लक्ष्मीपूजाको साँझ जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन

लक्ष्मीपूजाको साँझ जानकी मन्दिरमा ३५ हजार दीप प्रज्वलन

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी पूजाको अवसरमा आइतबार हिजो जनकपुरधामको जानकी मन्दिरमा ३५ हजार दीप प्रज्ज्वलन गरिएको छ। दीपावलीको उपलक्ष्यमा ३५ हजार दीप प्रज्ज्वलन गरिएको जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिए। 

उनले अब प्रत्येक वर्ष यसरी नै दीपावलीमा जानकी मन्दिरमा दीप प्रज्वलन गर्ने पनि जानकारी दिए। साँझ जनकपुरधामवासी,स्थानीय युवा र श्रद्धालुहरुले भव्यताका साथ जानकी मन्दिरमा दीप प्रज्ज्वलन गरेका छन्।

यस्तो छ जानकी मन्दिरको इतिहास

जानकी मन्दिर पवित्र हिन्दू धर्मस्थल हो। जानकी अर्थात् सीताको यो मन्दिर उनको जन्मस्थल जनकपुरमा अवस्थित छ। यस मन्दिरलाई मुगल शैलीमा बनाइएको छ। नेपालको ख्याती प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ।

प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दुको आस्थाको केन्द्र हो। हिन्दु धर्ममा लोकप्रिय रहेको रामायणकी सीताको जन्मस्थलमा निर्मित यो मन्दिर भव्य र आकर्षक छ। 

भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको मन्दिर भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ, सन् १८९४ मा शिलान्यास भई सन् १९११ मा मन्दिर निर्माण पूरा भएको थियो। मन्दिर मिथिलाञ्चलबासीका लागि सांस्कृतिक धरोहर पनि हो। 

मन्दिरको वाषिर्क क्यालेन्डर अनुसार जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधि अनुरूप हुने गरेको छ। राम जन्मको अवसरमा हरेक चैत्रमा रामनवमी, वैशाखमा जानकी नवमी, मंसिरमा रामजानकी विवाह महोत्सव, असोज पूणिर्मामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमालगायत मनाइनु यसका उदाहरण हुन्। 

प्रत्येक महिनाका पूर्णिमामा हजारौ श्रद्धालु भक्तजन सहभागी हुन्छन्। धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहरको रूपमा रहेको छ जानकीधाम।

 

Logo