दक्ष जनशक्तिको अभावमा आइसियु कक्ष उपयोगविहीन

दक्ष जनशक्तिको अभावमा आइसियु कक्ष उपयोगविहीन

केन्द्रबिन्दु
0
Shares

लमजुङ ।

गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोगविहीन बनेको छ ।

गत मङ्सिरमा स्थापना गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुईवटा भेन्टिलेटरसहित पाँच शैयाको आइसियु कक्ष स्थापना गरिएको भएपनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको दुई महिना भएपनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पतालका हेमन्त श्रेष्ठले बताए ।

उनले भने, “जनशक्तिको अभावले सघन उपचार कक्ष सञ्चालनमा आउन नसक्दा कोभिडका बिरामी मर्कामा परेका छन् ।” प्रदेश सरकारको रु एक करोड ६९ लाख आर्थिक सहयोगमा आवश्यक मेशिन खरिद गरे पनि भेन्टिलेटरसहितको सघन उपचार कक्ष दक्ष जनशक्ति तथा आवश्यक चिकित्सकको अभावमा सञ्चालन हुन नसकेको उनको भनाइ छ । प्रमुख श्रेष्ठले भने, “दुईवटा भेन्टिलेटर बल्बल्ल जोड्यौँ तर सघन उपचार कक्ष जोड्ने र सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न ढिलाइ भइरहेको छ ।” प्रदेश सरकारलाई समेत जानकारी गराउँदै आवश्यक जनशक्ति माग गरिए पनि प्रदेशबाट केही सुनुवाइ हुन नसक्दा सघन उपचार कक्ष सञ्चालन अन्योलमा रहेको उनको भनाइ छ । अस्पताल प्रमुख श्रेष्ठका अनुसार भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनका लागि फिजिसियन चिकित्सक, एनेस्थोसियोलोजिस्ट, तालिम प्राप्त आठ÷नौ जना नर्सको आवश्यकता पर्छ । ती जनशक्ति अस्पतालमा छैनन् ।

सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या छ । अस्पतालमा कार्यरत डा र नर्सले सघन उपचार कक्ष सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । त्यतिमात्र नभई अस्पतालमा रहेका चिकित्सक तथा नर्ससमेत सघन उपचार कक्षका लागि खटाउनुपरेमा अन्य बिरामीका लागि डाक्टरको कमी हुने अस्पताल प्रमुख श्रेष्ठले बताए । सघन उपचार कक्ष सञ्चालनमा नआउँदा जटिल खालका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् ।

यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अस्पतालमा जतिसक्दो चाँडो सघन उपचार कक्ष सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताए । सघन उपचार कक्षका लागि आवश्यक पर्ने जनशक्तिदेखि स्वास्थ्य क्षेत्रकै विषयमा गम्भीर रहेकाले केही समयमै आइसियु कक्ष सञ्चालनमा आउने उनको विश्वास छ ।

नेपाल सरकारको स्वामित्वमा विसं २०५८ मा १५ शैयाबाट शुरु भएको यस जिल्ला अस्पताल हाल ६० शैय्याको छ । त्यस्तै सङ्घीय सरकार आएपछि गत वर्षदेखि प्रदेश सरकारको मातहतमा रहेको यस अस्पतालको आकस्मिक भवनमा १५ शैयाको आइसोलेशन निर्माण गरिएको छ ।

हाल यहाँको आइसोलेशनमा दुई जना कोरोना सङ्क्रमित पुरुषले उपचार गराइरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।

गत वर्ष अस्पतालमा ५५ हजारलाई सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरामीले यस अस्पतालमा सेवा लिन आउने गरेका छन् ।

Logo