मौसमी फ्लुका विरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह (भिडियो)

मौसमी फ्लुका विरामीलाई उच्च सतर्कता अपनाउन चिकित्सकहरुको आग्रह (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चिकित्सकहरुले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अहिले अस्पतालहरुमा कोभिड संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुको लक्षण देखिएका विरामीहरुलाई घरेलु उपचार गरी घरमै बस्न चिकित्सकहरुले आग्रह गरेका हुन् । हरेक अस्पतालका आइसियु बेडहरु कोभिडका विरामीले भरिएको चिकित्सकहरुको भनाई छ । मौसम परिवर्तन सँगै मौसमी फ्लुका लक्षणहरु देखिएका व्यक्तिहरुले घरमै बसेर सुरक्षित रहन अल्का अस्पतालमा कार्यरत फिजिसियन डा. रक्षा गौतमले आग्रह गरिन् ।

अस्पतालहरुमा आइसियु बेड खाली नभएको, अक्सिजन उपकरणहरु अपुग रहेकाले संक्रमितहरु अस्पताल पुगेर घर फर्किनु पर्ने अवस्था भएकाले सतर्क रहन उनले आग्रह गरिन् । डा. गौतमले उच्च स्वास्थ्य सुरक्षा अपनाएर घरमै सुरक्षित बस्न सबैलाई आग्रह गरिन् । डा. गौतमले मौसमी फ्लु र अन्य फ्लुको लक्षणहरु उस्तै हुने भएकाले छुट्याउन गाह्रो हुने भएकाले आफैले सतर्कता अपनाउनु पर्ने बताइन् ।

सामान्य रुघाखोकी लाग्ने, सामान्य जिउ दुुख्ने र घाँटी दुख्ने समस्या सामान्य फ्लु भएकाले डराउनु पर्ने अवस्था नभएको उनले बताइन् । सामान्य अवस्थामा पारासिटामोल खाने, चिकित्सकको सल्लाह अनुसार भिटामिन बी र सीको प्रयोग गर्दा हप्ता दश दिन भित्रमा मौसमी फ्लु निको हुने उनको भनाइ छ ।

सामान्य रुघाखोकी लाग्दैमा हतार हतार अस्पताल आएर अस्पतालबाट आफूलाई नभएको फ्लु समेत लिएर जाने सम्भावना रहेकाले सचेत रहन उनले आग्रह गरिन् । मौसमी फ्लुका लक्षण देखिए पनि स्वास फेर्न गाह्रो हुने, धेरै जिउ दुख्ने, धेरै पसिना आउने, औषधि सेवन गर्दा पनि ज्वरो निको नहुने, धेरै ज्वरो आउने जस्ता समस्या देखिएमा अस्पताल आउन पनि उनले आग्रह गरिन् ।

नेपालमा लकडाउन सुरु भएको सुरुवाती चरणमा सरकार र नागरिक स्तरबाट कडाईका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना भएपनि अहिलेको अवस्थामा त्यसो हुन नसकेको उनले बताइन् ।

रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरुले केही हप्तामा कोरोना जितेपनि दीर्घरोगी, बालक तथा वृद्धवृद्धाहरुको ज्यान समेत जाने घटनाहरु बढीरहेको उल्लेख गर्दै उनले कोरोनालाई हल्का रुपमा नलिन पनि आग्रह गरिन् । अहिलेको अवस्थामा जटिल खालका विरामीहरु बढ्दै गएकोप्रति उनले चिन्ता समेत व्यक्त गरिन् ।

Logo