काठमाडौं । ललितपुरमा अवस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गले विसं २०७८ देखि २०८१ सालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्गद्वारा सञ्चालन गरिएका अन्तिम परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका करिब ५० जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कलेजमा अध्ययन गर्दा अनुसाशन, प्रोजेक्ट कार्य, सामाजिक सहभागिता लगायतका सबै पक्षमा अब्बल साबित भएका विद्यार्थीहरुलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो । विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको कलेजका निर्देशक किशोर गौतमले बताए । उनले भने, ‘उक्त सम्मानले विद्यार्थीहरुलाई प्रेरणा दिने र समग्र इन्जिनियरिङ्ग शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास छ ।’
कार्यक्रममा सहभागी विद्यार्थीहरुले अध्ययनसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएका छन् ।
कलेजका प्रिन्सिपल डा. रविन्द्रराज गिरीले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास थप्ने, उनीहरूको साथी र सहपाठीहरूलाई पनि प्रेरित गर्ने र सम्पूर्ण शैक्षिक वातावरणलाई अझ सकारात्मक बनाउनेमा विश्वस्त रहेको बताए ।
उनले भने, ‘विद्यार्थीहरूलाई आफ्नो यात्रामा निरन्तर उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै, आफूहरू कलेज प्रशासनले उनीहरूलाई आवश्यक सहयोग र अवसर प्रदान गरिरहने छौं ।’
त्यसैगरी कलेजका भाइस प्रिन्सिपल ई. अशोक जि.एम.ले संस्थाले उपलब्ध गराएको शैक्षिक क्रियाकलाप तथा वातावरण, अनुसन्धान, खेलकुद, स्वास्थ्य र अन्य सह–पाठ्य गतिविधिहरूले विद्यार्थीलाई आवश्यक सम्पूर्ण सीप र ज्ञान प्रदान गरेको दाबी गरे ।
सिभिल इन्जिनियरिङ्गका विद्यार्थीहरुले इमाडोलमा भूकम्पबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरेका थिए भने आर्किटेक्चर विभागका विद्यार्थीहरुले कृष्ण मन्दिर परिसरमा पुरातात्विक महत्वको बारेमा समाजलाई जानकारी दिने प्रयासस्वरुपको कार्यक्रमको आयोजना गरेका थिए ।
कम्प्युटर र आईटी विभागका विद्यार्थीहरुले एआई र भविष्यको प्रविधिसँग कसरी जोडिने भन्नेबारे बहस पनि चलाएका छन् । कलेजले विद्यार्थीहरुलाई विश्व बजारसम्म पुयाउन सकिने सम्भावनाबारे समेत छलफल आयोजना गरेको छ, जसले नेपालको इन्जिनियरिङ्ग शिक्षालाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने विश्वास गरिएको छ ।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरुको शैक्षिक उपलब्धि तथा सामाजिक उत्तरदायित्वलाई कदर गर्दै, उनीहरुलाई भविष्यमा देश र समाजको विकासमा योगदान दिन प्रेरित गर्नु हो । साथै, यो कार्यक्रमले अभिभावकहरुलाई पनि नेपालमै आफ्ना सन्तानलाई शिक्षित गराउनु उपयुक्त निर्णय भएको सन्देश दिन खोज्नु हो ।





























प्रतिक्रिया