काठमाडौं । काठमाडौं चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई औपचारिक रुपमा स्वागत गर्न र अभिमुखीकरणका लागि भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लवमा आयोजना गरिएको हो । अभिमुखीकरण कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीहरूलाई कलेजको नियम, आचारसंहिता, शैक्षिक प्रक्रिया तथा सहायक सेवाहरूको जानकारी दिने रहेको थियो । कार्यक्रममा हालै मात्र सम्पन्न बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै कक्षा १२ बाट टप टेनमा स्थान बनाउन सफल विद्यार्थीहरूलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपस्थित नेकपा एमालेका प्रमुख सचेतक महेश कुमार बर्ताैलाले वैज्ञानिक जस्तै आत्मनिर्भर, जिम्मेवार र समाज परिवर्तनका अग्रदूत बन्न विद्यार्थीहरुलाई प्रेरणा दिए । उनले विद्यार्थीहरूलाई आफ्नो कर्तव्य, समाज, परिवार र देशप्रतिको भूमिका बुझ्न, अध्ययन गर्न र सक्रिय रहन सन्देश पनि दिए ।
‘घडीको तीनवटा सुईहरू—आवर, मिनेट र सेकेन्ड—जसरी हरेकले आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्छ । त्यसैगरी विद्यार्थीहरूले पनि परिवार, समाज र देशप्रतिको आफ्नो भूमिका पहिचान गर्नुपर्छ ।’ बर्ताैलाले भने ।

कलेजका कार्यकारी अध्यक्ष गेन्द्र लामाले सबै संकायका विद्यार्थीहरूलाई एउटै मञ्चबाट कलेजको बारेमा जानकारी दिई समयको सदुपयोग र आपसी सम्बन्ध सुदृढ बनाउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जानकारी गाराए ।
त्यसैगरी क्याम्पस प्रमुख राजन श्रेष्ठले कलेजको टिम वर्क मेक्स ड्रीम वर्क भन्ने धारणा र कम्पिटिसन विथ आवर सेल्फ भन्ने मूल्यमान्यतामा आधारित नेतृत्व संस्कृतिबारे उल्लेख गर्दै विद्यार्थीहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरे ।
कार्यक्रममा प्राइम टिभीका अध्यक्ष ऋषि धमलासहित शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरुकाे उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य आकर्षण स्वरूप चर्चित गायिका रचना दाहालको सांगीतिक प्रस्तुति रहेको थियो । साथै, कक्षा १२ का विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गायन तथा अन्य सांस्कृतिक प्रस्तुतिहरूले कार्यक्रममा झनै रौनकता थपेको थियो । साँस्कृतिक, शैक्षिक र जानकारीमूलक आयामलाई समेट्दै सम्पन्न यो कार्यक्रमले कक्षा ११ का विद्यार्थीहरूका लागि सकारात्मक र प्रेरणादायी शैक्षिक यात्राको थालनी गराएको आयोजकको भनाइ छ ।





























प्रतिक्रिया