लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन चार्टर्डले यही कात्तिक १८ गते ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ आयोजना गर्ने भएको छ ।
नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउने र सामाजिक सेवाका लागि आर्थिक संकलनका लागि कन्सर्टको आयोजना गरेको हो । कन्सर्ट कात्तिक १८ गते अर्थात भोलि शनिबार साँझ ४ः३० बजेदेखि काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ ।
यस कन्सर्टको मुख्य प्रायोजक ब्रमपटन इमिग्रेशन कल्सल्टेन्सी र इन्टेक अबोर्ड छन् भने सहप्रायोजकमा अल्का हस्पिटल, आर्य ट्राझल, प्यासिफिक लिंक कलेज रहेका छन् । कन्सर्टको लागि १ हजार रुपैँयाको टिकटको व्यवस्था गरिएको छ । टिकट शुक्रबारदेखि कन्सर्ट सुरु हुनुभन्दा अगाडिसम्म हार्दिक होटल र प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा लिन पाइनेछ ।
गायक यम बरालको प्रस्तुति रहने उक्त लाइभ कन्सर्टले नेपाली संगीत र संस्कृतिलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने क्लबकी अध्यक्ष कल्पना बस्नेतले बताएकी छन् । क्लबकी अध्यक्ष बस्नेतले कार्यक्रमबाट संकलन भएको रकमले धादिङको गजुरी गाउँपालिका–५ पीडामा रहेको डोल भञ्ज्याङ माविको भौतिक संरचना निमार्णमा सहयोग गर्नुको साथै, लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने बताइन् ।
त्यस्तै, क्लबकी सचिव सुस्मा आचार्यले गायम यम बराल जोडिएको ऐतिहासिक कन्सर्ट हुने भएकाले दर्शकहरुको बाक्लो उपस्थिति रहनेमा आशावादी रहेको बताइन् । साथै कार्यक्रमको सम्पूर्ण तयारी सकिएकाले आफूहरु दर्शकहरुलाई स्वागत गर्न निकै उत्साहित भएको पनि उनले बताइन् ।
लायन्स क्लब इन्टरनेशनल समुदाय र मानवीय सेवामा विश्वव्यापी नेतृत्व लिने संस्था हो । विश्वभरका भौगोलिक क्षेत्रहरू मध्ये लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगत काठमाडौँ निर्माण गरिएको हो । जसमा शैक्षिक परामर्श, उद्योग, व्यवसाय, पत्रकारिता, राष्ट्रसेवक तथा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाद्वारा यो क्लब स्थापना गरिएको हो ।





























प्रतिक्रिया