कोरोना जितेका पत्रकारको अनुभव- ‘घरबेटीको कचकचले जङ्गल गएर बसौं जस्तो भयो’

कोरोना जितेका पत्रकारको अनुभव- ‘घरबेटीको कचकचले जङ्गल गएर बसौं जस्तो भयो’


काठमाडौं । खाँडादेवी गाउँपालिका वडा-३ भिरपानी रामेछाप स्थायी घर भएकी काठमाडौं बस्ने सञ्चारकर्मी सम्झना श्रेष्ठलाई २५ दिन अगाडि कोरोना भाइरस संक्रमण भयो। त्यो भन्दा अगाडि उनको भाईलाई कोरोना संक्रमण भएको थियो । सँगै बस्ने भाईलाई संक्रमण भए पछि नै उनी घरबाट कतै ननिस्की कोठाभित्र बसिरहिन् ।

उनले भाईलाई कोरोना संक्रमण भए देखिको भोगेका अवस्थाको अनुभव सुनाएकी छिन् । भाईलाई ज्वरो र रुघाखोकी लागेपछि पिसिआर परीक्षण गर्न दिएका थिए । तीन दिन पछाडि उनको मोवाईलमा फोन आयो, एम्बुलेन्स लिन आउँछ भाईलाई ठिक पर्नु भनेर, त्यसपछि उनी के गर्ने कसो गर्ने भयो र घरमा बुबा–ममी, दादा दिदीलाई भन्न प्रयास गरेको उनले बताइन् ।

तर भन्नू अगाडि जे नहुनु थियो त्यो भइसकेको थियो । भाईले दिदी तिर हेर्दै, मलाई निको भईसक्यो ज्वरो आएको, कसरी पोजेटिभ आयो ? कसले फोन गरेको ? मलाई कोरोना लागेको नै छैन, म ठिक छु भन्दै कराउन थाल्यो । तर पनि मैले भाईलाई केही हुँदैन भन्दै ठिक पर्न आग्रह गरे । केहि समयमा नै कल आयो– ‘कहाँ आउनु पर्ने हो लिन ?’ मैले तिनकुने बाग्मती खोलानिर आउनुस् भनें । भाईलाई हामी बसेको घरभन्दा अलि टाढा एम्बुलेन्समा पुर्याएर म फर्किएँ ।

त्यसपछि उनले पनि पिसिआर परिक्षण गराएर तीन दिनसम्म कोठाभित्र नै बसिरहेको उनले बताइन् । कोठामा बस्दा घरबेटीले धेरै कचकच गरेकाले तीन दिनै रोएर दिनरात बिताएको तथा मन मिल्ले साथिसँग कुरा गर्दै रुने हाँस्ने गरिरहेको उनले बताइन् । परिवारको साथ थियो तर पनि सबैजनालाई पीडा भईरहेको थियो । तर म एक्लो थिएँ । कसैले मलाई भेट्न मिल्ने अवस्था थिएन किनकी कोरोनाको डर थियो । खानेकुराहरु ठूलो मामाले सबै बाहिर गेटसम्म ल्याइदिनु भयो । पीर नगर भन्दै सम्झाउनु हुन्थ्याे ।

पिसिआर रिपोर्ट ३ दिन पछि आयो । ३ दिनपछि नयाँ नम्वरबाट फोन आयो । फोनमा भन्नुभयो–’तपाईं सम्झना हो ?’ मैले हो भनें । फेरि फोनमा ती व्यक्तीले भने – ‘तपाईंको कोरोना पोजेटिभ देखिएको छ ।’ रुँदारुँदा आफैं कडा भईसकेको थिएँ । तर पनि आँशु आइहालेछ । फोनमा भनियो– ‘केहि समयपछि एम्बुलेन्स आउँछ, ठिक परेर बस्नु ।’ मलाइ पीडा भए पनि घरबेटीको घर छोड्न पाउँदा आनन्द महशुस पनि भयो । म घरभन्दा अलि टाढा बागमती खोलाछेउ आउँछु, त्यहि आउनुस् भनें । लुगा, खानेकुरा सबै व्यागमा हालेर कोठाको साँचो लगाएर निस्किएँ ।

किर्तीपुर आर्युबेदिक हस्पिटल ल्यायो । अस्पतालमा १९ दिन बसेर अहिले उनी निको भएर घरफर्केकी छिन् । उनले कोरोना भाइरस विश्वभर महामारीको रुपमा फैलिएकाले सबैले सजकता र सचेत हुन जरुरी रहेको बताइन् । तर कोरोना लागे पनि आत्मबल बलियो बनायो भने कोरोनाले केही नगर्ने अनुभव सुनाइन् ।

