रुपन्देहीमा आठ महिनामा ९९२ क्षयरोगी भेटिए, २८ जनाको मृत्यु

रुपन्देहीमा आठ महिनामा ९९२ क्षयरोगी भेटिए, २८ जनाको मृत्यु


रुपन्देही क्षयरोगीको उच्च जोखिम जिल्लाको रुपमा रहेकाे पाइएको छ। खुला सीमानाका र सीमापारीबाट पनि क्षयरोगका बिरामी उपचारका लागि नेपाल आउने गरेका कारण जिल्लाको तथ्यांक बढी देखिने गरेको छ। अन्य जिल्लाभन्दा यहाँ विरामीको संख्या पनि बढी छ।

सरकारले क्षयरोगीलाई निःशुल्क उपचारको व्यवस्था मिलाए पनि बिरामी संख्या घटेको छैन।

६ महिनादेखि ९ महिनासम्म नियमित औषधि सेवन गर्दा क्षयरोग निको हुन्छ। क्षयरोगका बिरामी पत्ता लगाई उपचारको दायरामा ल्याउनु नै प्रमुख चुनौती छ। नेपालमा मृत्युको १० प्रमुख कारकमध्ये क्षयरोग सातौंमा छ।

चालु आर्थिक वर्षको ८ महिनामा रुपन्देहीमा मात्रै ९९२ जना नयाँ क्षयरोगी फेला परेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार फागुन मसान्तसम्म फेला परेका ९९२ जना मध्ये ६०७ जना पुरुष, ३८५ जना महिला छन् । जसमध्ये ५१ जना बालबालिका रहेका छन् । गत वर्ष जिल्लामा १ हजार २४१ जना क्षयरोगी फेला परेका थिए। जिल्लाका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिकामा सबैभन्दा बढी क्षयरोगी भेटिएका छन्। 

स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग स्राेत व्यक्ति हुमप्रसाद खनालका अनुसार बुटवल उपमहानगरमा २३४ जना क्षयरोगी फेला परेका छन् । तिलोत्तमा नगरपालिकामा १३७ सिद्धार्थनगर नगरपालिकामा ९०, देवदहमा ९३, सैनामैनामा ६५ र लुम्बिनी सांस्कृतिक नगरपालिकामा ८७ जना क्षयरोगका बिरामी फेला परेको जनाए।

ओमसतिया गाउँपालिकामा ३५, रोहिणी गाउँपालिकामा ३८, कन्चनमा ४१, गैडहवामा ३१, शुद्धोधनमा २५, सियारीमा ३२, मायादेवीमा ४८, सम्मरीमाईमा ३८, मर्चवारीमा २३ र सबैभन्दा कम बिरामी कोटहीमाई गाउँपालिकामा १७ जना फेला परेका छन्।

रुपन्देहीमा गत वर्ष क्षयरोगबाट २१ जनाको ज्यान गएको थियो भने चालु वर्षको समयावधिमा मात्रै २८ जनाको ज्यान गएको कार्यालयले जानकारी दिएको छ। 

सरकारले सन् २०५० सम्ममा नेपालबाट क्षयरोग निर्मूल गर्ने लक्ष्य राखे पनि खुला सीमाका कारण  भारतसित जोडिएर रहेका तराईका जिल्लामा चुनौती देखिएको छ। क्षयरोगको उपचारको लागि रुपन्देहीमा ९२ वटा डट्स सेन्टर, १४ वटा शहरी डट्स केन्द्र, यस्तै रोग पहिचानका लागि ३२ वटा माईक्रोस्पिक केन्द्र, २ वटा जेनएक्सपर्ट केन्द्र रहेका छन्।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले उपचार गराउने तर बीचमै छाडने, भारतीय नेपालमा आएर उपचार गराउने, नियमित रुपमा औषधिसमेत सेवन नगरेको कारण नियन्त्रणमा कठिनाई आइरहेको बताए।

Logo