“एकै खालका पुस्तकले गर्दा पाठकहरु अल्मलिए”- सर्बज्ञ वाग्ले, साहित्यकार

“एकै खालका पुस्तकले गर्दा पाठकहरु अल्मलिए”- सर्बज्ञ वाग्ले, साहित्यकार

केन्द्रबिन्दु
0
Shares

नेपाली साहित्यमा हिजोआज फरकपन भित्रिन थालेका छन् । विगतमा सामाजिक कथावस्तु हुने गरेपछि साहित्यमा पात्र र प्रवृत्तिहरु काल्पनिक हुन्थे । तर हिजोआज पात्रहरुलाई वास्तविक धरातलमै उभ्याएर साहित्य श्रृजना गर्ने गरिएको पाइन्छ । साहित्यकार सर्बज्ञ वाग्लेको पाँचौं कृति पुनर्वास हालै बजारमा आएको छ । कञ्चनपुरको पुनर्वासका बासिन्दाले भोग्नु परेको सीमा समस्या यसमा उठान भएको छ । प्रस्तुत छ, पुनर्वास र साहित्यका अन्य विषयहरुमा केन्द्रित रहेर केन्द्रबिन्दुका वरिष्ठ उपसम्पादक ज्ञानमणि नेपाल कालोटोपीले साहित्यकार वाग्लेसँग गरिएको कुराकानी :

१. साहित्यका कुन कुन विधामा कलम चलाउनु भएको छ ?

हास्यब्यंग्य, कथा, उपन्यास लगायत विधामा कलम चलाउने गरेको छु । जुवाघर, (हास्यव्यंग्य) क्यासिनो, (कथा संग्रह) युधिष्ठिर (कथा) कृति मैले सार्वजनिक गरिसकें । पुर्नवास (उपन्यास) पाँचौं कृतिका रुपमा अहिले सार्वजनिक भएको छ ।

२. पुनर्वास कस्तो कृति हो ?

पुनर्वास सीमा समस्यासँग सम्बन्धित उपन्यास हो । विशेषगरि भारतसँग सीमा जोडिएका ठाउँमा रहेका नेपालीले त्यहाँ भोग्नु परेका समस्या यसमा उठान भएको छ । अंग्रेजहरुले खुशी भएर दिएका ४ जिल्लाहरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा पहिलेदेखि नै भारतको नजर बेग्लै थियो । नेपाललाई कुदृष्टिले हेर्ने गरेको भारतबाट यी ठाउँमा अहिले पनि नेपालीले धेरै खाले समस्याहरु भोग्नु परिरहेको छ । लालपूर्जा हातमा छ तर जमिन भारतको भइसकेको अवस्था छ । भारतले हरेक पिल्लर हरेक १० वर्षमा सार्दै जाने गरेको छ । नेपालीहरु रातारात मारिने, सीमा स्तम्भहरु पनि सारिने जस्ता समस्याहरु यस उपन्यासमा उठाइएको छ ।

३. समस्याको उठान मात्र गर्नु भयो कि समाधानका केहि उपाय पनि दिनुभएको छ ?

यहाँ समस्याहरु अहिले पनि छन् । समाधानका लागि राज्यले ध्यान दिएन, कुनै नेता र सांसदहरु त्यहाँ पुगेनन् । पुलिसले पनि सहयोग गरेन तर पनि नागरिकहरुले न्यायका लागि लडिरहेका छन् । यस्तो अवस्थामा हामीले के गर्न सक्छौं त भन्ने सोच्दै जाँदा यस कृतिको जन्म भएको हो । सबैले भन्ने गरेका जस्ता विषय भन्दा पृथक रहेर मैले यहाँको समस्या उठान गरें, यसले चतनशील नागरिकलाई धेरै कुराको अवगत गराउनेछ । राज्यलाई पनि सीमा समस्याका बारेमा बोल्न बाध्य बनाउनेछ भन्ने मैले विश्वास लिएको छु । यहाँको समस्यामा सरकारले नै कुटनीतिक पहल नगरेसम्म नागरिकको केही लाग्ने अवस्था छैन ।

४. हिजोआज साहित्यिक पुस्तकहरुको बजार खस्किएको छ भनिन्छ नि, यहाँले कस्तो पाउनु भएको छ ?

बजार खस्किएको छैन, एकै खालका विषय भएको पुस्तक आउने गरेपछि पाठकहरु अल्मलिएका मात्र हुन् । फरक खालका विषय भएका साहित्यिक पुस्तकहरु अहिले पनि पाठकले खोजी खोजी किन्ने गरेका छन् । हरेक हप्ता पुस्तकहरु सार्वजनिक भइरहेका छन् । पाठकले नरुचाएका भए त यसमा लगानी गर्नेहरु पनि हुदैनथे होला नि त, फरक विषय दिएमा पाठक बढ्दै जान्छन् ।

५. कस्तो खालको विषय भयो भने पाठकको मन जित्न सक्ला त ?

सामाजिक विषय धेरै छन्, सीमा समस्या त भइहाल्यो, जुवा तास, क्यासिनोमा मान्छेको लगानी पनि बढीरहेको छ । यो राम्रो होइन , चेलीबेटी बेचविखन, हत्या हिंशा, बलात्कार, भष्टाचार जस्ता विषयहरुमा पनि पुस्तकहरु लेख्न सकिन्छ । गहिराईमा गएर लेख्ने हो भने अहिले चल्ने पुस्तकहरु यस्तै खालका हुन् । काल्पनिक भन्दा पनि यथार्थ धरातलमा लेखिएका पुस्तकले पाठकको मन छुन्छ ।

Logo