साहित्यकार रिसालको पाँचौँ कृति ‘समय र सपना’ सार्वजनिक

साहित्यकार रिसालको पाँचौँ कृति ‘समय र सपना’ सार्वजनिक


काठमाडौँ ।

साहित्यकार कौशिला रिसालको कविता सङ्ग्रह ‘समय र सपना’ सार्वजनिक भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा.जगमान गुरुङ, प्राध्यापक डा.हेमनाथ पौडेल (कविता विभाग प्रमुख) प्राध्यापक डा.देवी नेपाल (बाल साहित्य विभाग प्रमुख) प्राज्ञ परिषद् सदस्य लक्ष्मी माली, डा.यज्ञश्वर निरौला, लेखक नारायण शर्मा लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।

कुलपति उपे्रतीको कार्यकक्षमा भएको लोकार्पण कार्यक्रममा कवि प्रथाले सृजनाले समय बोधलाई समेटेको हुनुपर्ने बताउँदै रिसालका कविताले वर्तमानको विचार बोकेको धारणा राखे । उनले कविता सङ्ग्रह ‘समय र सपना’ ले वर्तमान परिस्थिति र समाज रूपान्तरणको वकालत गरेको तथा विचारको प्रक्षेपण गरेको बताए ।

कविता संग्रहको समीक्षा गर्दै वरिष्ठ साहित्यकार डा.घनश्याम न्यौपाने परिश्रमीले ‘समय र सपना ’ भित्रका कविता प्रगतिशिल चिन्तनमा आधारित रहेर लेखिएको बताए । भाव र कलाको मञ्जुल मिश्रण नै कविता भएको बताउँदै उनले रिसालका कविताले मिठा भावमा विचार प्रवाह गरेको धारणा राखेका थिए । समसामयिक परिस्थितिमा महत्वपूर्ण विचार सहितका चेतनाका साथ कविता लेखिएको डा.परिश्रमीले बताए ।

कविता सङ्ग्रह लोकार्पण गर्दै कुलपति उप्रेतीले कविता विचार र कलाको मिश्रण हुनुपर्ने धारणा राख्दै रिसालका कविता उर्जापूर्ण रहेको बताए । ‘समय र सपना’ भित्रका कविताले राजनीति, सामाजिक परिस्थितिदेखि सीमान्तकृत वर्गका विषयसम्म उजागर गरेको उनले बताए । साहित्यमा विचार हुनुपर्ने र विचारसहितको विषयले मात्रै समाज रूपान्तरण गर्न सक्ने कुलपति उप्रेतीको भनाइ थियो ।

पुस्तक लोकार्पणपछि कवि रिसालले आफू हुर्केको समय, परिवेश र परिस्थितिलाई मनन गरेर कविता लेख्ने गरेको बताए । समाजका तत्कालीन परिस्थिति, राजनीतिक, सामाजिक विषयवस्तु नै आफ्नो लेखनीको स्रोत भएको रिसालको भनाइ थियो ।

कार्यक्रममा साहित्यकार सुगिता शाहले पुस्तकभित्रका कविता वाचन गरेर सुनाएकी थिइन् । साहित्यकार रिसालको यो पाँचौँ कृति हो । यसअघि उनका ३ वटा बालकथा सङ्ग्रह र ‘एउटा साहस’ नामक (नर्वदा खनाल) संस्मरणात्मक पुस्तक प्रकाशित भैसकेका छन् ।

Logo