साहित्यकार एवं प्राध्यापक राजेन्द्र सुवेदीद्वारा सम्पादित समसामयिक नेपाली समालोचना हो । यो मौलिक नभई सम्पादित कृति हो । यसको शीर्षकमा समसामयिकता रहे पनि यो प्रतिनिधि समालोचना संग्रह हो । यो कृति सम्पादित भएर पनि सम्पादकको ४१ पृष्ठ लामो र खँदिलो भूमिका वा सम्पादकीय आफैमा मौलिक प्राप्ति बनेर देखापरेको छ ।
१. विषय परिचय २. समालोचनाको उद्भव र यसको उपयोगको परम्परा, ३. समालोचनाको परम्परा, ४. पाश्चात्य क्षितिजमा समालोचनाको परम्परा, ५. नेपाली समालोचनाको आरम्भ, ६. नेपाली समालोचनाको आरम्भमा प्रक्षिप्त आधुनिक प्रभावहरु, ७. समालोचनाको छनोट र सम्पादनका आधार, ८. समालोचनाको चयन अन्तर्गत समेटिएको यस समालोचना ग्रन्थमा समेटिएका समालोचकको परिचय, ९. उत्तरवर्ती नेपाली समालोचना जस्ता शीर्षकका संयोजित छ ।
यी शीर्षक र यिनका उपशीर्षकहरूले समीक्षाको मौलिक परिभाषा निर्माण देखि, उद्भव विकास र मूल प्रवृत्तिहरूलाई निरुपण गर्ने प्रयत्न भएको छ । यो एउटै सामग्री नेपाली समालोचनाका लागि चासो राख्ने पाठकहरूका लागि उपयोगी सामग्री बनेर आएको छ । समसामयिक नेपाली समालोचनालाई सम्पादनका क्रममा सुवेदीले सम्पादकीय खण्डसहित छ खण्डमा संयोजन गर्नुभएको छ । ती खण्डहरु कविता खण्ड, आख्यान खण्ड, नाटक खण्ड, निबन्ध खण्ड र विविध खण्डका रूपमा प्रस्तुत छन् ।
कविता खण्डमा डा. ईश्वर बरालदेखि नयाँ पुस्ताका समालोचक ज्ञानु अधिकारीसम्मका १३ वटा समालोचना समेटिएका छन् । यी समालोचनाले फरक फरक काव्यका उपविधा, फरक–फरक प्रवृत्ति र मूलमूल सैद्धान्तिक आधारलाई समेटेका छन् । प्राथमिक, माध्यमिक र आधुनिक एवम् उत्तरआधुनिक कालीन प्रवृत्तिहरूलाई समेट्ने किसिमका सामग्री समेटिएका छन् । स्वदेश विदेशका सिर्जनाका प्रवृत्तिलाई पनि समेट्ने प्रयत्न भएको छ, यहाँ कविताको भाषापरक अध्ययनदेखि उत्तरवर्ती बगाले प्रवृत्तिसम्मलाई समेट्ने प्रयत्न भएको छ ।
सुवेदी स्वयम् कवि र महाकवि पनि भएकाले यी समाग्रीहरू नेपाली कविता परम्पराका उल्लेख्य सामग्री संकलन हुन सकेका छन् । यस खण्डमा समेटिएका स्रष्टाहरू डा. ईश्वर बराल, गणेशबहादुर प्रसाईँ, डा. तारानाथ शर्मा, भानुभक्त पोखरेल, मोहनराज शर्मा, प्रा. ठाकुर पराजुली, डा. गोपाल भण्डारी, राममणि रिसाल, होमनाथ सुवेदी, डा. कुमारप्रसाद कोइराला, डा.महादेव अवस्थी, डा. सुधा त्रिपाठी र ज्ञानु अधिकारीका । अघि मैले भने अनुरूपका फरक काल, फरक प्रवृत्ति, फरक सिद्धान्त र फरक भूगोललाई समेट्ने समालोचनाहरू समेटिएका छन् ।
