काठमाडौं ।
केही सातायता परीक्षण गरिएकामध्ये झन्डै एकचौथाइ मानिसमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक अधिकारीले त्यसलाई अत्यन्तै डरलाग्दो सङ्केत भन्दै आगामी एक दुई महिनासम्म सङ्क्रमणको गती नथामिने चिन्ता व्यक्त गरेका छन्।
महामारी रोग नियन्त्रण सम्बन्धी निकायका प्रमुखले चाडबाडमा भएका आवतजावत र आउँदो जाडो मौसमका कारण मानिसहरूले सजगता नअपनाए भाइरस अब झनै फैलिन सक्ने जनस्वास्थ्यविद् तथा चिकित्सकहरूको अनुमान छ।
कहालीलाग्दो तथ्याङ्क
विगत केही साताको तथ्याङ्क केलाउने हो भने जतिजति परीक्षणको परिमाण बढाइएको छ उतिउति नै सङ्क्रमितको सङ्ख्या पनि बढेको देखिन्छ।
केही समययता परीक्षण गराउने मध्ये झन्डै २५ प्रतिशत मानिसमा सङ्क्रमण पाइएको छ।
यो तथ्याङ्क अत्यन्त डरलाग्दो भएको स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताएका छन् ।
यो एकदमै डरलाग्दो अवस्था हो । अझै परीक्षण र सम्पर्क पहिचानका काम बढाउनु पर्छ । हाम्रो उद्देश्य यो सङ्क्रमण दर २ प्रतिशतभन्दा तल झार्नु हो, उनले भने ।
जाडोको चिन्ता
दशैँ, तिहार अनि छठ जस्ता चाडवाडमा यसपालि विगतका वर्षमा जस्तो धेरै आवतजावत नहुने ठानिएको थियो। तर अत्यधिक सङ्ख्यामा सक्रिय सङ्क्रमित भएको काठमाण्डू उपत्यकाबाट मानिसहरू बाहिर गएकाले भाइरस अन्यत्र फैलिने चिन्ता बढेको विज्ञहरू बताउँछन् ।
डा. पाण्डेका अनुसार दशैँका बेला भएका गतिविधिहरूले सङ्क्रमणको विस्तार आगामी एक, दुई महिनासम्म हुन सक्छ।
केही सातादेखि देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा छन्।
अब काठमाण्डूबाट भाइरस बाहिर फैलिने चिन्ता बढेको छ। त्यसमाथि जाडो याम पनि आउँदैछ। अहिलेको सङ्क्रमण दरलाई हेर्दा कम्तीमा एक(दुई महिना त बढ्ने नै जस्तो देखिन्छ, उनले भने।
सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले अब कोरोना भाइरसको सङ्क्रमण जटिल चरणमा प्रवेश गरेकाले सबै जना सतर्क हुनुपर्ने बताए। बीबीसी





























प्रतिक्रिया