कविता : ‘फरक किन मान्छे !’

कविता : ‘फरक किन मान्छे !’


  • बुद्धिमान परियार

मान्छे र मान्छेका बीचमा किन हुन्छ भिन्नता,
समाजमा यस्तो विकारले बढाएको छ चिन्ता !
देशमा भेदभाव विनाको संविधान छ भन्छन्,
तल्लो जाती भएकैले मान्छे कुटिकुटि मार्छन् !!

कथित ठूलो जातीले जताततै हैकम बाँध्नुपर्ने,
कथित सानो जातीले उपेक्षित भइ बाँच्नुपर्ने !
मान्छेजस्तो भएर बाँच्ने ती मान्छेको रहरमा,
किन थपिन्छ अझै पीडा उत्पीडनको कहरमा !!

मान्छे सब एउटै हो सानो ठूलो कहाँ हुन्छ,
रगत पनि रातै हुन्छ तर पानी कसरी छुन्छ !
जसले आज ठूलोसानो उँचोनिच जात भन्छ,
उसलाई यो जगतले अब कसरी मान्छे गन्छ !!

जातभात भेदभाव अब हटाउँ छुवाछूत,
अहंकार त्यागी सबले बन्नु पर्दछ एकजुट !
सद्भाव राखौं सानोको पनि जिजीविषामा,
सघाऔं सचेतले उसको त्यो विजिगीषामा !!

Logo