कोरोना लागेपछि हामीले सकारात्मक सोच र उच्च बनोबल बनाएमा कोरोनालाई सजिलैसँग जित्न सकिन्छ । तर संक्रमण नहुनेले सामान्य नठान्नुहोस्, सुरुमा बच्नको लागि सतकता अपनाउँ र रोग लागेकाले पनि अन्य रोग जस्तै यो रोग लाग्यो, सामान्य हो निको भइन्छ भन्ने सोचौं। खानपानमा ध्यान दिऊँ र सबैभन्दा ठूलो कुरा रोग लाग्यो भनेर चिन्ता भन्दा पनि आत्मबल उच्च बनाउने र सकारात्मक सोच्ने तथा चिकित्सक र सरकारले ल्याएका स्वास्थ्य सम्बन्धी नियम पालना गरेमा कोरोनालाई जित्न सकिने उनको भनाइ छ ।

अहिले सबैतिर कोरोना यति बढ्यो उति बढ्यो, यतिको मृत्यु भन्ने मात्रै समाचार आउने गरेकाले पनि मानिसहरुमा निराशा पैदा भएको छ। अब यस्तो मात्रै नभएर निको भएर फर्किएकाको कुरालाई पनि सबै सामु पुर्याउन जरुरी रहेको छ, उनले भनिन् । हामीले सरकारले भनिरहेको स्वास्थ्यका सबै नियम पालना गर्ने हो भने त लाग्दैन नै । तर हामीले पहिलेको बानि व्यवहारलाई भने परिवर्तन गर्नु पर्ने देखिएको छ। र्कितिपुर आर्युवेदिक अस्पताल उपचार गरिरहेकाले मलाई केही सजिलो भयो । भाइ पनि यहिं रहेको थियो तर फरक कोठामा ।

उनको यसरी बित्यो १९ दिन अस्पतालमा

अस्पताल पुगेको रात घरबेटीले दिएको टर्चरले टाउको दुखेकाले त्यतिकै निदाएको बताइन् । बिहान उठेपछि खाजा आयो, खाजा खाएँ । त्यसपछि त्यतिकै बसिरहें । बिहानको खाना आयो, खाना खाएँ । त्यसपछि विस्तारै रमाउन थालेँ । म जस्तै विरामीसँग गफ गर्न थालेँ ।
उनीहरुको कुरा सुनेपछि शारीरिक पीडा त केहि थिएन, सबैलाई मानसिक पीडा भने दिने रहेछ भन्ने बुझें । कोरोना खासै केही होईन रहेछ भन्ने मलाई महशुस हुँदै थियो । मलाई त्यस्तो गाह्रो पनि केहि भएन । मात्र परिवारसँग टाढा भएर गुफा बसेको जस्तै महशुस भयो । आत्मबल बढाउन थालें, रमाउन थालें । म गएको ८ दिनपछि भाईको नेगेटिभ रिपोर्ट आयो भन्ने खबर सुनेँ । खुसीको सीमा रहेन् । भाइ १६ औँ दिनमा डिस्चार्ज भयो । साथिभाई मलाई भेट्न आईपुगे । म झ्यालबाट हेरेर गफ गरें । मन साह्रै रमायो ।

दिनहरु बित्दै गए । हस्पिटल बसेको १० दिनपछि पिसिआर टेष्ट गरियो । चार दिनपछि रिपोर्ट आयो तर पोजेटिभ त्यसपछि त म छाँगाबाट खसेझैँ भएँ । मैले सोचें– ‘मलाई केहि भएको छैन, किन पोजेटिभ आयो ?’ मनलाई बुझाउन गाह्रो भईरहेको थियो, मेसिन बिग्रेछ कि झैं लाग्यो । मनमा धेरै कुरा खेल्नु नयाँ कुरा थिएन तर मन बुझाउँदै बसें । निको भएर जानेहरुसँगै अरु नयाँ कोरोना संक्रमित आउनेको लाईन थियो ।

दिन गनेर नै समय बितिरहेको थियो । पाँच दिनपछि फेरि पिसिआर परिक्षण गरियो । अब नेगेटिभ रिपोर्टको पर्खाईमा थिएँ । एक किसिमले डर पनि लागिरहेको थियो , रमाइलो पनि भईरहेको थियो । हस्पिटलको बसाई पनि खाजा, खानाको राम्रो व्यवस्था थियो । कोहि पनि त्यहाँ बिरामी जस्तो देखिंदैन थिए । सबैजना स्वस्थ नै देखिन्थे । साँच्चै पहिले–पहिले पनि रुघाखोकी लाग्थ्यो । ज्वरो आउँथ्यो, त्यस्तै सामान्य नै लागि रहेको थियो मात्र आत्मबल नै यसको औषधी थियो । साथै रोगसँग लड्ने क्षमता बढाउनको लागि आर्युवेदिक औषधि पनि दिईएको थियो ।

