सरकारको नेतृत्व गर्ने निर्णय गरेको नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेसका पूर्वपदाधिकारी तथा वर्तमान पदाधिकारीको बुधबार बसेको बैठकमा सभापति देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेका थिए। कांग्रेसका एक नेताले देउवाको भनाइ उदृत गर्दै भने– ‘अन्योलता र आशंका हट्दै गएको छ, केही दिनभित्र परिणाम आउँछ।’
देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए। २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ।
सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ। कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेको निष्कर्ष निकालेको हो।
यसै गरी, कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ । पार्टीको विधान–२०१७ (संशोधनसहित)को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उनलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। निर्वाचन समितिका यसअघिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएपछि वरिष्ठ अधिवक्ता यादवलाई सो पदमा नियुक्त गरिएको हो।
कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने तालिका निर्धारण गरेको छ। महाधिवेशनका लागि पार्टीका गाउँ, नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ, नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया