गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

गण्डकीमा मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने

केन्द्रबिन्दु
56
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ। गत २५ चैतमा मुख्यमन्त्री नियुक्त भएका अधिकारीले सोमबारसम्म विश्वासको मत लिइसक्नुपर्छ।

मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय भएको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री हरिबहादुर चुमानले जानकारी दिए।

६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद दीपक मनाङे गरी ३१ सांसदको हस्ताक्षर बुझाएर अधिकारी मुख्यमन्त्री बनेका थिए। तर, कांग्रेसले भने सभामुखबाट राजीनामा नदिई सभामुखले मुख्यमन्त्री नियुक्तिको पक्षमा हस्ताक्षर गर्न नमिल्ने भन्दै अदालत पुगेको थियो। सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त अधिकारीको पक्षमा बहुमत रहे, नरहेको बारेमा प्रदेश सभामा परीक्षण हुन दिनुपर्ने भन्दै कांग्रेसको रिट खारेज गरिदिएको थियो।

आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा ३१ सांसदको समर्थन जुटाए विश्वासको मत प्राप्त गर्नेछन्।

हाल गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद् छ। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अधिकारीसँगै विना विभागीय मन्त्रीको शपथ लिएका थिए। अहिले चुमान अर्थमन्त्री बनेका छन् भने मनाङेले भौतिकको जिम्मेवारी पाएका छन्।

Logo