मेलम्चीकाे हेडबक्ससम्म पुग्ने बाटाे बनाउन नेपाली सेनासँग छलफल

मेलम्चीकाे हेडबक्ससम्म पुग्ने बाटाे बनाउन नेपाली सेनासँग छलफल

केन्द्रबिन्दु
0
Shares

मेलम्ची खानेपानी आयोजनाको हेड बक्ससम्म पुग्नको लागि आवश्यक पर्ने सडक र पुल बनाउन सडक विभाग र नेपाली सेनाको सहयोग लिने तयारी गरिएको छ। मेलम्ची खानेपानी विकास समितिले बाढीले बिगारेको बाटो र पुल बनाउन लागि नेपाली सेना र सडक विभागसँग समन्वय गरी काम गर्न छलफल अगाडि बढेको बताएको छ।

मेलम्चीको बाढीले पुरिदिएको हेडबक्स मर्मत गर्न आवश्यक सामग्री लैजान सडक र पुलको आवश्यक पर्ने भएकोले चाँडो काम गर्ने उद्देश्यले नेपाली सेना र सडक विभागसँग कुराकानी भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

मेलम्ची बजारदेखि मेलम्चीको हेडबक्स रहेको ठाउँसम्म पुग्ने बाटो बनाउने काम हेलम्बु गाउँपालिकाको एक र दुई वडा कार्यालयसँगको समन्वयमा बाटो खोल्ने काम सुरु भएको समितिका प्रवक्ता पन्तले जानकारी दिए।

स्थानीय तहले पनि बाटो केही दिन देखि खोलिरहेको र अझै छिटो काम गर्नको लागि नेपाली सेनासँग पनि समन्वय गर्न लागिएको समितिको भनाइ छ।

अवको तीन हप्ता भित्र बाढीले पुरिएको बाटो खोल्ने काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए। बाटो र पुल नबनेको अवस्थासम्म आयोजनालाई चाहिने उपकरण, सामान लैजान नसकिने भएकाले बाटो खोल्ने कामलाई तीव्र गतिमा अगाडि बढाउन आवश्यक छलफल भएको समितिको भनाइ छ ।

बाटो बनेपछि सामान राख्ने ठाउँसँगै मानिस बस्ने संरचना समेत बनाउनु पर्नेछ। त्यसपछि प्राविधिक टोलीसँगै कामदारहरुले काम अगाडि बढाउने छन्। हेडबक्समा तीनदेखि चार लाख घन मिटर बालुवा माटो थुपिएको आयोजनाको अनुमान छ ।

हेडबक्ससम्म पुग्न पाँच वटा पुलको आवश्यकता पर्छ भने करिव ५ किलो मिटर बाढीले पुरिदिएको सडक खोल्नुपर्ने तत्कालको लागि आवश्यक छ। त्यसको लागि डोजरको सहायताले बाटो सफा गर्नुपर्ने हुन्छ। खानेपानी आयोजनाको क्षतिबारे प्राविधिक टोलीले केही दिन अघि खोलाबारीबाट हेरिसकेको तर बाटो नबन्दा त्यहाँ काम अगाडि बढाउन नसकिने अवस्था छ।

बाढीले बिगारेको आयोजनामा स्थलगत रुपमा काम गर्न उपकरण सामग्री चाहिने भएकाले त्यहाँसम्म पुग्न पहिलो कुरा सडकको आवश्यकता भएको आयोजनाको भनाइ छ। यसैगरी स्थायी संरचनामा बाढीले असर नगरेको कारण नदीमा सङलो पानी बगेको अवस्थामा दशैं, तिहार अघि नै काठमाडौं उपत्यकामा पानी ल्याउने प्रवक्ता पन्त बताउँछन्।

पानी ल्याउनको लागि अम्बाथानको टनेल भरिएको बालुवा सफा गर्नुपर्ने हुन्छ। भरिएको बालुवा सफा गरेको अवस्थामा भदौ, असोज महिनाको अन्तिमसम्म सुरुङमा पानी हाल्न सकिने आयोजनाको भनाइ छ। बाढीले आयोजना स्थलसम्म पुग्ने प्रवेश मार्ग, आयोजनाको बाँध, अडिट सुरुङ, हेडवर्क, पुल तथा मुहानको संरचनामा क्षति पुर्याएको छ। आयोजनाको अस्थायी संरचनामा क्षति पु–याएको भए तापनि मुख्य सुरुङलगायत स्थायी संरचनामा असर नगरेका कारण ठूलो क्षति हुनबाट जोखिएको छ।गाेरखापत्रबाट

Logo