‘नयाँ कोरोना सङ्क्रमित देखिएनन्’ : स्वास्थ्य मन्त्रालय

‘नयाँ कोरोना सङ्क्रमित देखिएनन्’ : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ ।

मन्त्रालयद्वारा आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताएका हुन् । उनले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल २ हजार ८९५ नमूना परीक्षण सम्पन्न भएका छन् । जसमा काठमाडौँ उपत्यकामा रहेको प्रयोगशालामा २ हजार ३८२ र उपत्यका बाहिर ५१३ नमूना परीक्षण भएका छन् भने १९३ परीक्षण भइरहेका छन् ।

हालसम्म नेपालभरि सात हजार ९४० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या भने ११७ रहेको छ । सो मध्ये काठमाडौँ उपत्यकामा १८ र उपत्यका बाहिर ९९ रहेका छन् । मन्त्रालयका प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेका व्यक्तिको परीक्षणका लागि प्रतिप्रदेश पाँच हजारका दरले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) सामग्री प्रदान गरिएको बताए ।

बाग्लुङ, म्याग्दी र पर्वतका स्वास्थ्यकर्मीलाई र्‍यापिड डाइग्नोस्टिक टेस्ट सम्बन्धी तालिम दिइएको र परीक्षणसमेत शुरु गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यसैगरी कैलाली र कञ्चनपुरमा हालसम्म ६६ टेस्ट गरिएको छ भने सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रलायको भनाइ छ ।रासस

Logo