काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा छहरा साहित्य समाज, धापासीको आयोजनामा काठमाडौँको टोखामा एक विशेष साहित्यिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
टोखा–६ स्थित ह्वाइट माउन्टेन स्कुलमा गत आइतबार आयोजित उक्त कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको नेपाली साहित्यमा रहेको अतुलनीय योगदान, उनको काव्य साधना र नेपाली समाजमा त्यसको प्रभावबारे गहन चर्चा परिचर्चा गरिनुका साथै विभिन्न स्रष्टाहरूद्वारा काव्य वाचन गरिएको थियो। छहरा साहित्य समाजका अध्यक्ष एवं वरिष्ठ साहित्यकार योगेन्द्र तिमिल्सिनाको सभापतित्वमा सम्पन्न सो गरिमामय कार्यक्रममा विशिष्ट कवि प्रा. नारायणप्रसाद कट्टेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रमको प्रारम्भमा संस्थाका उपाध्यक्ष तोया गौतमले उपस्थित सबै आमन्त्रित व्यक्तित्वहरूलाई हार्दिक स्वागत गर्दै आफ्नो चर्चित कविता ‘मेरो परिवेश’ वाचन गरेका थिए । कार्यसमितिका सचिव भोला प्रेमीले कुशलतापूर्वक सञ्चालन गरेका सो साहित्यिक समारोहमा रघुनाथ आचार्य, वासुदेव बोगटी, जगन्नाथ देवकोटा, रमा न्यौपाने, गरिमा पोख्रेल, सीता रिजाल, सारा तिमिल्सिना र स्वयं सचिव भोला प्रेमीले आदिकवि भानुभक्त आचार्यको स्मरण गर्दै आ-आफ्ना उत्कृष्ट सिर्जनाहरू वाचन गरेर कार्यक्रमलाई अझ काव्यमय बनाएका थिए । सोही अवसरमा तिलक शर्मा पौडेलले मुलुकको बिग्रँदै गएको वर्तमान सामाजिक वातावरण र बढ्दो सांस्कृतिक विकृतिप्रति चिन्ता व्यक्त गर्दै आफ्नो मन्तव्य राखेका थिए ।
समारोहमा बोल्दै प्रा. हरिकृष्ण पौडेलले आफ्नो जन्मस्थान पनि आदिकवि भानुभक्तकै जन्मथलो तनहुँको रम्घा रहेको स्मरण गर्दै नेपाली समाजमा भानुभक्तकालीन रामायणप्रति अगाध श्रद्धा रहेको उल्लेख गरे । उनले आफ्नी आमाले अझै पनि रामायणका श्लोकहरू कण्ठस्थ सुनाउने गरेको बाल्यकालीन संस्मरण प्रस्तुत गर्दा उपस्थित स्रोताहरू भावुक बनेका थिए।
त्यसैगरी, प्रा. गङ्गाधर कट्टेलले भानुभक्तको काव्य साधना र नेपाली लोकजीवनमा उनको अद्वितीय लोकप्रियताको चर्चा गरे भने प्रमुख अतिथि प्रा. नारायणप्रसाद कट्टेलले भानुभक्तको साहित्यिक कद र नेपाली भाषाको जग बसाल्न उनले खेलेको भूमिकाबारे प्रकाश पार्दै आफ्नो कविता वाचन गर्नुका साथै छहरा साहित्य समाजको उत्तरोत्तर प्रगतिको कामना गरे ।
कार्यक्रमको अन्त्यमा समाजका कोषाध्यक्ष आनन्द पौड्यालले भानुभक्त रचित रामायणका केही मर्मस्पर्शी श्लोकहरू वाचन गर्दै उपस्थित सम्पूर्ण साहित्यानुरागीहरूमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सावित्री कट्टेल, मिता तिमिल्सिना र प्रेसित गेलाल लगायतका व्यक्तित्वहरूको श्रोताका रूपमा सक्रिय उपस्थिति रहेको थियो।
सभापतिको आसनबाट बोल्दै समाजका अध्यक्ष योगेन्द्र तिमिल्सिनाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भौगोलिक रूपमा छरिएका साना राज्यहरूलाई एकीकरण गरी नेपाल राष्ट्र निर्माण गरेजस्तै आदिकवि भानुभक्त आचार्यले विश्वभर छरिएका नेपालीहरूलाई भाषिक र सांस्कृतिक भावनाको एउटै कडीमा बाँध्न रामायण जस्तो लोकप्रिय ग्रन्थ प्रदान गरेको विचार व्यक्त गरे । उनले उपस्थित सम्पूर्ण अतिथि, स्रष्टा र सहयोगीहरूलाई कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।






























