नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच जिल्ला तहमा भइरहेको स्थानीय तहको सिट बाँडफाँडप्रति असन्तुष्टि जनाएका छन् ।
अध्यक्ष नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा आफ्नो पार्टीको पहिलो हक र दाबी लाग्ने सहमति भए पनि सोही अनुसार जिल्ला तहको सिट बाँडफाँड नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह निर्वाचनको सिट बाँडफाँडको जिल्ला तहको रिर्पोटले आफूहरूलाई उत्साही नबनाएको पनि स्पष्ट पारे । महानगरपालिका र उपमहानगरपालिकाको पदहरूको सिट बाँडफाँडले आफूहरू उत्साही भए पनि जिल्लाहरूको रिर्पोटले भने आशावादी नबनाएको अध्यक्ष नेपालको भनाई थियो । उनले भने, ‘पाँच दलीय गठबन्धनबीच महानगरपालिका र उपमहानगरपालिकामा गरिएको पदहरूको बाँडफाँड उत्साहवद्र्धक थियो । र यसले राम्रो सन्देश पनि दिएको छ । तर विभिन्न जिल्लाको रिर्पोटहरु सुन्दाखेरी त्यति आशावादी/उत्साही हुने स्थिति छैन । हामीले भनेका थियौ–देशै भरी हाम्रो पार्टीको सञ्जाल छ । हाम्रो पार्टीको संगठन छ । त्यसो हुनाले देशै भरी हाम्रो पार्टीले न्यूनतम रूपमा पनि हाम्रो उपस्थिति हुनैपर्दछ । त्यसै गरी हामीले भनेका थियौ–नेकपा –माओवादी केन्द्र)ले जितेको ठाउँमा सोही पार्टी । नेपाली काँग्रेसले जितेको ठाउँमा काग्रेस, जनता समाजवादीले जितको ठाउँमा सोही पार्टीको उम्मेदवार उठाउनु पर्दछ । त्यसमा आम रूपमा ठिकै छ । तर, नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दाबी हाम्रो लाग्नु पर्दछ । कुरो त यसमा ठिकै भएको थियो । त्यस अनुसार काम भएन ।’
अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा नोमिनेशनकै बेला विद्रोही उम्मेदवार उठाएर आफ्नो पार्टीलाई हराउने षडयन्त्र एमालेले गरिरहेको आरोप लगाए । केन्द्र सरकार, प्रदेश सरकारबाट हटेको र राष्ट्रियसभा निर्वाचनबाट पछारिएको उल्लेख गर्दै उनले एमालेलाई पहिलो शक्ति हुँ भन्ने दम्भ नपाल्न चेतावनी दिए । अध्यक्ष नेपालले भने, ‘भोलि नोमिनेशन फाइल गर्ने दिन हो । पर्सी पनि नोमिनेशन गर्ने दिन हो । यो दुई दिन राखिएकोमा पनि षडयन्त्र होला । ११ गते नोमिनेशन गर्लान् । र, १२ गते मान्छेको अनुहार हेरी विद्रोही उम्मेदवार खडा गरिदिउँला भनी सोचेका पनि होलान् । अनि आफूले मात्रै त्यस्तो तिकडम गर्न जानेको छ भनी ठानेका होलान् । अरूले पनि त्यस्तो तिकडम जानेको छ । केन्द्रबाट पछारिए, प्रदेशबाट पछारिए । राष्ट्रियसभाबाट पछारिए । यसरी पछारिदा पनि अझै होस खुलेको छैन । पहिलो शक्ति हुँ भन्ने दम्भ होला ।’
अध्यक्ष नेपालले एमाले भित्रका केही नेताहरू निराश र हताश मनस्थितिमा रहेको दाबी गर्दै उनीहरूलाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरेका छन् ।





























प्रतिक्रिया