त्रिपक्षीय साझेदारीबाट नेपाललाई ग्लोबल हब बनाउन सम्भव छ -पूर्वउपकुलपति डा. थापा

त्रिपक्षीय साझेदारीबाट नेपाललाई ग्लोबल हब बनाउन सम्भव छ -पूर्वउपकुलपति डा. थापा

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. भोला थापाले नेपाललाई विश्वकै उत्कृष्ट शैक्षिक केन्द्र (एजुकेसन हब) का रूपमा विकास गर्न सरकार, समुदाय र निजी क्षेत्रबीच बलियो त्रिपक्षीय साझेदारी आवश्यक रहेको बताएका छन् ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा मंगलबार ललितपुरमा सम्पन्न ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ मा वक्ता रहेका डा. थापाले नेपालमा विदेशी विद्यार्थी भित्र्याउने बहस नयाँ नभएको र यसको जग विगतकै नीतिहरूले बसालेको स्मरण गरे । नेपालले चिकित्सा शिक्षा लगायतका विधामा अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गरेर आफ्नो क्षमता प्रमाणित गरिसकेकाले अब यसलाई अझ व्यापक र व्यवस्थित बनाउनुपर्नेमा उनले जोड दिए ।

डा. थापाले नेपालको शैक्षिक इतिहास र नीतिगत प्रस्थानविन्दुको चर्चा गर्दै विगतको सरकारको दूरगामी निर्णयका कारण नै आज नेपालमा विदेशी विद्यार्थीहरूको उपस्थिति सम्भव भएको बताए । काठमाडौं विश्वविद्यालयले सुरुवाती दिनदेखि नै वैश्विक मापदण्डलाई पछ्याएका कारण नेपाल शैक्षिक गन्तव्य बन्न सक्छ भन्ने बलियो आधार खडा भएको उनको भनाइ थियो ।

‘नेपालमा विदेशी विद्यार्थी भित्र्याउने ढोका गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले भारतसँग गरेको सम्झौतामार्फत खुलेको हो । सोही दूरगामी नीतिको जगमा टेकेर काठमाडौँ विश्वविद्यालयले विदेशी विद्यार्थीका लागि आफ्नो प्रणाली खुला गर्‍यो,’ उनले भने, ‘त्यसकै सुखद परिणाम स्वरूप आज नेपालका धेरै मेडिकल कलेजहरूमा विदेशी विद्यार्थीहरू उत्साहजनक रूपमा अध्ययनरत छन् । यो हाम्रो प्रणालीले आर्जन गरेको विश्वास र एउटा सफल नजिर हो, जसलाई हामीले भुल्नु हुँदैन ।’

नेपाललाई केवल कागजमा मात्र नभएर व्यवहारमै संसारका विद्यार्थी आउने आकर्षणको केन्द्र बनाउन शिक्षाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने डा. थापाको तर्क थियो । उनले पूर्वाधार र प्रविधिको विकाससँगै राज्यका अंगहरू र निजी क्षेत्रले हातेमालो गरेर अघि बढ्नुपर्ने मार्गचित्र प्रस्तुत गरे ।

‘हामीसँग आधार र अनुभव दुवै छ, अब विदेशबाट विद्यार्थी ल्याउने थप अनुकूल वातावरण बनाउन जरुरी छ,’ उनले भने, ‘सरकार, स्थानीय समुदाय र निजी क्षेत्र मिलेर एउटा साझा उद्देश्यका साथ काम गर्ने हो भने संसारका विद्यार्थी आउने गुणस्तरीय शिक्षासहितको शैक्षिक हब बनाउन पूर्ण रूपमा सम्भव छ । सरकारले नीतिगत सहजता र सुरक्षा दिने, निजी क्षेत्रले लगानी र नवप्रवर्तन भित्र्याउने तथा समुदायले त्यसलाई अपनत्व ग्रहण गर्ने हो भने नेपालको शैक्षिक भविष्य निकै उज्ज्वल छ ।’

डा. थापाले विश्वबजारमा आएको बदलिँदो परिस्थितिलाई आत्मसात् गर्दै हाम्रा पाठ्यक्रम र शिक्षण विधिलाई समयसापेक्ष बनाउनुपर्ने र यसका लागि राज्यले नेतृत्वदायी भूमिका खेल्दै निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

Logo