काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आफ्नो २९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । झण्डै तीन दशकदेखि उच्च शिक्षाका लागि विदेश अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई विश्वसनीय, गुणस्तरीय र पारदर्शी परामर्श सेवा प्रदान गर्दै आएको इक्यानले शैक्षिक परामर्श क्षेत्रमा आफूलाई एक सशक्त छाता संगठनका रूपमा स्थापित गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यमा काठमाडौंको -याडिसन होटलमा आयोजित समारोहमा इक्यानका सदस्यहरू, शिक्षाविद्हरू, विदेशी विश्वविद्यालयका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा शैक्षिक परामर्श क्षेत्रका चुनौती, अवसरहरू र भावी रणनीतिहरूबारे गहन छलफल भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले इमान्दार नेतृत्व र अनुशासित नागरिकको पहलबाट मात्र देशको विकास सम्भव हुने बताए । उनले पछिल्लो समय विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या वृद्धि भएको उल्लेख गर्दै इक्यानलाई स्वदेशमै अवसर सिर्जना गरी युवाहरूलाई फर्काउन पहल गर्न आग्रह पनि गरे ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले समारोहमा बोल्दै विगत २८ वर्षमा इक्यानले शैक्षिक परामर्श क्षेत्रमा नैतिकता, पारदर्शिता र गुणस्तर कायम राख्न निरन्तर प्रयास गरेको बताए ।
उनले भने, “इक्यानले नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्न सहयोग पु-याउँदै आएको छ । हाम्रो लक्ष्य विद्यार्थीहरूलाई सही मार्गदर्शन प्रदान गरी उनीहरूको उज्ज्वल भविष्य निर्माण गर्नु हो ।” उनले थपे, “नेपाली विद्यार्थीहरूले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्नु र नवीन कार्यहरूमा प्रतिष्ठित हुनु नै इक्यानको सफलता हो ।”

अध्यक्ष भट्टराईले विदेशमा शिक्षा हासिल गरेका विद्यार्थीहरूलाई स्वदेश फर्केर योगदान गर्न प्रेरित गर्ने इक्यानको भावी उद्देश्य रहेको पनि स्पष्ट पारे ।

इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र जिम्मेवार बनाउन महासंघको गठन भएको बताए । उनले भने, “इक्यान आज देशकै सबैभन्दा पुरानो र ठूलो शैक्षिक परामर्श संस्था बन्नुमा हाम्रा अग्रजहरूको निरन्तर प्रयास र दूरदृष्टिको ठूलो योगदान छ ।” उनले इक्यानको विगतका प्रयासहरूले नै आज यो संस्थालाई विश्वसनीय र प्रभावकारी बनाएको दाबी पनि गरे ।
त्यसैगरी नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बरालले शिक्षालाई सिमा, धर्म, क्षेत्र वा जातिसँग जोडेर सीमित गर्न नहुने बताए । उनले नेपाल सरकारको दोहोरो नीतिप्रति कटाक्ष गर्दै भने, “देशमा पढ्ने वातावरण नबनाउने अनि विद्यार्थी विदेश गए भने रुवाबासी गर्ने ? यो दोहोरो चरित्रले समस्याको समाधान हुँदैन ।”
बरालले शिक्षालाई माटोसँग जोडेर स्वदेशमै गुणस्तरीय अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

इक्यानले स्थापनाकालदेखि नै नेपाली विद्यार्थीहरूलाई विश्वका उत्कृष्ट शैक्षिक संस्थाहरूसम्म पहुँच प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यसले विद्यार्थीहरूलाई सही गन्तव्य, विश्वविद्यालय र कोर्स छनोटमा मार्गदर्शन गर्नुका साथै भिसा प्रक्रिया र अन्य कानुनी प्रक्रियाहरूमा सहयोग पु-याउँदै आएको छ ।
इक्यानले शैक्षिक परामर्श क्षेत्रमा नैतिकता र व्यावसायिकता कायम राख्न विभिन्न मापदण्ड र आचारसंहिता लागू गरेको छ, जसले यस क्षेत्रलाई थप विश्वसनीय बनाएको छ । आगामी दिनमा इक्यानले डिजिटल प्रविधिको उपयोग, परामर्श सेवाको विस्तार र स्वदेशमा शैक्षिक अवसर सिर्जनामा जोड दिने योजना बनाएको छ । विशेषगरी, विदेशमा अध्ययन गरेर फर्केका विद्यार्थीहरूलाई स्वदेशमा रोजगारी र अवसर प्रदान गर्न सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाहरूसँग सहकार्य गर्ने रणनीति इक्यानले अघि सारेको छ ।





























प्रतिक्रिया