लोककथा : सार्कीकी छोरी

लोककथा : सार्कीकी छोरी


एकपटक एकजना युवक धेरै पढेर घर फर्किँदै थिए । आउँदै गर्दा बाटामा एकजना मानिस कुसका गाँठाको एउटा ठूलो रासका साथमा अझ अरू गाँठो बनाउँदै रहेछन् । ती पढेलेखा युवकले सोधे- “हजुर यो के का लागि गाँठो पारिरहनु भएको छ ?” उनले भने- “कसको जोडी कोसँग भनेर कस्दै बसेको ।”

“अनि, त्यसो भए मेरो जोडी चाहिँ कोसँग बाँध्नु भएको छ ? कृपया बताइदिनुहोस् न !”
उनले भने, “तपाईंको जोडी तल्लाघरे सार्कीकी छोरीसँग बाँधिदिएको छु ।”
उनले भने, “यो त हुनै सक्दैन । म बाहुनको पढालेखा मान्छेले कसरी सार्कीकी छोरीसँग विवाह गर्छु । यो कदापि हुन सक्दैन ।”

तिनले भने, ” होइन, तपाईंको विवाह अरूसँग त हुनै सक्दैन । यो त विधिको विधान हो ।”
ती पढालेखा युवक तिनलाई गाली गर्दै आफ्नो बाटो लागे । घरमा पुग्दा खुशी हुनुपर्नेमा विषादको आभा अनुहारमा छरिएको थियो । तर, घरका कुनै सदस्य सामु उनले यो समस्या राखेनन् ।
उनलाई लाग्यो- म त पढेलेखेकाे पण्डित हुँ । यदि मैले साँच्चै तल्लाघरे सार्कीकी छोरीसँग बिहे गर्नुपर्ने भयो भने त बर्बाद हुन्छ । समाजले मलाई के भन्छ ?! म समाजमा लज्जित भएर बस्न सक्दिन ।
केही दिनपछि बिहानै ती युवक छिमेकी सार्कीकी छोरी कस्ती रहिछन् भनेर हेर्न गए । साँच्चै राम्री पनि रहिछन् तर अझ बढी त कुसको गाँठो बनाउनेका कुराले पिरोलिरह्यो । अब यो काउछोबाट कसरी पन्छने !?

ती युवकले युवतीसँग सुटुक्क सल्लाह गरे । एकदिन घाँस काट्नसँगै जाने भनेर ती युवतीसँग सहमति भयो । सँगसँगै जाने कुरा पनि भयो । खोलाको किनारामा गएर गफ गरे । यत्तिकैमा युवकले घाँस काट्न भनेर लगेको हँसियाले ती युवतीको घाँटी रेटेर खोलामा हालिदिए ।
ती युवक चुपचाप घरमा आए । गाउँमा कसैले सुइँकोसम्म पनि पाएन । हल्ला त चल्यो तर युवतीलाई अनेकौं जुक्ति लगाएर खोज्दा पनि भेट्न सकिएन । न त दोषी नै पत्ता लाग्यो ।

केही वर्षपछि युवकले अब विवाह गर्ने सोच बनाए । उनलाई आफूले ती कुसको जोडी बाँध्नेसँग पनि आफ्नो भाग्य बदलेको दम्भ देखाउनु थियो । आखिर अब त ती सार्कीकी छोरी पनि त थिइनन् ।
युवकले आफ्नो विवाहका लागि केटी माग्न भनेर एकजना सेठकहाँ गए । सेठकी छोरी अति नै राम्री पनि । सुन्दरी । विवाहका लागि दुवैतर्फबाट राजी भयो । धुमधामका साथ विवाह सुरु भयो । नाचगान भइरहेको छ । गानाबजाना छ । भोज भतेर त्यस्तै छ । सेठले पनि प्रशस्त सत्कार गरे । सम्पत्तिको कमी थिएन । प्रशस्त दाइजो पनि दिए । विवाह सम्पन्न भयो ।

जन्तीसहित तामझामका साथमा आउँदै गर्दा ती दुलाहा बनेका युवकलाई ख्याल आयो । अब त ती कुसका गाँठा बनाउनेलाई आफूले सेठकी छोरी विवाह गरेको कुरा सुनाउने हतारो लागिरहेको थियो । तिनलाई देखाउने अनि तिनको योजना कसरी असफल पारेँ भन्ने सोच दिमागमा घुम्न थाल्यो ।
युवकले सोचे- “म तिनको कुसका गाँठो कसेर जोडी बाँध्ने काल्पनिक योजनालाई झापड हानेको कुरा सुनाउँछु ।”
भोलिपल्टै ती युवक आफ्नो खुबीको बखान सुनाउनका लागि भनेर ती कुसका गाँठा बनाउनेलाई खोज्न निस्के ।
तिनी त अझै पनि त्यसैगरी गाँठो पारिरहेका रहेछन् ।
“हजुर नमस्कार । मलाई चिन्नुभयो ?”
“खै, मैले त चिन्नै पो सकिन ।”
“म त्यही क्या तपाईंले सार्कीकी छोरीसँग विवाह हुने भनिएको मान्छे ।”
उनले आफूले सेठकी छोरीसँग विवाह गरेको कुरालाई बडो गर्वका साथ सुनाए ।
गाँठो बनाउनेवालाले भने- “ए, मेरो योजनालाई नै पो झुटो साबित गरिदिनुभयो तर ती सेठकी छोरीको घाँटीमा पनि हेर्नुभयो कि छैन ?!”
युवक भन्छन्, “महाशय, जे भने पनि सेठकी छोरीलाई विवाह गरेको छु ! सार्कीकी छोरी त गायब छिन् । मैले त सुहागरात समेत मनाइ सकेको छु ।”
उनी भन्छन्, “तपाईंले घाँटी रेटेर नदीमा बगाएकी ती युवतीका बारेमा याद छ ! हो, माझीले सन्तान नभएका सेठलाई अचेत अवस्थाकी ती युवती सुम्पेका थिए ! अनि, सेठले औषधिमुलो गरे । लालनपालन गरे । अहिले, तपाई‌ले मेरो योजनालाई कसरी झुटो साबित गराउनुभयो र ? असम्भव ! युवकजी, घाँटीमा खत होला, गएर राम्रोसँग हेर्नुहोस् !”

(श्रुतिकथनमा आधारित)

Logo