जाडोमा स्वास्थ्यको ख्याल कसरी गर्ने ? (भिडियाेसहित)

जाडोमा स्वास्थ्यको ख्याल कसरी गर्ने ? (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जाडोमा कसरी स्वस्थ रहने?

हामीले जाडो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्ने हुन्छ । जाडोमा विभिन्न खालका भाइरसहरू सक्रिय भइरहेका हुन्छन् । जसका कारण जाडो मौसममा रुघाखोकी, टन्सिलजस्ता संक्रमण बढिरहेका हुन्छन् । त्यसमाथि पनि कोरोना भाइरसका कारण यो वर्षको जाडोमा हामीले अझै बढी आफ्नो ख्याल राख्न आवश्यक छ ।

जाडोमा विशेषगरी दीर्घरोग हुनेहरूले ध्यान दिनुपर्छ । त्यसमा पनि बाथ, स्वासप्रस्वास सम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ । जाडोयाममा स्वासप्रस्वासका लागि प्रयोग हुने जुन नलीहरू हुन्छन् ती नलीहरू खुम्चिने गछनर्् । जाडोको कारणले रक्तनली साँघुरो भएर जान्छ जसले गर्दा रक्तचाप बढ्छ, यसले पक्षघात हुन सक्ने खतरा हुन्छ । मुटु सम्बन्धी समस्या हुनेहरूलाई हृदयघात पनि हुनसक्ने खतरा हुने गर्छ । बाथ सम्बन्धी व्यथाले जुन मासु र हड्डी तन्किनु पर्ने हो त्यो तन्किन पाउँदैन । जसले गर्दा बिरामीलाई समस्या हुन्छ ।

त्यस्तै सामान्य अवस्थामा रहेको व्यक्तिलाई सताउने भनेको भाइरलको संक्रमणले हो । जाडो मौसममा अधिकांशलाई रुघाखोकी लाग्ने, घाँटी खसखस हुने, एलर्जी हुने, टन्सिल हुने समस्या हुने गर्छ । गर्मीबाट जाडोमा आउँदा एलर्जी हुन्छ । जाडोयाममा विशेष किसिमको भाइरसको चहलपहल हुने भएकोले भाइरस हाम्रो शरीरमा सजिलै प्रवेश गर्छ र हामी बिरामी पर्छौं । यस्ता संक्रमणबाट जोगिन भीडभाडमा नजाने, जानै परे सावधानी अपनाउनु पर्छ । कोरोना भाइरसले हामीलाई अनिवार्य रुपमा मास्क लगाउने बानी बसाएको छ । यसरी नै बाहिर निस्किदा मास्क प्रयोग गर्नुपर्छ । यस्ता संक्रमणबाट बच्न सरसफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

मौसमी रुघाखोकी लागेका व्यक्तिले अरूलाई नसरोस् भन्नका लागि आफूले प्रयोग गरेका रुमाल या टिस्यु पेपर जथाभाबी नराख्ने, सुरक्षित ठाउँमा मात्र राख्ने गर्नुपर्छ । छुट्टै ठाउँमा बसेमा अरूलाई संक्रमण सर्दैन । हातबाट भाइरस संक्रमण नहोस् भनेर सेनिटाइजर (हात सफा गर्ने तरल पदार्थ) प्रयोग गर्ने । सार्वजनिक स्थलका झ्याल, ढोका या बसका डण्डी छोएर त्यही हातले आँखा, नाक, मुख नछुने । किनकि यी भागबाट भाइरस संक्रमण हुन सक्छ । यसरी गरौं जाडोमा स्वास्थ्यको हेरचाह  :
पोषिलो खाना खाने

सामान्य खानेकुराहरूमा जे पनि खान सकिन्छ । तर, जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, तारेको खाना खान उपयुक्त हुँदैन । त्यस्तै चिनी पनि कम गर्नुपर्छ, तर भिटामिन बी, सी, डी र ई भएका खानेकुरा खानामा समावेश गर्नुपर्छ । पर्याप्त मात्रामा तातो झोल, झोलिलो कुरा, सुप, अण्डा, माछा, मासु, सागपात, मौसमी फलफूल, गेडागुडी, तरकारी, पिस्ता, काजु, ओखर, एभोकार्डो, कागती, मौसम, सुन्तला जुनार, स्ट्रेबरीजस्ता चिजबिज प्रशस्त मात्रामा खानुपर्छ । तर, कुनै विशेष किसिमको रोग छ भने खानेकुरामा पनि ध्यान दिनुपर्छ । जस्तैः बाथको बिरामीले प्रोटिन भएको खाना थोरै खानुपर्छ । कतिपय बिरामीले सागसब्जी खानु हुँदैन । बिरामी भएकाहरूले के खाने,के नखाने भन्ने कुरा चिकित्सकले दिने सल्लाहमा भर पर्छ ।

प्रशस्त पानी पिउने
जाडोमा त्यति पानी प्यास लाग्दैन । किनकि चिसो मौसममा हाम्रो शरीरले पानीको आवश्यकता महसुस गर्दैन । तर पनि स्वास्थ्यका लागि जाडोमा पनि पानी प्रशस्त पिउनु आवश्यक हुन्छ । शरीरमा पानीको मात्रा प्रशस्त भएमा चिसोले गर्दा रगत बाक्लो हुने जोखिम कम हुन्छ । सकेसम्म मनतातो पानीको प्रयोग गर्नु उत्तम हुन्छ । जाडोमा छालालाई सुन्दर राख्न तथा शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न पानीले ठूलो मद्दत पुर्याउँछ ।

