पर्वत। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले किसानको गोठमै पुगेर गाईभैँसीमा लाग्ने थुनेलो रोगको परीक्षण र उपचार सुरु गरेको छ ।
व्यावसायिक रूपमा गाईभैँसीपालन गर्ने किसानको उत्पादनमा असर नपरोस् भन्ने उद्देश्यले जिल्लाका सातवटै पालिकामा परीक्षण तथा उपचार शिविर सञ्चालन गरिएको हो । स्थानीय तहसँगको सहकार्यमा प्राविधिक टोलीले गोठमै पुगेर पशु स्वास्थ्य परीक्षण र आवश्यक औषधि उपचार गरिरहेको जनाएको छ ।
कार्यालयका अनुसार विहादी, पैँयू, मोदी र जलजला गाउँपालिकाका विभिन्न वडामा पुगेर ५०० गाईभैँसीमा थुनेलो परीक्षण गरिएको छ । तीमध्ये १५० गाईभैँसीमा संक्रमण देखिएको छ । संक्रमित पशुलाई आवश्यक औषधि निःशुल्क वितरण गरिएको छ ।
थुनेलो परीक्षणसँगै गर्भ परीक्षण, कृत्रिम गर्भाधानसम्बन्धी समस्या समाधान र अन्य प्राविधिक सेवा पनि उपलब्ध गराइएको छ । किसानहरूले गोठमै सेवा पाउँदा सहज भएको बताएका छन् ।
कार्यालयले दोस्रो चरणमा फलेवास नगरपालिका र कुश्मा नगरपालिकामा पनि परीक्षण तथा उपचार अभियान सञ्चालन गर्ने जनाएको छ । हरेक वर्ष दुई चरणमा गाईभैँसी र बाख्राको स्वास्थ्य परीक्षण गर्ने गरिएको र यसअघि जिल्लाका पशुहरूलाई पूर्ण खोप लगाइसकिएको जानकारी दिइएको छ ।































प्रतिक्रिया