- सरद विष्ट –
वीरबहादुरको नाबालक छोरो बिरामी भएर मर्यो । बिरामी छोरोलाई शहरका विभिन्न अस्पतालमा लगेर उपचार गराउँदा पनि केही सीप लागेन । उनले छोरालाई बचाउन सकेनन् । निष्ठुरी भगवानले आमाको काख नै रित्तो पारी दुधे छोरो लगिदियो । परिवारमा रुवावासी भयो ।
वीरबहादुर छाती ठोकीठोकी रुन थाले । उनको रुवाइले गर्दा सारा छिमेकीको आँखा पनि रसायो । एकजना बुज्रुक छिमेकी नजिकै आए र वीरबहादुरलाई सम्झाउन लागे– “भो नरोऊ, संसारको रीत यस्तै छ । जन्मेपछि मर्नैपर्छ । ढिलोचाँडोको कुरा हो । तिम्रो छोरालाई बालखैमा मर्न लेखेको रहेछ । दैवको अगाडि कसको के लाग्छ र । चित्त बुझाऊ बाबु, नरोऊ ।”
दिनहरू बित्दै गए । केही महिनापछि वीरबहादुरलाई सम्झाउने बुज्रुक छिमेकीको दुहुनो भैंसी मर्यो । भर्खरै ब्याएको लैनो भैंसी मरेको तोडमा उनी छाती पिटिपिटी रुन थाले । धेरैजनाले सम्झाए, तर उनको रुवाइ थामिएन । उनको यस्तो अवस्था देखेर केही महिनाअघि बीरबहादुर आए र सम्झाउन लागे– “भो नरोऊ, तिमी त बुझ्झकी मान्छे ।” मैले मेरो छोरो मर्दा त संसार हेरी चित्त बुझाएँ भने तिमी जाबो एउटा भैंसी मरेकामा पनि चित्त बुझाउन सक्दैनौ ? दुहुनो भैँसीको सट्टामा दुहुनो भैँसी नै ल्याउन सकिन्छ । अहिले किन रुनु पर्यो ? संसारको नियम र रीति हेरेर चित्त बुझाऊ भनेका थियौ मलाई । अहिले तिम्रो त्यो शिक्षा कता गयो ?’’
बुज्रुक व्यक्तिले भने– कहाँ त्यसो भनेर मन मान्दो रहेछ र ! मन बुझाउन सार्है गार्हो हुँदो रहेछ आफ्नाको मृत्युमा । यो त मेरो आफ्नो भैंसी पो ! तिम्रो छोराको मृत्युमा मलाई त्यति पीडा भएको थिएन, जति अहिले यो भैंसी मर्दा भएको छ ।
वीरबहादुर ट्वाँ परेर केही बेर ती बुज्रुक छिमेकीको मुखमा हेर्यो अनि जुरुक्क उठेर हिँड्यो ।
प्रतिक्रिया