आरोहण गुरुकुलकाे चियापानमा कलाकारहरुले लगाए टीका

आरोहण गुरुकुलकाे चियापानमा कलाकारहरुले लगाए टीका

केन्द्रबिन्दु
0
Shares

कोजाग्रत पूर्णिमाको अवसरमा आरोहण गुरुकुलले चियापानको आयोजना गरेको छ । 

सुपरिचित कलाकारहरु सहभागी भएको चियापान समारोहमा कलाकार तथा रङ्गकर्मीहरुले आफूभन्दा अग्रजबाट कोजाग्रत पूर्णिमाको टीका लगाएका थिए । सो अवसरमा वरिष्ठ कवी बैरागी काईला, पत्रकार किशोर नेपाल, कलाकार किरण मानन्धर, हरिहर शर्मालगायत सहभागि थिए ।

आरोहण गुरुकुलका रङ्गकर्मी सुनिल पोखरेलले समाजका प्रतिनिधि पात्रहरु जमघट हुने यस्तो परम्परा धेरै पहिलादेखि सुरु भएको स्मरण गरे । आज गुरुकुलमा टीका लगाउने क्रममा उनले २०६५ सालदेखिबाट सुरु भएको यो परम्परा संस्कृती बचाउन र अग्रजहरुको आर्शिवाद लिनको लागि आयोजना गरिएको बताए । 

उनले भने, ‘गुरुकुलको स्थापना गरेर पूर्णिमाको दिन टीका लगाउन थालेको धेरै समय भइसकेको छ । २०६५ सालदेखि सुरु भएको हो । यो सबै अग्रजहरुको आर्शिवाद लिउँ भनेर हो, यसरी आर्शिवाद लिनु भनेको सबैभन्दा ठूलो हामीले पाउने कुरा हो त्यही भएर सुरु गरेको धेरै समय भयो यस्तो गर्दै आएको हो ।’ 

उनले आउँदो पुस्ताले आफ्नो परम्परा संस्कृतिलाई मान्छन् मान्दैन, थाहा नभएको भन्दै आफू रहुन्जेल संस्कृतिलाई जोगाउन र अग्रजहरुबाट आर्शिवाद लिन यसको सुरुवात गरिएको बताए । 

उनले आफ्नो नाट्य जीवनको बारेमा बोल्दै नाट्य क्षेत्रमा आउनु योजनाबद्ध नभएको पनि बताए । उनले भने, ‘प्रेरणा त होइन, मेरो संगतको कारणले सुरु भयो, नाटकमा आएको हो, पढ्ने समयमा मेरो साथी रमेश बुढाथोकी विराटनगरको स्थापित कलाकार र भद्री अधिकारी उहाँहरुको संगतमा आएको हो, योजनाबद्ध तरिकाले आएको होइन ।’ 

यस्तै, उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरिहर शर्माले गुरुकूलले रङ्गकर्मीहरु, साहित्यकारहरु र स्रष्टाहरुको माझमा टिका लगाएर शुभकामना आदानप्रदान गर्ने काम स्थापना कालदेखि नै सुरु गरेको बताए । उनले यसबाट शुभकामना मात्रै नभएर माया, आत्मियताको आदानप्रदान पनि हुने उल्लेख गर्दै यो एकदमै सफलतापूर्वक सञ्चालन भइरहेको बताए ।  

उनले भने, ‘गुरुकुलले यो रङ्गकर्मीहरु, साहित्यकारहरु र स्रष्टाहरुको माझमा टिका लगाएर शुभकामना आदानप्रदान गर्ने काम चलाएको यसको स्थापना कालदेखि नै हो । धेरै लामो समय भयो र म यसको स्थापनाकालदेखि नै टिका लगाउ्ने कार्यक्रममा सहभागी भइरहेको छु । शुभकामना मात्रै नभएर माया, आत्मियताको आदानप्रदान गर्ने कार्यक्रम पनि हो र यो एकदमै सफलतापूर्वक सञ्चालन भइरहेको छ ।’  

Logo