काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् । मन्त्रालयमा आज कुरा गर्दै उनले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको बताए। हिजो र आजको दर देखाएर अनियमिता ग¥यो भन्ने कुरा जायज नभएको उनको भनाइ थियो ।
उनले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गरे । ‘‘महामारीको कारणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ’, उनले भने ‘‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट हामीले अनियमिता गरेका छैनौँ । त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्नेछु ।’’ उनले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत बताए ।
‘‘औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ’’ उनले भने, ‘‘ यस्ता खालको कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला तर आन्दोलनमा जन्मिएको, हुर्किएको हुनाले र अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु । यसको पनि सामना गर्न तयार छु ।’’
उनले कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशन अनुसार नै औषधि ल्याइएको स्पष्ट गरे । ‘‘प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशन अनुसार बोलपत्र आह्वान गरिएको थियो ।
त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए’’ उनले भने ,‘‘ तर छलफलका क्रममा दुई वटामध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषषि ल्याउन सक्दिन भन्यो । बाँकी वैधानिक रुपमा आएको एउटा कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमति अनुसार ल्याइएको हो ।’’ मन्त्री ढकालले अर्को प्रसंगमा अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर भएको समेत बताए।रासस





























प्रतिक्रिया