेत्रको इतिहास, बर्तमान र भविष्यकामा बहस गरिएको छ । 

यसैगरी किताब जात्राले हरेक वर्ष दुई जना व्यक्तित्वलाई सम्मान समेत गर्दै  आएको छ । ‘प्रेम साहित्य सम्मान’ र ‘बेस्ट सेलर अवार्ड’ । १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशीको सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान ‘प्रेम साहित्य सम्मान’ यस वर्ष साहित्यकार डा. धुव्रचन्द्र गौतमलाई प्रदान गरिएको छ । त्यस्तै  बेस्ट सेलर अवार्ड गिरिश गिरीको किताब ’सत्यमोहन जोशी’ लाई प्रदान गरिएको छ ।  किताब यात्राले आफ्नो स्थापनाको ५ वर्षको उपलक्ष्यमा आफ्नो प्लेटफर्मबाट गत ५ वर्षमा सबैभन्दा बढी बिक्री भएको किताबलाई यस वर्ष ‘किताब यात्रा डेमी–डिकेड बेस्ट सेलर अवार्ड’ पनि प्रदान गर्दैछ । 

किताब जात्राको दोस्रो दिन अनुवाद मनोभाव, आख्यान व्याख्यान,पुस्तक बिमोचन- कठघरामा जुहार, बिम्ब प्रतिबिम्ब , काव्य सन्ध्या, कुटुम्ब ब्याण्डको सांगीतिक प्रस्तुतीसहित समापन हुनेछ ।
 

Logo