हस्पिटल बसेको १९ दिनमा मोबाइलमा बिहानै म्यासेज आयो– कोरोना नेगेटिभ भनेर । त्यसपछि खुशीको सीमा रहेन । म १९ दिनपछि कोरोनालाई जितेर कोठा फर्कें । अहिलेको समयमा कोरोना भाइरसको महामारी फैलिएको छ । त्यो नयाँ कुरा होईन । तर यो रोग त्यस्तो जटिल रोग होईन रहेछ । जटिल त मान्छेको व्यवहारले बनाईरहेको छ, मान्छेलाई शारीरिक पीडाले भन्दा पनि समाजका मान्छेको व्यवहारले मानसिक पीडा भईरहेको उनको भनाइ छ ।

कोरोना संक्रमणपछि मलाई लागेको आत्मबल नै कोरोनाको औषधी हो तर पोजेटिभ देखिए पनि बिरामी छु भन्ने महशुस भने खासै भएन ।तर मानसिक तनाव भने धेरै नै भएको छ । यो रोगले त्यस्तो गाह्रो केहि हुन्न मनलाई बलियो बनाउन भने जरुरी छ । रोगको पीडा भन्दा बढी घरबेटीको टर्चर बढी भयो अहिले कोठा सरेर जाउ भन्दै कोठा जान दिएको छैन ।

कोरोना संक्रमणपछि मलाई लागेको यो रोग जो कोहीलाई हुन सक्छ तर कोरोना पोजेटिभ देख्ना साथ हेँला गर्ने, दुर्व्यवहार गर्ने, हेप्ने , बस्न नदिने, विभिन्न तनाव दिनेहरु चाहिं कोरोना भाईरस भन्दा पनि महाभाईरस तथा अपराधी रहेको उनले बताइन् ।

उनलाई पहिला भाईलाई कोरोना पोजेटिभ आए देखि नै तिमीहरु लुगाहरु प्याक गरेर गईहाल भनेको बताईन् । यस्तो अवस्थामा म कहाँ जाने , मैले केहि सोच्नै सकिन । भाईको पीर एकातिर, अर्कोतिर घरबेटीको टर्चर । तिमी भाईसँग बसेकोले तिमीलाई कोरोना लागिसक्यो । पिसिआर गराउ । यहाँबाट अहिल्यै निस्किहाल भनेर फोन, म्यासेज गर्न थाले । रोगले भन्दा पनि घरबेटीको टर्चरले मलाई पीडा दियो ।

भाईलाई कोरोना संक्रमण भयो भन्नासाथ म घरबाट कतै ननिस्की कोठाभित्र बसिरहें । तर घरबेटीको कचकच अत्ति थियो । उनीहरुले पीडामाथि पीडा थप्ने काम गरे । आफन्तले कल गरेर सान्त्वना दिने सिवाय मेरो घरमा बस भन्ने कसैले आँट गर्न सक्ने अवस्था थिएन ।
गाँउमा दादा–दिदीलाई सबै कुरा भनेँ। सबैलाई तनाब भयो । झन घरबेटीलाई दादाले कल गरेर केही दिन बस्न दिन आग्रह गरे पछि पनि मलाई म्यासेज , कल आइरहेको थियो । सोचें म कहाँ जाउँ ? जङ्गल गएर बस्छु भन्ने नी सोच आयो । तर मन बुझाउँदै साहस लिँदै सहेर बसें । अहिले पनि कोठा छाेडेर गईहाल भनेर कोठामा समेत जान नदिएको उनले दुखेसो गरिरहेकी छिन् ।

संक्रमितलाई टर्चर र हेला नगरौं 

कोरोना संक्रमितलाई घरबेटी र समाजले टर्चर र हेला होइन हौसला दिनु पर्ने उनको भनाई छ। अहिले त्यसै मान्छेहरु अत्याउने आत्तिने काम भईरहेको छ । तसर्थ संक्रमितहरुलाई हौसला र माया दिनुस् । जसले रोगसँग लड्ने क्षमता बढाउँछ । उनीहरुको आत्मबल बढ्छ । डाक्टर नर्सहरुलाइ सम्मान र माया गर्नुहोस् । जसले यो महामारीमा दिनरात नभनी विरामीको सेवा गर्दैछन् । सक्नुहुन्छ सकारात्मक सोच राख्नुहोस् , कोरोना संक्रमित व्यक्तिहरुलाई हौसला ,माया र सम्मान गर्नुहोस् । सकिंदैन भने दुःखी बनाउने , टर्चर दिने काम नगर्नुहोस् । पृथ्वी गोलो छ, सबैको पालो घुमिफिरी आउँछ । भोलि आफू संक्रमित हुँदा सोही व्यवहार अरुले गरे भने आफूलाई नि त्यस्तै गाह्रो हुन्छ भन्ने बुझौँ ।

Logo