कविता : अनौ

कविता : अनौ


  • अमृता स्मृति

समीप भएर
किन दूर देखिन्छौ ?
उचाइ भएर
किन फेदी देखिन्छौ ?

कुन दुःखको चट्टानले
तिमीलाई टुक्र्यायो ?
कुन घनले ठोकेपछि
तिम्रा साहसका किल्लाहरू भत्किए ?

वैंश फुल्नुपर्ने तिम्रो मुहारमा
कुन कलाकारले छ्याङ् खाएर भर्यो
यतिविघ्न नसुहाउँदो रङ ?

सेन्चुरी दाइ, तिमीले अगणित सेन्चुरीहरू
यही माटोको मायामा रित्याएका हौ
तिमीलाई थाहै छ, धारमा पाइन चढ्नुअघि
तरबार पनि फलाम हुन्छ र चुटिन्छ फलामबाटै ।

तिमी आज लर्बरिँदै
कहिले कुना, कहिले छेउ
कहिले उकालो, कहिले ओरालो
कहिले मैदान कहिले भीर
किन गरिरहेछौ ?

तिम्रा हजार पाखुराहरूलाई कुन अरिंगालले टोक्यो ?
खलाँतीमा देशको घाउ फुकिरहेका
तिम्रा हजार फोक्साहरू के थाकेकै हुन् ?
तिमीलाई थाहै छ,
पैतालाहरूमा शैन पल्टिएपछि मात्र
बाटाहरू आफैंमा यात्रा भएका हुन् !

सेन्चुरी दाइ, सिंढी त उसलाई चाहिन्छ
जसलाई छतसम्म जानु छ
बेलुनको उद्देश्य आसमान छ
बाटो आफैं बनाउनु छ !
नदुख्ने, नटुट्ने के छ ?

एक दिन झर्नु छ, फूल सुवास छरिरहन्छ
रात पर्नु नै छ, सूर्य चर्किरहन्छ
यी पहाडहरू
कहिल्यै बसाइँ हिँड्दैनन्
बरु तासिएर पहिराहरूमा दुखिरहन्छन्
फाँटहरूले बन्जर बन्नु किन नपरोस्
एक बुँद पानी पर्खिरहन्छन् ।

तिमी पनि साउन्डप्रुफ हृदयबाट ओर्लेर
आऊ सेन्चुरी दाइ,
हामी आआफ्नो अनौ समात्दै
जिन्दगीका गह्राहरू जोतौँ ।

Logo