प्रतिनिधिसभा विघटन र संवैधानिक नियुक्तिविरुद्ध आन्दोलनमा साथ दिन कांग्रेसको अपील

प्रतिनिधिसभा विघटन र संवैधानिक नियुक्तिविरुद्ध आन्दोलनमा साथ दिन कांग्रेसको अपील

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा विघटन र सरकारले गरेको संवैधानिक निकायमा गरेको नियुक्तिविरुद्धको आन्दोलनमा ऐक्यवद्धता जनाउन कांग्रेसले अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै शनिबार कांग्रेस सम्बद्ध भातृ संस्थाको प्रदर्शन हुने जानकारी दिएका छन् ।  

उक्त प्रदर्शनपछि कांग्रेसले आगामी फागुन तीन गते ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा देशैभर सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने भएकाले त्यसमा सबैको सहभागीताका लागि नेता शर्माले विज्ञप्तिमार्फत अपिल गरेका हुन् ।  

गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम ठहर गर्दै कांग्रेस आन्दोलनमा रहेको उनले बताएका छन् । साथै बिहीबार प्रचण्ड–नेपाल समूहले गरेको नेपालबन्दप्रति पनि लक्षित गर्दै जनतालाई दुःख नदिएर कांग्रेस शान्तिपूर्ण आन्दोलनमा रहेको जिकिर गरेका छन् । ‘नेकपाको सरकार बनेपछि जनविरोधी कदमहरु र प्रवृत्तिविरुद्ध कांग्रेस संसद् र सडक दुवै ठाउँमा सालीन ढंगले प्रस्तुत हुँदै आयो । अनेक घटनाका बाबजुद उपत्यका या नेपाल बन्दको कार्यक्रम हामीले आयोजना गरेनौं’, विज्ञप्तिमा भनिएको छ ।  

संसद विघटनको असंवैधानिक कदमविरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाउने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्न आफूहरु प्रतिबद्ध रहेको नेता शर्माले विज्ञप्तिमार्फत जनाएका छन् । विज्ञप्तिमा अघि भनिएको छ, ‘विघटनविरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिलसमेत गर्न चाहन्छौं ।’

साथै कांग्रेसले संवैधानिक परिषद सम्बन्धि संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई वर्तमान सरकारले सुरुदेखि नै कुल्चिँदै आएको विषयमा संस्थागत निर्णयका साथ कांग्रेस प्रष्ट रुपले विरुद्धमा उभिएको दाबी गरेको छ ।  

विज्ञप्तिमा अघि भनिएको छ, ‘संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्ति विरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।’अन्नपूर्णबाट

Logo