भन्सार विभागको पछिल्लो आठ महिनाको तथ्यांकअनुसार दुई र चारपांग्रे सवारीको आयात बढेको छ। गत साउनदेखि फागुनसम्म २१ अर्ब ५४ करोड ७७ लाख रुपैंयाँ बराबरको २ लाख ३१ हजार ३ सय थान दुईपांग्रे सवारी आयात भएको छ । सोही अवधिमा २२ अर्ब २८ करोड ९४ लाख रुपैंयाँ बराबरको १९ हजार १ सय ४ थान चारपांग्रे सवारी आयात भएको विभागको तथ्यांक छ ।
दुईपांग्रेतर्फ सबैभन्दा बढी कात्तिकमा ३ अर्ब ९६ करोड ९५ लाख रुपैयाँका ४३ हजार ९ सय २१ थान सवारी आयात भएको छ । असोजमा ३ अर्ब ९४ करोड ३० लाख रुपैयाँका ४२ हजार ४ सय ४३ थान सवारी भित्र्याइएको छ । फागुनमा ३ अर्ब ५४ करोड ७५ लाख रुपैयाँका ३७ हजार ५ सय ८९ थान दुईपांग्रे सवारी आयात भएको छ ।
अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालका अनुसार कोभिडले अटो बजार लामो समय थलियो । व्यापार व्यवसाय ठप्प बन्यो । दसैंयता भने बजार चलायमान बन्दै गएको छ । अहिले सबैभन्दा बढी माग दुईपांग्रे सवारीको छ । ‘अहिले बजार सुधार हुँदै गएको छ,’ दुलालले भने, ‘आयात पनि बढिरहेको छ ।’
सवारीको मागअनुसारै आयात हुने गरेको छ । चाडबाडको समयमा विभिन्न छुट अफरले गर्दा दुईपांग्रे सवारी लिनेको संख्या ह्वात्तै बढेको हो । त्यसपछि बजार केही सहज बन्दै गएको नाडाले जनाएको छ । विभागको तथ्यांक अनुसार सबैभन्दा बढी असोजमा ३ अर्ब १ करोड ५८ लाख रुपैयाँ बराबरका ३ हजार २ सय ५१ थान चारपांग्रे सवारी आयात गरियो ।
माघमा ३ अर्ब ६१ करोड ३ लाख रुपैयाँका ३ हजार १ सय ७३ थान र फागुनमा ३ अर्ब ३१ करोड ७५ लाख ५९ हजार रुपैयाँका ३ हजार ३६ थान चारपांग्रे सवारी भित्र्याइएको छ । विभागले आठ महिनामा दुईपांग्रेबाट २१ अर्ब ८४ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । चारपांग्रेबाट पनि ३२ अर्ब १५ करोड ४१ लाख रुपैयाँ राजस्व उठेको छ ।
अध्यक्ष दुलालका अनुसार तीन/चार वर्षदेखि सवारी साधनको आयात घट्दो क्रममा थियो । यसपालि भने बढ्दो रहेको उनको भनाइ छ । दुईपांग्रे सवारी अघिल्लो वर्षभन्दा डेढ गुणा बढी आयात भएको उनले बताए । चारपांग्रे सवारीको आयात पनि बढ्दै गएको छ । ‘अटोमोबिल्सका सबै क्षेत्रमा अहिले उत्साहजनक अवस्था छ,’ उनले भने, ‘कोभिडले लामो समय असर गरे पनि अहिले राम्रो छ ।’
उनका अनुसार महँगा सवारीमा रोक लगाउँदा धेरै सवारी भन्सारमै रोकिएका थिए । ‘त्यस्ता सवारी ल्याउन नपाएर एक वर्षभन्दा बढी समयदेखि भन्सारमा रोकिएका थिए, जसले गर्दा व्यवसायी डुब्ने खतरा थियो,’ उनले भने, ‘महँगा सवारीको आयात खुला गरिदिएर सरकारले राम्रो काम गरिदिएको छ ।’कान्तिपुरबाट





























प्रतिक्रिया