पुस्तक अंश : संयोग

पुस्तक अंश : संयोग


  • नानी बिबु –

छतमा एउटा मात्र कोठा थियो । त्यो कोठा म त्यहाँ आउनुभन्दा अगाडिदेखि नै भाडामा थियो र त्यस कोठामा बस्ने केटोबारे भन्नुपर्दा आमा सधैँ यसो भन्नुहुन्थ्यो, “माथि कोठामा बस्ने केटो ठीक छ, इमानदार पनि छ, खासै बोल्दैन । आफ्नो काम गरेर आउँछ, कोठामा मात्रै बसिरहन्छ । महिना मरेपछि भाडा माग्नै पर्दैन खुरुक्कै ल्याएर दिन्छ ।”

आमाले भनेको त्यो इमानदार केटोलाई मैले राम्रोसँग देख्न पाएकी थिइन । ऊ बिहान साढे पाँचमै उठेर क्याम्पस जान्थ्यो । म क्याम्पस जाने बेलासम्म फर्कदैनथ्यो । खासै तल आउने बोल्ने पनि गर्दैनथ्यो । साँझपख म नै छतमा जाँदा पनि कोठाभित्रै हुन्थ्यो ।

शनिबारको त्यो सुनौलो दिन हाम्रा आँखा जुधे । दिउँसो कपडा धोएर छतमा सुकाउँदै थिएँ । म माथि आएको थाहा पाएर हो या संयोग त्यस्तै पर्यो, छतको कोठाको झ्यालको पर्दा खुल्यो । मेरो पनि नजर खै कसरी त्यतै पुगेछ । झ्यालबाट भित्र एउटा केटालाई देखेँ । ऊ साँच्चै झ्यालको पर्दा खोल्दै थियो र बाहिर मलाई देखेर हे¥यो या पर्दा खोल्ने निहुँमा मलाई हेरिरहेको थियो । मलाई थाहा भएन तर हाम्रा आँखा जुधे । अन्दाजी अठारउन्नाइस वर्षजतिको लक्का जवान, बाटुलो, ठूलो, गहुँगोरो अनुहारमा भर्खर अलिअलि जुँगाको रेखी बसेको थियो ।
केटो मन्द मुस्कानले एकोहोरो मलाई नै हेरिरहेको थियो । ऊ हाँस्दा उसका पकुल्टे गालामा सानो खोपिल्टो परेको थियो । कस्तो मोहनी लगाउने मुस्कान मोराको ! उसको त्यो हेराइले मलाई कताकता लाज लागे झैँ भयो । म पनि लजाउँदै उसबाट नजर हटाउँदै आफ्नो काम सकेर तल झरेँ । उसले खै कतिबेर मलाई हेरिरह्यो तर म भने उसबाट टाढा गइसकेपछि पनि उसका नजरहरू आँखावरिपरि नै घुमिरहे । उसैको याद आइरह्यो । बेलुका कपडा उठाउन जाँदा पनि आज उसको कोठातिर नजर लगाउन मन लाग्यो । ऊ बिस्तरामा पल्टेर डायरी हेरिरहेको थियो । म अलि परै बसेर झ्यालबाट भित्र उसैलाई हेरिरहेकी थिएँ । केही बेरमा हातको डायरी बन्द गरेर ऊ खाटबाट जुरुक्क उठ्यो । उसका नजर झ्यालबाट फुत्त बाहिर आउँदा फेरि हामी दुर्ईका नजर ठोक्किन पुगे । ऊसँग नजर जुधाउँदै सबै कपडा उठाएर म तल झरेँ । मलाई उसको नजर र मुस्कानले तानेको थियो र त बेलाबेला कामै नपरे पनि माथि उक्लिन मन लाग्थ्यो । बिहानपख म जहिले जाँदा पनि उसका झ्यालढोका दुवै बन्द हुन्थे । साँझपख भने ऊ धेरैजसो डायरी हेरिरहेको हुन्थ्यो । कहिले हातमा डायरी लिएरै एकोहोरिएर टोलाइरहेको हुन्थ्यो ।

कहिले आँखा जुध्थे त कहिले भने म एक्लै लुकेर उसलाई देख्नेगरी फर्कन्थेँ । को होला ऊ ? त्यो डायरीमा के होला ? ऊ किन यसरी सधैँ त्यो डायरी पढेर एकोहोरिन्छ ? किन एक्लै रुन्छ ? उसलाई हेरेर फर्किएपछि मेरो मनमा उसबारे कुराहरू खेल्न थाल्थे तर ऊसँग बोलेर यी सब कुरा सोध्ने आँट भने आउन सकेको थिएन ।

एकदिन साँझपख म फेरि छतमा उक्लिएँ । त्यसदिन ऊ छतको एउटा कुनामा बसेर मुरली बजाइरहेको रहेछ । अलि परैबाट एकछिन हेरेँ । उसको त्यो निकै मीठो मुरलीको धुनले मलाई मेरो बचपन सम्झायो । राजु, पिपिरी, त्यो देउरालीको चौतारो, ती फाँटहरू…। मैले राजुलाई सम्झिएँ । राजु कहाँ होला ? के गर्दै होला ? राजुलाई मेरो याद आउँछ कि आउँदैन होला ? हामीले सँगै बिताएका ती पलहरू, उसले मलाई गरेको माया र उसैले दिएको गुलाबी फूल भएको काँटा राजुले बिर्सियो कि सम्झिरहेको छ होला ? मैले त्यस केटामा राजुको रूप देखेँ अनि उसको हातको मुरलीमा पिपिरीको । मलाई उसैको छेउमा बसेर त्यो धुन सुन्न मन लाग्यो । बिस्तारै म उसैको छेउमा गएर उसको मुरलीको धुनमा लठ्ठिदै राजुसँगको आफ्नो विगतको स्मरणमा हराएँ । एकैछिनमा उसले मुरली बजाउन बन्द गरेछ । मुरली बज्न छोडेपछि मैले उतिर हेरेँ तर ऊ त्यहाँ थिएन । यताउता हेरेँ । छततिर पनि कतै देखिन । बाहिरतिर नदेखेपछि झ्यालबाट भित्र हेरेँ । ऊ त ढोका लाएर भित्र खाटमा घोप्टो परेर पल्टिएको रहेछ ।

बेलाबेला हाम्रा आँखा जुधे पनि आजसम्म उसको नजिकै गएर बस्न र बोल्न भने आँट आएको थिएन । यसरी आज उसको आडैमा आएर बसिदिँदा उसले के सोच्यो । मैले राजुलाई सम्झेझैँ उसले पनि उसको मायालुलाई सम्झेर बसेको थियो होला । मेरो उपस्थिति पक्कै उसलाई मन परेन । म यसरी आएर उसको नजिक बस्न नहुने थियो । टाढैबाट सुनेको भए पनि त हुन्थ्यो नि ! मलाई पछुतो लाग्यो । म पछुताउँदै कोठामा आएँ र राजुलाई सम्झिँदै राजुको मायाको चिनो तिनै गुलाबी काँटा झिकेर शिरमा सजाएँ ।

भोलिपल्ट शनिबारको दिन थियो । घर सरसफाइ गरी सबै कपडा धोएर कपडा सुकाउन छतमा उक्लिएँ । आज पनि मेरो टाउकामा राजुको मायाका प्रतीक ती काँटाहरू टाँसिइरहेका थिए । हिजो मलाई बेवास्ता गर्ने त्यो केटाको कोठातिर हेर्न पनि मन लागेन । म आफ्नै सुरमा सबै कपडा सुकाइसकेर तल झर्न लाग्दा हेर्दिनँ भने पनि मेरा आँखा मलाई छलेर उसको कोठाको झ्यालबाट फुत्तै भित्र पसेछन् र देखिहाले उसको खाटको खुला डायरी । डायरीमा पल्टिएको पानाले मेरा हिँड्न लागेका गोडालाई हिँड्न दिएन ।

सानोमा राजुले खाएका चुस्ने मिठाइका समाउने ठाउँतिरका अक्षरहरू जम्मा पारेर ‘राजु + रजनी’ लेखेको देखेपछि मेरो मुखबाट चर्कै आवाजमा फुत्किहाल्यो एउटा शब्द ‘राजुऽ…!’ स्टोभको आडमा उभिएर स्टोभ बाल्न लागेको राजुले झ्यालतिर हेर्यो । मैले हतपत मेरो शिरको काँटा झिकेर देखाइदिएँ । “रजनी…! तिमी ?“ आश्चर्य मिश्रित बोलीमा आत्तिँदै भन्यो । म दौडँदै उसको कोठातिर गएँ । ऊ पनि ढोकामै आइसकेको रहेछ । ढोकामै उसले मलाई अँगाल्न पुग्यो । उसले मलाई लगेर खाटमा बसायो । दुवैका आँखाबाट आँसु मात्र बगे ।

राजुले खाटको डायरी उठायो र पानाहरू पल्टाउन थाल्यो । उसको डायरीको पहिलो पानो मैले देखिसकेकी थिएँ । सानोमा चुस्ने मिठाई खाँदा समाउने ठाउँतिर हुने ती अक्षरहरू, टेपले टाँसेर राखेको हाम्रो नाम ‘राजु + रजनी’ अझै सुरक्षित रहेछ । उसले डायरीको दोस्रो पानो पल्टायो । मैले दिएको शिवजीको फोटो भएको माला पनि उसले पानको पात आकार बनाएर कस्तो राम्रोसँग टेपले टाँसेर राखेको रहेछ । त्यसको दायाँ र बायाँपट्टि ‘आई लभ यु’ अनि मालाको तलपट्टि ‘रजनी’ लेखेको थियो । उसले डायरीको तेस्रो पानो पल्टायो । उसको र मेरो सानो छँदाको एकएकओटा फोटो सँगै टाँसेको रहेछ । मलाई त्यो फोटो देख्दा अचम्म लाग्यो ।

‘यो मेरो फोटो ? कहाँबाट भेट्टायौ राजु ?’ ऊ मलाई हेर्दै मुस्कुरायो मात्र ।

‘हँ कहाँ भेटायौ भन न ।’ मैले अलि कर गरेपछि उसले भन्यो, ‘एक दिन तिम्रो मामाघर गएको बेला एल्बममा तिम्रो यो फोटो देखेँ । मलाई फोटो लैजान मन लागेको थियो तर त्यो दिन मौका परेन । अर्को एकदिन आशिष मात्र एक्लै भएको मौका पारेर म तिम्रो मामाघर गएँ अनि आशिषलाई फोटा हेरौँ न आशिष भन्दै फोटाको एल्बम झिक्न लगाएँ । अनि आशिषको आँखा छलेर मैले तिम्रो फोटो त्यो एल्बमबाट झिकेँ ।’

राजुले डायरी उठाएर त्यो फोटालाई आफ्नो छातीमा टाँस्दै भन्यो, ‘तिम्रो याद आउँदा म यही तिम्रो फोटो हेरेर कति पटक रोएको छु ।’ डायरी हातमा लिएर टोलाइरहेको त कति पटकसम्म मैले पनि देखेकी थिएँ । ऊ यसरी टोलाउनु र रुनुको कारण मेरै यादहरू नै पो रहेछन् । आज यसरी राजुसँग भेट होला भन्ने सोचेकी पनि थिइन । ऊसँगको भेट सपना हो कि विपनाजस्तो लागिरहेको छ । साँच्चै कति माया गर्दो रहेछ राजुले मलाई । आजसम्म नभुलेर मेरा यादहरूलाई कति राम्ररी डायरीमा सजाएर राखेको रहेछ । कस्तो राम्रो देखिएको थियो उसको र मेरो फोटो एकै ठाउँमा राखेर हेर्दा । उसको त्यो डायरीमा अरू के होला ?’ मनमा कौतुहलता थियो ।

राजुले डायरीको चौथो पाना पल्टायो तर त्यो पाना खाली थियो । त्यसपछिका पानाहरूमा लेखिएको थियो, ‘रजनी ! तिमी मामाघर आएको कुराले म भित्रैबाट खुसी हुन्थेँ । अनि जाँदै छ्यौ भन्ने थाहा पाएपछि भित्रैबाट दुःखी हुन्थेँ । लाग्थ्यो, तिमी सधैँ मामाघर नै बसे हुन्थ्यो तर तिमी मामाघर आएको केही दिनहरूमा नै फर्किहाल्थ्यौ । फर्किहाले पनि म चाहन्थेँ तिमी छिटोछिटो मामाघर आइरहनू तर तिमी गएपछि कति पछि बल्ल आउँथ्यौ । मलाई थाहा छ, मामाघर आएपछि कतिबेला मलाई भेटौँ झैँ तिमीलाई पनि हुन्थ्यो र त हत्तपत्त दगुर्दै मकहाँ आइपुग्थ्यौ, तिमी । मामाघरभन्दा बढी तिमी मसँग रमाउँथ्यौ र त मामा, माइजू, दिदी र बहिनीहरूको आँखा छलेर मतिर आइहाल्थ्यौ । मैले पिपिरी बजाएर बोलाएको कुरा कति छिट्टै बुझ्थ्यौ र कति छिट्टै बुझेको इसारा दिन कहिले आँगनमा आएर हेथ्र्याै । कहिले इसाराले बोल्थ्यौ त कहिले बार्दलीको डिलबाट हात हल्लाउँथ्यौ । अनि कहिलेकाहीँ ताली पड्काएर मलाई बोलाउँथ्यौ । देउरालीको चौतारामा बसेर मैले बजाएको पिपिरी खुब मन पराएर सुनिरहन्थ्यौ । त्यही वरपीपलको चौतारालाई साक्षी राखेर दुःखसुख हर कुरा तिमी मसँग साट्थ्यौ । मेरा पनि हरेक कुरा तिमी खुब ध्यान दिएर सुन्थ्यौ । छन त गाउँमा धेरै साथीहरू थिए तर मेरा लागि तिमीजस्तो साथी कोही हुन सकेनन् रजनी । जिन्दगीमा पहिलोपटक त्यति धेरै दुःखी म त्यो दिन भएको थिएँ जुन दिन तिमीले मलाई ‘बस है राजु भनेर आँखाभरि आँसु पार्दै मामाघरबाट गएकी थियौ ।

मलाई थाहा थियो अब तिमी कहिल्यै मामाघर आउँदिनौ ।’ मलाई हिजै चौतारामा भनेकी थियौ– ‘राजु अब म कहिल्यै आउँदिन मामाघर’ । म तिनै हिजो तिमीले चौतारामा भनेका कुरा सम्झेर भित्रभित्रै रोइरहेको थिएँ । त्यो क्षण तिमीसँग आँखा जुधाएर हेर्न पनि सकिन । तिमीले रसिला आँखाले मलाई हेर्दै मसिनो स्वरमा ‘बस है राजु’ भन्दा मलाई खपिनसक्नु भएको थियो रजनी । अब फेरि भेट होला नहोला भनेर अन्तिमपटक तिमी मेरो बोली सुन्न चाहन्थ्यौ होला तर म त्यो बेला बोल्नै सकिन रजनी । बोल्न नचाहेर होइन बोल्न खोज्दाखोज्दै पनि म बोल्न सकिन । कसम मेरो वाक्यै फुटेन । मलाई माफ गर । तिमीलाई ‘राम्रोसँग जाऊ रजनी’ पनि भन्न सकिन । तिमी धेरै परसम्म पुग्दा पनि फर्कीफर्की मलाई हेरिरहेकी थियौ । आँगनको डिलमा बसेर आँसु पुछ्दै हेरिरहेको थिएँ मैले । तिमी मबाट क्रमशः टाढाटाढा हुँदै गयौ । हेर्दाहेर्दै धेरै टाढा पुग्यौ । तिमीलाई मेरा आँखाले पनि देख्न छोडे । मनमा तिनै हिजो तिमीले भनेका कुराहरू मात्र खेलिरहेका थिए ।

तिमी साँच्चै आउन्नौ त रजनी ? के अब साँच्चै हाम्रो भेट हुन्न त ? मलाई भेट्न पनि आउन्नौ त तिमी ? के यो नै हाम्रो अन्तिम भेट होला त ? तिमीहरूलाई पुर्याएर तिम्रो मामा फर्कँदासम्म पनि म त्यहीँँ बसेर यस्तै सोच्दै टोलाइरहेको थिएँ । तिमीलाई मामाघर आउन मन नलागे पनि मलाई भेट्न त आउन मन लाग्ला नि ! आउन्न भने पनि कहिलेकाहीँ त मलाई नै भेट्न भए पनि पक्कै आउँछ्यौ तिमी जस्तो लाग्थ्यो । अनि तिम्रो बाटो हेरिरहन्थेँ तर त्यसपछि कहिल्यै मामाघर आइनौ तिमी । तिमी हिँडेदेखि तिम्रा बारेमा कहीँबाट पनि मैले केही खबर पाइन । म हरक्षण तिमीलाई सम्झन्थेँ रजनी । एक्लै बस्दा मलाई तिम्रा यादहरूले निकै सताउँथे । तिम्रो याद आएपछि म दौडेर त्यहीँ देउरालीको चौतारामा पुग्थेँ र तिनै ढुङ्गामा बसेर क्षितिजसम्म हेर्दै तिम्रा लागि पिपिरी बजाउँथेँ । मलाई त्यो चौतारामा गएर त्यसरी पिपिरी बजाइरहँदा तिमी मेरै छेउमा बसेर त्यो धुन सुनिरहेकी छ्यौ जस्तो लाग्थ्यो । जुन चिज आफूसँग छैन त्यहीँ चिजको महत्व बढी हुँदो रहेछ । तिमी म बाट टाढा हुँदा मैले केही महत्वपूर्ण वस्तु गुमाएजस्तो लाग्थ्यो । रजनी ! तिमी मेरो जिन्दगीको त्यस्तो ठाउँमा बसेकी छौ जुन ठाउँमा तिमीबाहेक अरू कोही हुन सक्दैन । तिम्रो अभावमा त्यो ठाउँ पूरा गर्ने कोही हुन सक्दैन । एकदिन म तिम्रो यादमा उही चौतारामा बसेर टोलाइरहेको थिएँ । त्यहीँबेला मीना आएर मेरो छेउमा बस्दै भनी, ‘के भयो राजु, किन टोलाएको ?’

उसको बोलीले म झसङ्ग भएँ । सामुन्ने उसलाई देख्दा झनक्क रिस पनि उठ्यो । ऊ तिमी बनेर मुस्कुराउँदै मलाई हेरिरहेकी थिई । म एक्लै तिम्रो यादमा हराउन चाहन्थेँ । ऊ त्यहाँ आएको मलाई कत्ति पनि मन परेन । मैले उसको वास्तै गरिन । ऊ झन् मेरो नजिक सर्दै भन्दै थिई, ‘श्रीकृष्ण जन्माष्टमीमा तिमीले बजाएको मुरली कस्तो मन पर्छ ।’

एक पटक हाम्रो गाउँमा कृष्ण अष्टमीमा कृष्णलीला देखाउँदा मैले पहिलोपटक मुरली देखेको थिएँ । त्यहाँ भगवान् श्रीकृष्णले मुरली बजाउँदा श्रीकृष्णको वरिपरि झुम्मिएर गोपिनीहरूले त्यो धुन खुब मन पराएर सुनेका थिए । त्यो दृश्यले मलाई लोभ्यायो । त्यतिबेलादेखि मैले मुरली बजाउन थालेको थिएँ । मैले बजाएको मुरलीको धुन मन पराएर त्यहाँका मान्छेहरू मलाई कसैले सानो कृष्ण भन्थे । कसैले कलियुगको कृष्ण भन्थे । अनि यहाँका केटीहरूलाई गोपिनी भन्थे । अनि त्यो मीनेचाहिँँ राधे बन्न खोज्थी । जहिले पनि ‘हे मेरो कृष्ण, मुरली बजाऊ न’ भन्दै आउँथी । त्यो मलाई कत्ति मन पर्दैनथ्यो । म केही नबोली त्यहाँबाट उठेर हिँडेँ । भोलिपल्ट स्कुल जाँदा बाटामा उसले कुरेर बसेकी रहिछ ।

‘हिजो के भएको थियो राजु तिमीलाई ?’ भन्दै मसँग बोल्न आइहाली । ‘केही भएको थिएन’ भन्दै म खुरुखुरु हिँडेँ । मेरो बाटो छेक्दै उसले मेरा हात समातेर भनी, ‘म तिमीलाई मन पराउँछु । माया गर्छे भन्ने थाहा हुँदाहुँदै सधैँ मबाट टाढा हुन नखोज राजु । म तिमीलाई मन पराउँछु । साँच्चै म तिमीलाई माया गर्छु । राजु आइ लभ यु ।’

‘मलाई तँ मन पर्दैन । छट् मेरो बाटो कतिपटक भनौँ ? मेरो बाटामा नआइज ।’ म उसबाट फुत्केर हिँडेँ । उसले आफ्ना सबै कापीमा ‘आइ लभ यु राजु’ लेखेर राख्थी । उसले मेरो कापी भेट्टाई भने राजु मीना लेखिदिइहाल्थी । त्यो देखेर साथीहरूले पनि उसको र मेरो नाम जोडेर हामीलाई जिस्काउँथे । साथीहरूसँग ‘अबदेखि मलाई मीना होइन मिरा भन है’ भन्थी । किन मिरा भन्ने भनी साथीहरूले सोध्दा ‘मीबाट मीना, राबाट राजु’ भन्दै हाँस्थी । त्यो सुन्दा मलाई झन् रिस उठेर आउँथ्यो । साथीहरूले उसलाई मात्र होइन मलाई समेत मिरा भनेर बोलाउन थाले । कतिबेला सुटुक्क उसले ‘आइ लभ यु राजु’ लेखेको पानो मेरो झोलामा हालिदिएकी हुन्थी । मैले उसलाई कति गाली गरेँ । ऊसँग रिसाएर म नबोली हिँड्दा पनि ऊ मसँग बोल्न छोड्दिनथी । कहिले बाटो छेकेर एकान्तमा भेट्न बस्थी त कहिले सबै साथीहरूका अगाडि नै मलाई प्रेमपत्र दिन्थी । म रिसाएर उसले दिएका कति पत्रहरू त उसैका आगाडि च्यातेर फालिदिन्थेँ । जबर्जस्ती माया हुन्छ र ? मलाई जोसुकैले जति माया गरे पनि म तिमीलाई जति माया अरू कसैलाई गर्दिनँ रजनी !’

कहिलेकाहीँ मलाई राजुको याद आउँदा अब त राजुले मलाई बिर्सिसक्यो होला जस्तो लाग्थ्यो तर उसले त मलाई यति धेरै माया पो गर्दो रहेछ । उसको डायरी पढेर मेरा आँखा रसाए । मुटुमा ऊप्रति माया उर्लेर आयो । मैले मुटुको वेगलाई रोक्नै सकिन । ‘राजु ! तिमी मलाई यति धेरै माया गर्छौ ?’ भन्दै म उसलाई अँगाल्न पुगेँ । राजु पनि रसिला आँखा पार्दै मेरो अँगालोमा बेरिन आयो । यी आँसु पनि कस्ता रहेछन् दुःखमा पनि झर्ने, सुखमा पनि झर्ने, कसैले घृणा गर्दा पनि झर्नुपर्ने अनि माया गर्दा पनि झर्नुपर्ने । बिछोडमा पनि झर्ने अनि मिलनमा पनि झर्नुपर्ने ।

केही बेरमा कसिलो अँगालोलाई खुकुलो पार्दै राजुले भन्यो, ‘रजनी ! एक पटक पनि फर्केर आइनौ हगि मामाघर ? तिमीलाई मेरो याद आएन ? एकपटक पनि मलाई भेट्न मन लागेन ?’

