प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परेर ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले पोस्टमार्टम गरेर शव बुझाउन बाँकी रहेकाले शव ल्याउन केही समय लाग्ने बताएकी हुन् ।
‘शव तत्काल ल्याउन सकिँदैन । इजरायल सरकारको प्रोटोकल अनुसार अहिले नै आउँदैन । अहिले पनि युद्धकै अवस्था रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोच्नुभएको छैन । हामीले पहल गरिरहेका छौं । तर, तत्काल ल्याउन सकिँदैन । सबैले त्यही अनुसार बुझिदिनुपर्यो ।’ उनले भनिन् ।
द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज त्यसतर्फ जाँदैछ । मन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाइन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो । उक्त उडानमा नेपालीहरुको शव नल्याइने भएको हो ।
गत शनिबारदेखि जारी इजरायल र गाजाबीचको युद्धमा परेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन्।
पचनाली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि आक्रमणमा मृत्यु भएको छ। केही घाइते पनि छन् ।
प्रतिक्रिया