सरकारले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ। मन्त्रिपरिषद् बैठक बसेको मङ्गलवारको मितिमा मुख्यसचिव डा.वैकुण्ठ अर्यालले शुक्रबार रिक्त सातमध्ये ६ परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस निर्णयमा हस्ताक्षर गरेका हुन् ।
प्रशासन उच्च स्रोतका अनुसार संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग न्युयोर्कमा सहसचिव लोकबहादुर थापाको नाम सिफारिस गरिएको छ। हाल उत्तर पूर्वी एसिया महाशाखा प्रमुख रहेका थापा यसअघि बेल्जियमका लागि नेपाली राजदूत थिए । उनीसँग राष्ट्रसङ्घीय मामिलामा काम गरेको अनुभव छैन। न्युयोर्कका लागि परराष्ट्रसचिव भरतराज पौडेल पठाउने चर्चा परराष्ट्रमा रहे पनि निर्णय गर्दा भने उनको नाम आएन।
राष्ट्रसङ्घीय नियोग जेनेभाका लागि परराष्ट्रमा दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव रामप्रसाद सुवेदी सिफारिसमा परेका छन्। उनी दिल्लीस्थित नेपाली दूतावासको उपनियोगका रूपमा काम गरेर फर्केका थिए।
सहसचिव सुधीर भट्टराई फ्रान्सका लागि राजदूतमा सिफारिस भएका छन्। उनी हाल प्रमुख शिष्टाचार महापाल रहेका छन्। यसैगरी सहसचिव धनबहादुर ओली थाइल्यान्ड, तेजबहादुर क्षेत्री युएई र घनश्याम लम्साल कुवेतका लागि राजदूतमा सिफारिस भएका छन्।
सरकारले क्यानडाका लागि राजदूतमा भने सिफारिस गरेको छैन। कार्यकाल सकेर क्यानडाबाट राजदूत भृगुप्रसाद ढुङ्गाना स्वदेश फर्किसकेका छन्। सम्भवतः कुनै ब्यालेन्स मिलाउन यो पद रिक्त राखिएको स्रोतको भनाई छ।
हालै न्युयोर्कबाट अमृतबहादुर राई, जेनेभाबाट मणिप्रसाद भट्टराई, युएईबाट कृष्णप्रसाद ढकाल, कुवेतबाट दुर्गाप्रसाद भण्डारी र फ्रान्सबाट दीपक अधिकारी कार्यकाल सकेर फर्किएका छन्।





























प्रतिक्रिया