काठमाडौं । नेपाली रियालिटी शो ‘हिमालय रोडिज’ सिजन ७ भव्य रूपमा समापन भएको छ । सोमबार राति भएको ग्रान्ड फिनालेमा नेपाली सेनामा आबद्ध अनिश तामाङ विजेता घोषित भएका छन् । साहस, अनुशासन र नेतृत्व क्षमताको उत्कृष्ट प्रदर्शन गर्दै तामाङले उपाधि आफ्नो नाममा लेखाएका हुन् ।
मंगलबार आयोजित एक विशेष समारोहबीच हिमालय रोडिजका कार्यकारी निर्देशक श्याम कँडेललगायत विशिष्ट अतिथिहरूले तामाङलाई ट्रफी प्रदान गरेका थिए । काठमाडौँमा आयोजित विशेष समारोहमा उपाधिसँगै उनले १० लाख रुपैयाँ नगद र यामाहाको आकर्षक मोटरसाइकल प्राप्त गरे । कार्यक्रममा बोल्दै तामाङले रोडिजको यात्रा जीवनकै सबैभन्दा चुनौतीपूर्ण र सिकाइपूर्ण अनुभव भएको बताए ।
यस्तै, हिमालय रोडिजका उपविजेता रोजिता लामा बनिन् । उनले एटिआइटीएम कलेजबाट ६ लाख रुपैयाँ बराबरको शैक्षिक छात्रवृत्तिसहित विभिन्न आकर्षक उपहार प्राप्त गरिन् । कठिन टास्कहरूमा आत्मविश्वास र दृढता देखाएकी रोजिताले दर्शकको मन जित्न सफल भइन् । यो प्लेटफर्मले मेरो आत्मविश्वासलाई नयाँ उचाइमा पु¥याएको लामा बताउँछिन् ।
अझ रोचक कुरा के छ भने, विजेता अनिश तामाङ र उपविजेता रोजिता लामा दुबै ग्याङ लिडर अनुपविक्रम शाहीको समूहका हुन् । यो अनुपविक्रमको ग्याङले लगातार तेस्रो पटक उपाधि जितेको हो, जसले उनको नेतृत्व क्षमताको ह्याट्रिक पूरा गरेको छ । गत वर्ष पनि उनको ग्याङका जोसेफ शर्माले उपाधि जितेका थिए । लगातार सफलतापछि अनुपविक्रमले खुशी व्यक्त गर्दै टिमवर्क नै जितको मुख्य आधार भएको बताए ।
कार्यक्रममा बोल्दै हिमालय रोडिजका कार्यकारी निर्देशक श्याम कँडेलले हिमालय रोडिज युवाहरूको साहस, क्षमता र नेतृत्व विकास गर्ने प्रभावशाली प्लेटफर्म बनेको उल्लेख गरे ।





























प्रतिक्रिया