अहिलेसम्मको अध्ययन, खोज अनुसन्धान र जानकारीका आधारमा यो ठाउँको नाम ‘तोस्तुङ ग्रामिणा’ हो । मिति बि.सं. २०२७ माघ १९ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित समाचारमा यहाँको शिलापत्रमा ‘तोस्तुंग ग्रामिणा’ शब्द फेला परेको प्रष्ट पारेको छ । ग्रामिणा भनेको सानो बजार हो ।
किराँतकालमा ‘तोस्तुङ’ भए पनि लिच्छविकालसम्म आइपुग्दा अप्रभ्रंस हुँदै ‘टिष्टुङ’ हुन गएको कतिपयको भनाई छ । तर टिष्टुङकोतमा रहेको ने.सं. ८५९ उल्लेखित शिलालेखमा समेत ‘त्यस्तु’ उल्लेख छ । यद्यपि यो शिलालेख नेवारी भाषामा रहेको र अहिले पनि नेवार समुदायले टिष्टुङलाई ‘त्यस्तु’ नै भन्ने गरेकाले नेपाली भाषामा टिष्टुङ नै हो कि भन्न सकिन्छ ।
त्यतिबेलाका आधिकारिक कागजातहरु जस्तै नागरिकता, लालपूर्जा, तिरो तिरेको प्रमाणपत्र सबैमा टिष्टुुङ नै उल्लेख छ । बि.सं. २०३८ सालमा यहाँको बज्रवाराही अजिमाको नामबाट यस ठाउँको नाम बज्रवाराही गाउँ पञ्चायत बनेको हो । त्यसैगरी बि.सं. २०४६ पछि बज्रबाराही गाविस नामाकरण गरियो ।
पछिल्लो पुस्ताले यो ठाउँलाई बज्रावराहीका रुपमा चिन्न थालेका छन् भने मेत्राङलाई टिष्टुङका रुपमा चिनिन थालेका छन् । यसले एकातिर टिष्टुङबाट टिष्टुङ नाम स्थानान्तरण भएसँगै बिलय भयो भने अर्काेतिर मेत्राङको अस्तित्व संकटमा प¥यो । अहिले टिष्टुङ भनेर चिनिँदै आएको ठाउँको बास्तविक नाम ‘मेत्राङ’ हो । थाहा नगरपालिकास्थित मालपोत कार्यालयका ढड्डाहरुमा समेत बज्रवाराहीका जमिनलाई टिष्टुङ र टिष्टुङका जमिनहरुको रेकर्ड मेत्राङका रुपमा उल्लेख छ । अझै पनि बज्रबाराहीवासीले आप्mनो परिचय दिँदा टिष्टुङ नै भनेर चिनाउँदै आएका छन् । यो ठाउँलाई बज्रवाराहीका रुपमा जतिले चिन्छन् त्यो भन्दा कयौ गुणा बढीले टिष्टुङकारुपमा चिन्छन् ।
राजधानीबाट बाहिरिने प्रमुख मार्गका रुपमा त्रिभुवन राजपथ बनेपछि टिष्टुङको नाम सर्वत्र फैलिएको हो । अहिले टिष्टुङ (पहिले मेत्राङ) भनेर चिनिँदै आएको ठाउको देउराली पुगेर हालको बज्रवाराहीलाई देखाउँदै टिष्टुङ भनेर चिनाईन्थ्यो । यहाँका वासिन्दाले मात्रै होईन अहिलेका टिष्टुङवासी (पहिलेका मेत्राङवासी), पालुङवासी, चित्लाङवासी लगायतले समेत टिष्टुङ भनेर अहिलेको बज्रबाराहीलाई नै चिन्दै चिनाउँदै आएका थिए । तर सरकारी कागजातमा बज्रबाराही लेखिन थालेपछि पछिल्लो पुस्ताले भने मेत्राङलाई टिष्टुङ र टिष्टुङलाई बज्रवाराही भनेर चिन्दै र चिनाउदै आएका छन् ।
आफ्नो बास्तविक पहिचान बनेको ‘टिष्टुङ’ नामलाई अन्त दिएर यो ठाउँलाई किन ‘बज्रवराही’ नामाकरण गरियो भन्ने जल्दोबल्दो प्रश्न पटक पटक उठ्ने गरेका छन् । यसो भनिरहंदा पञ्चायत कालमा सञ्चालन भएको ‘टिष्टुङ फर्काउ अभियान’ लाई पनि बिर्सिन हुन्न । त्यसपछि पनि यो ठाउँको नाम ‘बज्रवराही’ लाई हटाएर पुनः ‘टिष्टुङ’ नै गराउन गाविसले निर्णय पारित गरि जिल्ला परिषदमार्फत स्थानीय विकास मन्त्रालयसम्म फाइल पुगेको थियो । तर विडम्बना देशमा एकाएक राजनीतिक संक्रमण फैलियो । त्यसै क्रममा यो ठाउँको नाम बज्रवाराहीबाट थाहा नगरपालिका बन्न पुग्यो तर आप्mनो पहिचान बनेको ‘टिष्टुङ’ नामलाई फर्काउन सकिएन ।
यद्यपि यो ठाउँलाई पौराणिक नाम ‘एकापुर सहर’ का रुपमा पनि चिनिन्छ ।
(हालै विमोचित यो पुस्तकमा टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका कुराहरु समावेश छन् ।)





























प्रतिक्रिया