आईएसएमटी कलेजद्वारा पहिलोपटक ‘पब्जी मोबाइल आईएसएमटी सो डाउन’ आयोजना, विजेतालाई १ लाख

आईएसएमटी कलेजद्वारा पहिलोपटक ‘पब्जी मोबाइल आईएसएमटी सो डाउन’ आयोजना, विजेतालाई १ लाख

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । नेपालमा ब्रिटिश डिग्री प्रदान गर्ने प्रतिष्ठित इन्टरनेशनल स्कूल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आईएसएमटी) कलेजले पहिलोपटक ‘पब्जी मोबाइल आइएसएमटी सो डाउन’ नामक ई-स्पोर्ट्स प्रतियोगिता आयोजना गरेको छ ।

राजधानीको तीनकुने, गैरिगाउँस्थित आईएसएमटी ग्रुपअन्तर्गतको लण्डन कलेजको प्राङ्गणमा सञ्चालित यो २ दिने ल्याण्ड टुर्नामेन्टले नेपालको ई-स्पोर्ट्स क्षेत्रमा नयाँ आयाम थपेको छ ।

यो रोमाञ्चक प्रतियोगितामा ७० भन्दा बढी टोलीहरू सहभागी भएका छन्, जसमा प्लस–२ अध्ययनरत र उत्तीर्ण गरेका युवा विद्यार्थीहरूले उत्साहजनक रूपमा भाग लिएका छन् ।

कुल १ लाख ८५ हजार रुपैयाँ पुरस्कार राशिको यो प्रतियोगिताले विजेता टोलीलाई १ लाख, उपविजेतालाई ५० हजार, तृतीय स्थान हासिल गर्ने टोलीलाई २५ हजार र मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) लाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रत्येक खेलमा चिकेन डिनर हासिल गर्ने स्क्वाडले १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन सहभागी टोलीहरूलाई ४ समूहमा विभाजन गरिएको छ । जहाँ ३ समूहमा १७–१७ स्क्वाड र एक समूहमा १८ स्क्वाड समावेश छन् । प्रत्येक समूहले तीन–तीन खेल खेल्नेछन्, जहाँबाट उत्कृष्ट आठ टोली सेमिफाइनल र फाइनल चरणमा प्रवेश गर्नेछन्।

आयोजक तथा कलेजका स्टाफ प्रज्वल देव आचार्यका अनुसार प्रतियोगिताको सहज सञ्चालन र उच्चस्तरीय अनुभवका लागि डिसहोमसँगको साझेदारीमा १ जिबीपिएस गतिको इन्टरनेट सुविधा उपलब्ध गराइएको छ । यो व्यवस्थाले खेलका दौरान ‘पिंग हाई’ को समस्यालाई पूर्ण रूपमा समाधान गर्ने पनि आचार्यले जानकारी दिए ।

त्यसैगरी आईएसएमटी कलेजका एकेडेमिक कोअर्डिनेटर गिरिस दाहालले इस्पोर्टसको बढ्दो लोकप्रियताले युवाहरूलाई नयाँ क्यारियर अवसर प्रदान गर्न सक्ने बताए । “ई-स्पोर्ट्सले विश्वव्यापी रूपमा युवाहरूलाई आकर्षित गरिरहेको छ । हामीले यो प्रतियोगिता आयोजना गर्नुको उद्देश्य विद्यार्थीहरूलाई ई-स्पोर्ट्समा क्यारियर बनाउने सम्भावनाबारे प्रेरित गर्नु हो,” उनले भने ।

उनले थपे, “आईएसएमटीले हरेक वर्ष यस्ता नवीन अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने लक्ष्य राखेको छ ।”

त्यस्तै, स्टुडेन्ट कलेज अफिसर स्वेच्क्षा भट्टराईले पब्जी मोबाइललाई छनोट गर्नुको कारणबारे प्रष्ट पारिन् । “पब्जी मोबाइल विश्वभर युवाहरूमाझ अत्यन्त लोकप्रिय छ । नेपालमा पनि यसको क्रेज उत्तिकै छ । यो प्रतियोगिताले विद्यार्थीहरूलाई मनोरञ्जन मात्र होइन, नयाँ सम्भावनाको ढोका खोल्ने अवसर पनि प्रदान गर्नेछ,” उनले भनिन् ।

‘पब्जी मोबाइल आईएसएमटी सो डाउन’ नेपालमा इस्पोर्टसलाई शैक्षिक संस्था आईएसएमटीले प्रोत्साहन गरेको पहिलो उदाहरण हो । यो प्रतियोगिताले विद्यार्थीहरूमा टिमवर्क, रणनीति निर्माण र दबाबमा प्रदर्शन गर्ने क्षमतालाई प्रोत्साहन गरेको छ । आईएसएमटीले भविष्यमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिंदै ई-स्पोर्ट्सलाई शैक्षिक गतिविधिको अभिन्न अंग बनाउने योजना बनाएको छ । यो प्रतियोगिताले नेपालका युवाहरूलाई इस्पोर्टसको विश्वव्यापी मञ्चमा आफ्नो स्थान बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ । आईएसएमटीको यो पहलले शैक्षिक क्षेत्रमा नवप्रवर्तन र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उदाहरण प्रस्तुत गरेको छ ।

Logo