सक्रिय रहने
जाडो छ भनेर हिँड्डुल, व्यायाम तथा कुनै पनि शारीरिक काम गर्न अल्छी मान्नु हुदैन । यसो गर्नु स्वास्थ्यका लागि घातक हुन्छ । जाडोमा खाना बढी रुच्छ तर शारीरिक श्रम गरेनौं भने हामीले खाएका खाना शरीरमा जम्मा भएर बस्छ र त्यसले तौल तथा मोटोपना बढाउँछ । चिसोमा बाह्य सम्पर्क कम हुने भएकाले डिपे्रसनसमेत हुने खतरा हुन्छ । त्यसकारण घाम लागेका बेला बाहिर निस्कन र घुमफिर गर्ने यसले मानिसलाई सक्रिय र फूर्तिलो बनाउँछ । तर, मौसम हेरेर व्यायाम गर्ने गर्नु पर्छ । चिसो हावा र पानी परेका बेला घरबाहिर व्यायाम गर्न निस्कनु हुँदैन । मौसमलाई ख्याल नगर्दा विभिन्न जोखिमको सामना गर्नुपर्ने हुन सक्छ । मौसमबारे सतर्कता अपनाउनु पर्छ र व्यायाम गर्दा शरीरलाई न्यानो बनाउने कपडा लगाउनु पर्छ ।

त्यस्तै दीर्घरोग–दम, मुटु रोग, उच्च रक्तचापको औषधि लिने मानिसहरुले भने बिहान सबेरै र राति हिँड्नु हुँदैन । बिहान र रातिको तापक्रम घटेको हुन्छ । त्यस्तो बेला स्वासनली र रक्तनलीहरू पनि खुम्चिने हुन्छ । स्वासनली खुम्चिएपछि स्वासप्रस्वासमा समस्या हुन्छ । यस्तो बेलामा मस्तिष्कमा अक्सिजन पुग्दैन जसले गर्दा मान्छे बेहोस हुन्छ । यस्ता बिरामीहरूले हिँडडुल गर्दा ध्यान दिनुपर्छ ।

मद्यपान र धुम्रपान त्याग्ने
जाडो मौसममा मुटुमा हुने असरलाई मद्यपान तथा धुम्रपानले झन् बढाउने हुनाले मद्यपान र धुम्रपान गर्ने बानी त्याग्नु राम्रो हुन्छ  । हामीले हाम्रो शरीर आफूखुसी नै चलाइरहेका हुन्छौं । आफ्नो शरीरले कति थेग्ने, कति नथेग्ने भन्ने पनि हुन्छ । रक्सी खानै हुँदैन भन्ने होइन । मुटुका रोगीहरूले समेत ६० एमएलसम्म रक्सी खान सकिन्छ भन्ने विश्वव्यापी रूपमै स्थापित छ ।

बिहानको घाममा बस्ने
जाडोमा बिहानीको घाममा बस्नु एकदमै राम्रो हुन्छ । बिहानको घाममा भिटामिन डी पनि प्राप्त हुन्छ । यसले दमका दीर्घरोगीलाई समेत सहयोग गर्छ । सँगै हड्डीको लागि पनि सहयोग पुग्छ । तर दिउँसोको घाममा बस्दा भने ख्याल गर्नुपर्छ । दिउँसोको घाममा बस्दा औद्योगिकीकरणले गर्दा जतासुकै रसानय भइरहेको हुन्छ भने रेडियसनको पनि डर हुन्छ । घाममा हुने किटाणुहरू हानिकारक हुन्छन् । त्यस्तो अवस्थामा घाममा बस्नु छ भने सन स्क्रिन क्रिमहरू लगाएर बस्नु बुद्धिमानी हुन्छ ।

घरमा ढुसी उम्रिन नदिने
चिसोका कारण हामी घरका झ्याल–ढोका प्रायः बन्द राख्छौं । जसका कारण कोठामा हावा छिर्न पाउँदैन र घाम नपर्ने भागमा ढुसी उम्रिन सक्छ । यस्ता ढुसीले रुघाखोकी लाग्ने, नाक चिलाउने, आँखा चिलाउने जस्ता एलर्जीका समस्या हुन सक्छ । यसकारण घरमा बेलाबखत झ्याल–ढोका खोलेर घरमा हावा तथा घाम छिर्न दिनुपर्छ । साथै सफाइमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।

जथाभावी औषधि नखाने
अहिले सजिलै सामान्य रोगको औषधि किन्न पाइन्छ । एन्टिबायोटिक जहाँबाट पनि बेचिरहेको हुन्छ । रुघा लागेको बिरामीले २,३ वटा एन्टिबायोटिक खाएकै हुन्छ । तर, हामीले बुझ्नु पर्ने कुरा के हो भने एन्टिबायोटिक मात्रै उपचार होइन ।

भाइरलको संक्रमणमा एन्टिबायोटिकको केही पनि भूमिका हुँदैन । एन्टिबायोटिक खानै पर्दैन । भाइरलको संक्रमणमा गर्ने भनेको आराम हो । शरीर धेरै दुख्यो भने प्यारासिटामोल खाने । हामीले आफूखुसी औषधि खान पर्यो भने प्यारासिटामोल मात्रै खाने । त्यो पनि बढीमा दिनमा ३ चक्की खाने । त्योभन्दा माथिको औषधि कुनै पनि खान पर्यो भने चिकित्सकको सल्लाहबिना खानु हुँदैन । किनभने औषधिको पनि आफ्नै असरहरू हुन्छ । यसले गर्दा कतिलाई एलर्जी हुन्छ भने कतिको ज्यानै जान सक्छ । त्यसैले जथाभावी एन्टिबायोटिक प्रयोग गर्यो भने त्यही एन्टिबायोटिकले पछि काम नगर्ने पनि हुन सक्छ ।

Logo