भक्तपुरमा कोभिड अस्पताल सञ्चालन हुने

भक्तपुरमा कोभिड अस्पताल सञ्चालन हुने

केन्द्रबिन्दु
0
Shares

भक्तपुर ।
भक्तपुर अस्पतालमा निर्माण भएको नयाँ भवनमा कोभिड अस्पताल सञ्चालन हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित बिरामीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले शहरी विकास तथा भवन निर्माण विभागमार्फत भक्तपुर अस्पतालमा निर्माण गरिएको नयाँ भवनमा सो अस्पताल सञ्चालनमा आउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिए ।

अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) को सहयोगमा निर्माण भएको सो भवन मन्त्रालय र शहरी विकास तथा भवन निर्माण विभागले संयुक्त रुपमा शुक्रबार अस्पताललाई हस्तान्तरण गरेको छ । एक करोड ८९ लाख १२ हजार ३१० को लागतमा निर्माण भएको सो भवनमा कोभिड अस्पताल छिट्टै सञ्चालन हुने अध्यक्ष सुवालले बताए ।

शुरुमा अस्पतालको पुरानो भवनलाई रेक्टोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाउने र यहाँ रहेका फर्निचर, स्वास्थ्य सामग्री, शैया, बिरामी अन्यत्र सार्नु पर्ने भएकाले अस्पताल परिसरभित्र एक अस्थायी संरचना निर्माण गर्न शुरु गरिएको अवस्थामा कोभिडको प्रकोप शुरु भएसँगै यसैलाई कोभिड उपचार गर्नेगरी भवन तयार पारिएको हो । रेक्टोफिटिङ गर्ने उक्त आयोजना अन्तर्गत भवन खाली गरी फर्निचर, स्वास्थ्य सामग्री, शैया, बिरामी राख्नका लागि अस्थायी संरचना निर्माण गर्ने क्रममा कोरोनाको प्रकोप आएपछि सरकारले भक्तपुर अस्पताललाई कोभिड उचार केन्द्र घोषणा गरेपछि यो भवनलाई कोभिड उपचार भवनका रुपमा प्रयोग गर्ने गरी निर्माण भएको हो ।

अस्पतालको मेडिकल सुपरिटेन्डन्ट डा. सुमित्रा गौतमले ४८४ वर्गमिटरमा फैलिएको यो भवनमा छ शैयाको आइसीयू, छ शैयाको एनआइसीयू, २० शैयाको वार्ड, दुई आइसोलेसन वार्ड, शौचालय, मेडिकल स्टोर लगायत उपचारका अन्य कार्य सञ्चालनमा हुने जानकारी दिइन् । निर्माणसम्पन्न भएको भवनमा तत्कालै फर्निचर, शैयालगायत आवश्यक सामग्रीको व्यवस्थापन गरी अबको केही दिनमै यो भवनमा बिरामी राख्ने गरी सञ्चालनमा ल्याउने उनको भनाइ छ ।

लकडाउन लम्बिएपछि ठेकेदारले रोकेको उक्त भवन निर्माण सम्पन्न गर्न नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति एवं कर्णेल शिव पौडेलले निकै सहयोग गरेको मेसु डा गौतमले बताइन् । कोभिड भवन छिटो निर्माण गर्न कर्णेल पौडेलसँगै जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, सशस्त्र प्रहरी दुवाकोटका प्रहरी उपरीक्षक विश्वप्रसाद भट्टराई, अस्पतालका स्वयंसेवक आरएनए ग्रुपका अरुण सैंजूसहितको टोलीको अथक प्रयासले अस्पताल भवन छिटो निर्माण सम्पन्न भई कोरोना संक्रमितको उपचार छिटो गर्न सकिने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

त्यसैगरी अस्पतालले पुरानो भवनको रेक्टोफिटिङको कार्यसमेत अगाडि बढाएको छ । मेसु डा गौतमका अनुसार रेक्टोफिटिङका लागि बोलपत्र भइसकेको छ । भवनलाई भूकम्पीय प्रवलीकरण गर्दै स्वास्थ्य उपचारका लागि उपयोगी हुनेगरी स्तरोन्नतिसँगै खानेपानी, ढल, फोहर, भित्री हावाको गुणस्तर व्यवस्थापन लगायतको कार्य हुनेछ । कूल १३ करोड ७१ लाख ५८ हजारको लागतमा अस्पतालको पुरोना भवनलाई रेक्टोफिटिङ गरी भूकम्प प्रतिरोधी बनाइने छ ।

रेक्टोफिटिङ सकिएपछि अस्पतालको सेवा सहज र प्रभावकारी रुपमा सञ्चालन गर्न सकिने छ । त्यसपछि प्रसूति सेवा, शल्यक्रिया, सघन उपचार सेवाका लागि उपयुक्त र पर्याप्त भवन अझै अभाव हुने भएकाले ती सहित अन्य सेवाका लागि थप अर्को नयाँ भवन निर्माण गर्ने प्रक्रियासमेत शुरु भएको छ ।रासस

Logo