संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो स्पष्टीकरण सोधेको छ ।
पर्यटनमन्त्री सुदन किरातीले ‘के कति कारणले स्पष्टीकरणको जवाफ नदिएको हो’ भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोधेका हुन् । यसअघि गत असार ११ गते सात दिनको समय राखी सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि अधिकारीलाई तीन दिनको समय राखेर दोस्रो स्पष्टीकरण सोधिएको हो ।
पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रिस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको छ ।
महानिर्देशक अधिकारीलाई पहिलो स्पष्टीकरणमा ९ बुँदे प्रश्न सोधिएको थियो । महानिर्देशक अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति गरेको भन्दै स्पष्टीकरण नदिने अडान लिएका थिए । दोस्रो स्पष्टीकरणको तीन दिनभित्र जवाफ नआएमा कानुनअनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।
‘यस मन्त्रालयको प.सं. २०७९/८० च.नं. १२३२ मिति २०८०/०३/११ को पत्रबाट तपाईबाट सम्पादित कार्यसँग सम्बन्धित विभिन्न ९ (नौ) बुँदाका विषयमा ७ (सात) दिनभित्र स्पष्ट जवाफ सहितको विवरण पेस गर्न नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) निर्णयबाट लेखी पठाइएकोमा निर्धारित समय सीमाभित्र तपाईबाट स्पष्ट जवाफ सहितको विवरण पेस हुन नआएकोले के कति कारणले समयमा नै स्पष्ट जवाफ सहितको विवरण पेस नगर्नु भएको हो ? उल्लिखित पत्रमा समावेश भएका विषयमा ३ (तीन) दिनभित्र मन्त्रालयमा आइपुग्ने गरी पुनः स्पष्ट जवाफ सहितको विवरण उपलब्ध गराउन पुनः लेखी पठाउने अन्यथा कानूनबमोजिम हुने भनी नेपाल सरकार (माननीय मन्त्रीस्तरीय) मिति २०८०/०३/२० को निर्णयबमोजिम अनुरोध छ,’ दोस्रो स्पष्टीकरणमा सोधिएको छ ।





























प्रतिक्रिया