कविता : पिके पूर्ण–भरिपूर्ण

कविता : पिके पूर्ण–भरिपूर्ण


  • बुद्धिमान परियार

विकट क्षेत्र त्यो अविकसित तर अति सुन्दर
ताप्लेजुङको मैवाखोला खाम्सादेन गाउँ सुदुर
एउटा पछौटे अनि अशिक्षित गरिबको छाप्रोमा
जन्मेर अवतरित भयौ तिमी यस पवित्र धर्तीमा

रुढीबादी अन्धकारमा रुमल्लिएको समाजमा
बित्यो बाल्यकाल तिम्रो अनिकाल र अभावमा
गाँस बास र कपासका थिए समस्या अनेकौं
भोग्ने मौका पायौ सानैदेखि दुःख कष्ट हजारौं

स्तरीय शिक्षा लिने त्यहाँ थिएन राम्रो अवसर
गाउँकै साधारण स्कुलबाट भयौ तिमी साक्षर
थिएन राम्रो वातावरण प्रगति पथमा हिंडाउने
थिएनन् कोही तिमीलाई सत्मार्गमा डोहोर्याउने

उकाली ओराली पहाड पर्वत र डाँडा काँडामा
धेरै हन्डर ठक्कर खाँदै बढायौ जीवन यात्रामा
साधन श्रोत कुनै गतिलो थिएन सुको गोजीमा
रित्तैहात हिड्यौ घरबाट सम्भावनाको खोजीमा

अभिलाषा मात्रले मानिसले सफलता पाउँदैन
दृढ संकल्प पूरा गर्न सबले सत्कर्म नगरि हुँदैन
राम्रो मुर्ति बन्ने गुण हुन्छ धर्तीका सबै ढुंगाभित्र
आफैं खोज्नुपर्छ मान्छेले खास क्षमता स्वयंभित्र

आफूभित्र अन्तर्निहित सम्भावना देख्यौं आफैंले
आफ्नै क्षमता प्रकाशित गरिकन देखायौ आफैंले
अनेकौं कर्ममा सकृय भएर संघर्ष धेरै नै गरिकन
कडा मेहनतले नै आज सहज भयो तिम्रो जीवन

कोरिएको रहेछ नियति प्रारब्धबाटै कमालको
जन्म छाप्रोबाटै छर्लङ्ग देखिने दृष्य हिमालको
अजिव त्यो अति सुन्दर कन्चन्जङ्घाको सुदृष्य
त्यस्ले नै पो कोरेको रहेछ तिम्रो उज्वल भविष्य

अन्ततोगत्वा होमियौ पर्यटन क्षेत्रको विकासमा
आफ्नो मात्र हैन देशकै हित होला भन्ने आसमा
ट्रेकिङ गाइड बनेर पर्यटकलाई देश दर्शन गरायौ
भान्से पनि बनेर तिनलाई स्वदेशी स्वाद चखायौ

हिमाल पहाड मधेस सबतिर विदेशीलाई घुमायौ
मठ मन्दिर गुम्बा आदिमा तिर्थाटन समेत गरायौ
चाँदीझैं टलक्क टल्कने हिमालका दृष्य देखायौ
छङ्छङ् गर्ने झरना तथा सग्ला हिमनदी हेरायौ

बारम्बार विदेशी पर्यटकलाई अनेकौं सेवा गरेर
उच्च हिमालको प्रसिद्धि प्रति गौरवान्वित भएर
पवित्र प्रकृति र पर्यावरण संरक्षणको ज्ञान पाएर
थाकेनौ तिमी पुर्खाहरुको वीरताको गाथा गाएर

सारा विश्वको सर्वोच्च चुचुरो प्रसिद्ध सगरमाथा
पटकपटक आरोहण गरेर थपि दियौ गौरवगाथा
अभ्यास गर्दै काम अघि सार्दै हिम शिखर चढेर
सिकायौ धेरैलाई हिमाल चढ्न प्रशिक्षक बनेर

हिउँ रहेमा नै हिमाल रहन्छ हिउँबाटै बन्छ पानी
पानी भए मात्रै सारा जगतमै रमाउँछ जिन्दगानी
नेपाली जनको शीरको टोपी सर्वोच्च सगरमाथा
महान आकांक्षा लिइ हिंडेका बढाउन गौरवगाथा

हिमक्षेत्रमा फोहोरमैलो देख्दा मनमा पीर मान्यौ
हिमक्षेत्रको सर सफाइ गर्ने अभियान नै चलायौ
विश्वभर मान्छे चिन्तित छन् आज प्रदुषण बढेर
जलवायूको परिवर्तन न्यूनीकरणमा लाग्यौ कम्मर कसेर

अभिलाषा तिम्रो सुकिर्ती राख्ने प्रदुषण रोकेर
प्रदुषण मुक्त विश्व बनाउन चेतना सन्देश बोकेर
एकमात्र छोरा सोनामलाई समेत साथमै लिएर
विश्वका मुख्य हिमाल चढ्ने दृढ संकल्प साँचेर

संकल्प तिम्रो साकार होस् कसैले बाधा नगरोस्
ईश्वरले समेत आशिर्वाद दिउन व्यवधान नपरोस्
आफ्नो काम गर्दाले नै तिम्रो इच्छा होस परिपूर्ण
नाम तिम्रो पिकेबाट पूर्ण भएर नै बनोस् भरिपूर्ण

सत्कर्म गरेर देशको लागि केही गर्ने तिम्रो भावना
अविरल यात्रा अघि बढोस् भन्नेछ है आम धारणा
सुकर्मले नै सुकिर्ति मिलोस् , मेरो पनि छ चाहना
हर प्रयासमा सफलताका लागि छ है शुभकामना

 

Logo