दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारिस

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन सिफारिस


राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कायम गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ। बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपियाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाएको छ। कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए।

बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताए। कति रुपैयाँ मूल्य निर्धारण गरेको छ, त्यो उनले बताउन चाहेनन्। 

मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरमा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपियाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस गरेको कृषि मन्त्रालयले जनाएको छ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाएको छ। त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपैयाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ । 

त्यसमा प्रशोधन लागत प्रतिलिटर ३०.५० रुपैयाँ कायम गरिएको छ। किसानबाट खरिद गरिएको कच्चा दूध प्रतिलिटर ५३.५० रुपैयाँ र प्रशोधित लागत प्रतिलिटर ३०.५० रुपैयाँ गरी प्रतिलिटर ८४ रुपैयाँ हुन जान्छ। त्यसमा उद्योगीले २ रुपैयाँ मुनाफा लिएर उपभोक्त मूल्य प्रतिलिटर ८६ रुपैयाँ कायम गरिएको छ।

विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैङ्कको व्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि गरेको सिफारिस समितिले जनाएको छ। 

आर्थिक वर्ष २०६७/०६८ मा दूधको मूल्य प्रतिलिटर ४८ रुपैयाँ थियो भने २०६९ फागुन १ गते प्रतिलिटर ५० रुपैयाँ कायम गरिएको थियो । २०७० फागुन २८ गते प्रतिलिटर ५६ रुपैयाँ, २०७१ पुस १६ गते प्रतिलिटर ६४ रुपैयाँ, २०७४ भदौ १ गते प्रतिलिटर ७० रुपैयाँ र २०७६ भदौ २१ गते ७६ रुपैयाँ कायम गरिएको थियो भने अहिले प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरेको छ। पाँच वर्षको अवधिमा यसपालि नै सबैभन्दा बढी मूल्य वृद्धिको सिफारिस गरिएको छ।

विगतमा दूधको मूल्य निर्धारण गर्दा कच्चा दूधको मूल्य ४ प्रतिशत चिल्लो र ८ प्रतिशत एसएनएफको आधारमा र उपभोक्ता मूल्य ३ प्रतिशत चिल्लो र ८ प्रतिशत एसएनएफको आधारमा निर्धारण गर्ने अभ्यास रही आएको छ। दूधको गुणस्तर सुधार गर्न ६८ प्रतिशत अल्कोहलले परीक्षण गरी दूध खरिद बिक्री गर्ने गरिएको छ। 

नेपालमा वार्षिक कूल दूध उत्पादन २३ लाख एक हजार मेट्रिकटन पुगेको छ । कुल दूध उत्पादनको ४० प्रतिशत गाईबाट र ६० प्रतिशत भैँसीबाट भएको देखिन्छ। गाईले औसतमा प्रतिवेत ७८९ लिटर र भैँसीले ८४४ लिटर दूध दिने गरेको देखिन्छ । जुन अन्य मुलुकको तुलनामा उत्पादकत्व अत्यन्तै न्यून हो ।गाेरखापत्रबाट

Logo