राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा लुटतन्त्र मच्चिएको आरोप लगाएका छन् । प्रजातन्त्र र परिवर्तनका नाममा नेपालमा पछिल्लो समय लुटतन्त्र मच्चाइएको उनको भनाइ छ ।
मुलुकमा अहिले देशी विदेशी शक्तिहरुको चलखेल समेत बढेको उनले बताए। राष्ट्रवादी कित्तामा उभिएर राजनीति गर्नु कठिन र चुनौतिपूर्ण भएको अध्यक्ष थापाले बताए ।
शुक्रबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार र विप्लव समूहबीच भएको सहमति सकारात्मक भएको भन्दै आफूसँग रहेका हतियार बुझाएर हिंसा त्यागेको घोषणा गर्न विप्लव समूहलाई आग्रह गरे ।
अध्यक्ष थापाले राष्ट्रियताको पक्षमा दलीय स्वार्थभन्दा माथि उठेर स्वतन्त्र रुपमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
उनले नेपालका कतिपय मिडिया हाउसहरु व्यापारी, राजनीतिक दल र विदेशी शक्तिकेन्द्रहरुको स्वार्थमा दुरुपयोग हुने गरेकाले स्वतन्त्र पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले देशी विदेशी शक्तिकेन्द्र, दलीय र व्यापारीक स्वार्थभन्दा माथि उठेर कलम चलाउन अपिल गरे।
कार्यक्रममा राप्रपाका बरिष्ठ नेता दीपक बोहोरा, राप्रपाकै अर्का नेता धवलशमशेर राणा, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष बालकृष्ण चापागाई, दलित पत्रकार संघका अध्यक्ष बिनोद पहाडी, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष भरत केसी, नेपाल प्रेस युनियन रुपन्देही सभापति रेखा भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिनसम्म चल्ने भेलाले शनिबार बुटवल घोषणा पत्र जारी गर्ने अध्यक्ष गोपाल पौडेलले जानकारी दिए।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया