कोरोना महामारीका बीच नेपालको हिमाल आरोहणमा सफलता, एकैदिन १८० जना चुचुरोमा

कोरोना महामारीका बीच नेपालको हिमाल आरोहणमा सफलता, एकैदिन १८० जना चुचुरोमा

केन्द्रबिन्दु
0
Shares

कोभिड महामारीको दोस्रो लहर अघिबाट थालिएको सगरमाथासहित १६ वटा हिमालको वसन्तकालीन आरोहण सिजन ८३ दिनमा लगभग सकिएको छ। 

यस सिजनमा खुला गरिएका १६ मध्ये १० वटा हिमालमा कम्तीमा साढे ५ सय स्वदेशी तथा विदेशीले आरोहण सकेको पर्यटन विभागले प्रारम्भीक जानकारी सोमबार दिएको छ । यसपटक आरोहणका क्रममा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। जुन विगतका वर्षहरुको दाँजोमा न्यून हो । यसपटक सगरमाथामा दुई नेपाली र दुई विदेशीसहित चारजनाको आरोहणका क्रममा ज्यान गएको थियो।

यसपटक ८ हजार मिटर अग्ला सगरमाथा, लोत्से, मकालु, मनास्लु, अन्नपुर्ण (प्रथम) र धौलागिरी गरी ६ हिमाल तथा ६ हजार मिटरदेखि माथि ८ हजार मिटरमुनी उचाई भएका नुब्चे, अमादब्बलम, बरुणचे, पुमरी, तेङकाङपोचे, सरिबुङ, हिमलुङ, तिलिचो, टुक्चे र मुस्ताङ हिमालगरी १० वटा हिमाल आरोहणका लागि पर्यटन विभागले अनुमति जारी गरेको थियो । कोभिड माहामारीका कारण विगतका सिजनमा जारी हुने अनुमति संख्याको दाँजोमा यसपटक हिमालको संख्या आधा हाराहारी हो।

नेपालले आरोहणका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ । हालसम्म खुला गरिएका मध्ये ३ सय ३९ चुचुरामा मात्रै सफल अरोहण भएको छ भने ७५ वटा हिमचुचुरामा आरोहण भइसकेको छैन । पछिल्ला वर्ष सर्वाधिक हिमाल आरोहण हुने मुख्य वसन्तकालीन सिजनमा कम्तीमा ४० वटा हिमाल आरोहणमा विदेशी तथा स्वदेशी जाने गरेका थिए।

वसन्तकालीन हिमाल आरोहण यसपटक वैशाख ३ गते अन्नपुर्ण हिमालबाट भएको थियो भने अन्तिम आरोहण सगरमाथामा जेठ १८ गते भएको थियो।

यस वर्ष सगरमाथामा ‘जेठ ९ गते सबैभन्दा धेरै आरोहण भएको दिन’ का रुपमा रेकर्ड भएको छ । विभागको पर्वतारोहण शाखा प्रमुख मीरा आचार्यले त्यसदिन कम्तीमा १ सय ८० जना सगरमाथा चुचुरोमा पुगेको बताइन् । यसअघि सन् २०१९ मे २२ मा एकै दिन २ सय २३ जनाले सगरमाथा आरोहण गरेका थिए । त्यो संख्या नै ६८ वर्षयताकै ‘एकै दिनमा सबैभन्दा धेरै आरोहण भएको’ दिनका रुपमा रेकर्ड भएको मानिएको छ।

कोभिड माहामारी भएकाले सन् २०२० मा नेपालले वसन्तकालीन समयको हिमाल आरोहणमा रोक लगाएकाले त्यस वर्ष नेपालतर्फबाट सगरमाथालगायतका हिमालमा आरोहण सरकारले नै स्थगन गरेको थियो । विभागको तथ्यांक अनुसार, सन् २०१९ सम्म सगरमाथामा ६५ सय ७ जनाले आरोहण गरेका छन् । नेपालले वसन्त, ग्रिष्म, शरद र शिशिर गरी चारवटा सिजनमा हिमाल आरोहण खुला गर्छ । यीमध्ये सबैभन्दा सहज वसन्तकालीन सिजन मानिने हुँदा भिड बढ्छ।कान्तिपुरबाट

Logo