कोरोना संक्रमितको अवस्था गम्भीर, प्लाज्मा दान गर्न आह्वान

कोरोना संक्रमितको अवस्था गम्भीर, प्लाज्मा दान गर्न आह्वान

केन्द्रबिन्दु
0
Shares

झापा ।

विभिन्न अस्पतालमा उपचार गरिरहेका कोभिड–१९ का संक्रमितहरुको अवस्था गम्भीर रहेको जनाउँदै नेपाल रेडक्रस सोसाइटी झापा शाखाले प्लाज्मा दान गर्न आह्वान गरेको छ ।

शाखाका सभापति लोकराज ढकालले विराटनगरको कोशी, विराट, नोबेल अस्पताल र धरानस्थित विपी मेमोरियल अस्पतालमा उपचाररत १३ संक्रमितको अवस्था गम्भीर बनेको कारण प्लाज्मा दानका लागि आह्वान गरेका छन् । कोभिडका संक्रमितहरु निको भएर आएकाले प्लाज्मा दान गर्न सक्ने जनाउँदै रेडक्रसको विर्तामोड शाखामा रहेको प्लाज्मा बैंकमा आएर निःशुल्क दान गर्न ढकालले आग्रह गरे ।

“संक्रमितको सङ्ख्या बढेसँगै कतिपय गम्भीर अवस्थामा आइसियूमा छन् ”, उनले भने , “चार जनालाई तत्काल प्लाज्मा चाहियो भनेर बिरामीका आफन्तले मागिरहेका छन् । उनीहरुको जीवन बचाउन कोरोना जितेकालाई अपील गर्दछौँ ।’ उनले हालसम्म आठ जनालाई प्लाज्मा बैंकमा जम्मा भएको प्लाज्मा निःशुल्क प्रदान गरेको बताए। बैंकमा चार पोका प्लाज्मा मौज्दात रहे पनि ब्लड ग्रुप नमिलेका कारण दिन नसकेको बताए।

सभापति ढकालले चितवन, धरान र मोरङमा रहेका बैंकबाट समेत प्लाज्मा ल्याएर सङ्क्रमितको उपचारमा सेवा दिइरहेको बताए।

जिल्लामा हालसम्म १० जनाले प्लाज्मा दान गरेका छन् । जिल्लामा कूल संक्रमित एक हजार ६५१ जनामध्ये एक हजार १०० जना निको भइसकेका छन् । होम आइसोलेसनमा ३८८ जना रहेका छन् । संक्रमणबाट मुक्त भएको २० दिनपछि प्लाज्मा दान गर्न मिल्ने जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए।

Skip This
Logo