सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गरेका छन् ।
शुक्रवार द राइजिङ नेपालको ५७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुतिगान मात्रै गाउनु नहुने बताएका हुन् । उनले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गरे । सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उनको आग्रह छ ।
उनले भने, ‘विश्वसनीय समाचार समाज र नागरिकले खोजेको छ । तर यसलाई सरकारको स्तुतिगान गर्ने पत्रिकाको रुपमा नलानुस् । जे सत्य, तथ्य छ जे निष्पक्ष छ त्यतातर्फ ध्यान दिनुस् भनेर मैले सबै यहाँको नेतृत्व वर्गलाई आग्रह गर्दै आएको छु र आगामी दिनमा पनि यि प्रकाशनहरुले नेपाली आवाजलाई प्रतिनिधित्व गर्ने र पत्रपत्रिका खोज्दाखेरी केवल ठेक्काका विज्ञापनका निम्ति मात्रै होइन समाचारको निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपाललाई जनताले त्यो दृष्टिले हेर्ने पत्रिकाका रुपमा यसलाई विकसित गर्न तपाईहरु सबैको ध्यान पुगोस् ।’
मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनुपर्ने बताए । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउनेगरी काम गर्नुपर्नेमा उनको जोड छ ।
‘यहाँको समाज स्वतन्त्रताबाट सुसज्जित भएर दक्षिण एशियामा नै स्वतन्त्र पत्रकारिताका निमित्त, अभिव्यक्ति स्वतन्त्रताका निमित्त हामीले संविधानमा जुन नागरिकका हक स्वतन्त्रताका बारेमा जुन व्यवस्था गरेका छौँ त्यसको पूर्ण रुपले उपयोग गर्ने मुलुकको रुपमा दक्षिण एशियामा नेपाल चिनिन सकोस् र दक्षिण एशियामा नेपाललाई त्यस दिशामा अग्रसर गराउन हामी सकुँ । त्यस दिशामा पत्रकार मित्रहरुको ध्यान पुगोस् भन्ने म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।’ उनले भने ।





























प्रतिक्रिया