कवितामय बन्याे हेटौंडा : पोखिए कवि ज्योति, भूपिन र निमेष एकैसाथ

कवितामय बन्याे हेटौंडा : पोखिए कवि ज्योति, भूपिन र निमेष एकैसाथ

केन्द्रबिन्दु
0
Shares

वागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार तीन सशक्त कविको कविता वाचन भएको छ। शक्तिशाली कविता लेखेर चर्चामा रहेका कवि ज्योति जंगल, भूपिन खड्का र निमेष निखिलले हेटौंडाको एभोकाडोमा कविता सुनाएका हुन्। कवि जंगल मोरङ, भूपिन बाग्लुङ र निमेषले मकवानपुरको प्रतिनित्व गर्दै कविता वाचन गरेका थिए । 

उनीहरुलाई एकैस्थानमा कविता सुनाउने व्यवस्थापन मकवानपुरकै अग्रणी साहित्य संस्था साहित्य सङ्गम मकवानपुरले गरेको हो। सङ्गमले ‘समकक्षी कविका एक्काइस कविता’ मा तीन जना कविलाई निमन्त्रणा गरेको थियो। जसमा तीनै जना कविले आफ्ना सात–सात वटा कविता वाचन गरेका थिए। 

कविता वाचन कार्यक्रमको पहिलो चरणमा कवि भूपिनले चोरी एक तुलनात्मक अध्ययन, कुरुप कविता, चौवालीस, तेइसौं शताब्दी शीर्षकका कविता वाचन गरेका थिए। कवि ज्योतिले बादशाहको चुम्बन, प्रेमी देश, आमाहरु, म कसैलाई सम्झिरहेको किन छु? शीर्षकका कविता सुनाएकी थिइन्। यस्तै कवि निमेषले ऐना अगाडि, शोक गीतको पोष्टमार्टम, समय र कवि, सम्बोधनमा मित्र राम विलास कविता सुनाएका थिए।

कार्यक्रमको दोस्रो चरणमा कवि भूपिनले नोटको जिवनी, ढुङ्गा, बसुन्धरा, कवि ज्योतिले लैजानु, काग अवतार, सिकाइ र कवि निमेषले कविताका नाममा, क्रान्ति, स्वीकारोक्ती शीर्षकका कविता वाचन गरेका थिए।

साहित्य संगम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रम सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको थियो। मन्त्री मोक्तानले कविताले देश, समाजको हिजो र आजको अवस्थालाई बोलेको बताइन्। उनले कवितामाफर्त् समाजका हरेक पक्षलाई खबरदारी गरेको उल्लेख गरिन्।

कार्यक्रममा अतिथि कविलाई प्रमुख अतिथि मन्त्री मोक्तानले मायाको चिनो प्रदान गरेकी थिइन्। साथै सभाध्यक्ष न्यौपानेले प्रमुख अतिथि मोक्तानलाई मायाको चिनो प्रदान गरेकी थिइन्। कार्यक्रमको प्रायोजन हाल अष्ट्रेलियामा रहेका मकवानपुरे कवि जेनन नेपालले गरेका थिए। 

संगम मकवानपुरका संस्थापक अध्यक्ष नवराज शर्मा विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा मकवानपुर जिल्लामा रहेका सम्पूर्ण साहित्यिक संघसंस्थाका प्रतिनिधि, साहित्यकार, साहित्य अनुरागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्यकार सुवास खनालले अतिथि कविहरूको परिचय दिएका थिए।

Logo