आँखा पुछ्दै मैले भनेँ, ‘लागेको थियो नि राजु तर लागेर मात्र के गर्ने … भाग्यले आज यहाँ भेट गरायो ।’

‘रजनी ! आज तिमीसँग यसरी भेट होला भन्ने सोचेकै थिइन । हिजो मेरो नजिकै आएर बसेकी तिमी नै हौ भन्ने मैले सोच्नसम्म पनि सकिन । वास्तवमा म हिजो तिम्रै यादमा हराएको थिएँ । म एक्लै बसेर तिमीलाई सम्झँदा अरू कोही मेरो नजिक आएको मलाई मन पर्दैन । त्यसैले म उठेर भित्र गएको हुँ । तिमी यहाँ कसरी आयौ रजनी ? तिम्रा दिदी, भाइ, बा र आमा कहाँ हुनुहुन्छ ?

‘भाइ काठमाडौँतिर छ । रश्मी दिदी हामीसँग छैनन् राजु । हामीले रश्मी दिदीलाई गुमायौँ । बाआमाको खै के छ कुनै खबर छैन ।’ मैले राजुसँग छुटेदेखिका सबै कुरा उसलाई सुनाएँ । रश्मी दिदी गुमाएको कुराले राजुलाई निकै दुःखी बनायो । भाइले पाएको दुःखको कहानी सुन्दा पनि ऊ निकै दुःखी भएको थियो । मैले मेरो सबै कहानी सुनाइसकेपछि पनि ऊ दुःखी मन लिएर, निन्याउरो मुख लाएर एकोहोरो मलाई नै हेरिरहेको थियो । ‘अनि राजु तिमी कसरी यहाँ आयौ त ? तिम्रा बुबामम्मीको के हाल छ ? कता हुनुहुन्छ नि ?’ मैले पनि सोधेँ ।
‘बुबामम्मी गाउँमै हुनुहुन्छ । मेरो बच्चैदेखिको रुचि गीतसङ्गीत हो भन्ने कुरा त तिमीलाई पनि थाहा नै छ । आजभोलि म यहाँ बिहानमा पढ्न जान्छु अनि दिउँसो सङ्गीत सिक्न ।’ राजुले भित्तामा उभिएको गितारतिर हेर्दै भन्यो । राजुले सङ्गीत सिक्न थालेछ । मलाई झट्ट याद आयो हाम्रो बचपनको त्यो क्षण, देउरालीको चौतारामा बसेर उसले जोसले गाएको गीत ।

‘वनमा काँडा छ, तिमी यता म उता ज्यान त टाढा छ तर बिरानो नसम्झ माया गाढा छ ।’ मलाई निकै खुसी लाग्यो । ‘अब गायक हुने भयौ मेरो राजु’ भन्दै हल्का हाँस्दै राजुलाई हेरेँ । प्रत्युत्तरमा राजु ‘तिम्रा लागि’ भन्दै फिस्स हाँस्यो ।
गितार पनि बजाउन आउँछ ?

सुन्छ्यौ ?

सुनाउँछौ ?

सुन्छ्यौ भने सुनाउँछु नि !

सुनाउँछौ भने सुन्छु नि !

(बीएन पुस्तक संसारबाट प्रकाशित नानी बिवुको उपन्यास अनुक्रोशको एक अंश । अनुक्रोश असोज ४ गते शनिबार विमोचन भयो ।)

Logo