सिन्धुलीको कमलामाई नगरपालिका नं.७ करङडाडा भित्ता स्थित ग्रामिण सडक खण्डमा मंगलवार दिउसो बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका छन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक दुई वर्षको बच्चाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुली बजारबाट बासकटेरी तर्फ जाँदै गरेको बा १७ च १११७ नम्बरको बोलेरो गाडी सडकबाट अन्दाजी ६० फिट तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा कमलामाई नगरपालिका ७ बासकटेरीका ६० वर्षिया रुद्रबहादुर थापा, सोही ठाउँका १८ वर्षिया रिता एस्नाली, १९ वर्षिया दुर्गा श्रेष्ठ र निज दुर्गा श्रेष्ठको छोरा वर्ष २ को मनिष श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले जानकारी दिए। दुर्घटनामा बोलेरो चालक कमलामाई नगरपालिका ७ बासकटेरीकै बर्ष ३८ का भोजबिक्रम थापा गम्भिर घाइते भएका छन् ।
बासकटेरीकै वर्ष २७ का धन बहादुर श्रेष्ठ, वर्ष २० कि शान्तिमाया थिङ, वर्ष २२ कि कविता श्रेष्ठ, वर्ष ५० कि सुनमाया थिङ, वर्ष ३० कि सुकुमाया पुलामी, सुकुमाया पुलामिको छोरा वर्ष २ को रेमन पुलामी र वर्ष २८ कि बिनिता श्रेष्ठ पनि घाइते भएका छन् । घाइते ६ जनालाई भने सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको उपरिक्षक तिमल्सिनाले जानकारी दिए।
उपरिक्षक तिमल्सिनाका अनुसार बोलेरो चालक भोजविक्रम थापा, धनबहादुर श्रेष्ठ, कविता श्रेष्ठ, विनिता श्रेष्ठ, सुकुमाया पुलामी र उनको छोरा रेमन पुलामीलाई उपचारका लागि काठमाडौं पठाईएको छ। ग्रामिण कच्चि सडकमा धेरै मोड रहेको र बोलेरोलाई मोडमा ठाउँ नपुगी पछाडी ल्याउर अगाडि बढाउन खोज्दा अचानक दुर्घटना भएको उनले बताए।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया