धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न महानगरलाई आयोगको आग्रह

धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न महानगरलाई आयोगको आग्रह

केन्द्रबिन्दु
0
Shares

साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत ८ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा आज जारी विज्ञप्तिमा सो सम्बन्धमा आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेको उल्लेख गर्दै धर्नामा रहेकाको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह गरेकाे हो । अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ‘ई’ र उनका साथीहरू एवं धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको विज्ञप्तिमा उल्लेख छ । 

रातिको १२ बजेदेखि बिहान ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत ८ दिनदेखि उभिएर धर्ना गरिरहेका ‘ई’ को दुवै खुट्टा अस्वभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधी सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ । त्यस्तै, महानगरपालिकाबाट यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासोे प्रदर्शनकारीले गरेका छन् । आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको जनाएकाे छ ।

अभियन्ता ‘ई’ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो । नेपालको संविधानको धारा १७ (च) मा नेपालको कुनै पनि भूभागमा पेशा, रोजगारी गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रताको उल्लेख गरेको छ । संविधानको धारा ३३ मा रोजगारीको हकको उल्लेख गरिएको छ ।
 
धर्नामा रहेका अभियन्ता ‘ई’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोगले सरकार र काठमाडौँ महानगरको ध्यानाकर्षण गराएको छ । 

Logo