यस कृतिको तेस्रो खण्ड आख्यान खण्ड हो । यस खण्डमा पनि आधिकारिक किसिमका कृष्णचन्द्र सिंह प्रधान देखि नेत्र एटम सम्मका समालोचकहरूका फरक वैशिष्ठ्यलाई बोक्न सक्ने समालोचनाहरू समेटिएका छन् । यहाँ प्रायः आख्यानका आधिकारिक समालोचकहरूलाई कविता खण्डमा भन्दा पनि अझ बलियो गरी समेटिएको देखिन्छ । समालोचकका नाम मात्र सुन्दा पनि हामी यस खण्डको ओज थाहा पाउँछौँ ।
कृष्णचन्द्रसिँह प्रधान, इन्द्रबहादुर राई, शरद्चन्द्र शर्मा भट्टराई, डा.दयाराम श्रेष्ठ, राजेन्द्र सुवेदी, हीरामणि शर्मा पौडेल, डा.कृष्णहरि बराल, डा हरिप्रसाद शर्मा, डा. ज्ञानु पाण्डे, डा. रमेशप्रसाद भट्टराई, डा. लक्ष्मणप्रसाद गौतम, डा. नेत्र एटम । यी समालोचकका प्रतिनिधिमूलक समालोचनाले फरक फरक काल, प्रवृत्ति र आख्यानात्मक उपविधालाई पनि समेटेका छन् ।
नाटक खण्ड यसमा डा. केशवप्रसाद उपाध्याय, प्रा.गोपीकृष्ण शर्मा र डा. देवीप्रसाद सुवेदीका तीन समालोचना समेटिएका छन् । आख्यान र कविता खण्डका तुलनामा कम भए पनि यी समालोचना रेडियो नाटक, तिवारी नाट्य साहित्य र समेली नाट्य साहित्यको अध्ययनका लागि उल्लेख्य सामग्री बनेर समेटिएका छन् ।
प्रस्तुत ग्रन्थको अर्को खण्ड निबन्ध खण्ड हो । यस खण्डमा डा. निर्मोही व्यास र डा. कविता लामाका दुई निबन्धको यात्रा निबन्ध केन्द्रित उपविधा र निबन्धकार रामलाल अधिकारीका निबन्धलाई समेटिएको प्रतिभा केन्द्रित समालोचना समेटिएका छन् । प्रस्तुत ग्रन्थको छैटौँ खण्ड विविध खण्ड हो । यस खण्डमा डा. लख्खीदेवी सुनदास, डा. कुमारबहादुर जोशी, डा. वासुदेव त्रिपाठी र डा. नगेन्द्र चापागाईँका भानुभक्त, देवकोटा, पारिजात र समका फरक फरक विशेषता केन्द्रित समालोचना समेटिएका छन् ।
मलाई यस कृतिमाथि बोल्न डर धक, पनि लागिरहेको छ । गुरुले तयार पारेको कृति । म सारमा भनूँ यसको सम्पादकीय भूमिकाले नेपाली समालोचना परम्परामा केही नयाँ ज्ञान थपेको छ भने यहाँ समटिएका ३४ ओटा समालोचनाले प्रतिनिधिमूलक समालोचनाका फरक आयाम, विशेषता र प्रयोगलाई समेटेका छन् । यी समालोचना संकलनका क्रममा गुरुले आफूले संकलन सम्पादन गरेका अन्य ग्रन्थका सामग्री नदोहोर्याउँदा केही समालोचक र केही समालोचना छुटे जस्तो लाग्छ तर त्यस पक्षलाई गुरुका अघिल्ला संकलनसँग दाँजेर हेर्नुपर्ने हुन्छ ।
यहाँ सम्पादनका क्रममा मानक ग्रन्थ सम्पादनका सबै विधिको उपयोग गरिएको छ । कतिपय समालोचनालाई शीर्षक र उपशीर्षकमा बाँधिएको छ । कतिपय समालोचनाको अनुच्छेद योजना पुनर्गठन गरिएको छ । वर्णविन्यासमा एकरूपता ल्याइएको छ । यहाँ परेका समालोचकलाई उनका प्रवृत्तिसहित परिचय पनि दिइएको छ । गुरुलाई यस कृतिको सफलताको कामना र अभिवादन गर्छु । यस समालोचनालाई पनि शब्दार्थ प्रकाशनले बजारमा ल्याएको हो ।































प्रतिक्रिया