नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी

केन्द्रबिन्दु
0
Shares

नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ। नदीमा नदीजन्य पदार्थ(ढुङ्गा, गिट्टी, बालुवा)का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०/०८१ को हालसम्म अवैध रूपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।

‘नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौँं’ उनले भने, ‘ती ट्र्याक्टर सञ्चालकबाट जरिवानास्वरुप रु तीन लाख रकम असुल उपर गरिएको छ।’

जरिवाना लिन थालेपछि अवैधरुपमा नदीजन्य पदार्थको चोरी निकासी हुने कार्यमा कमी आउन थालेको उनको भनाइ  छ। नदीजन्य पदार्थको चोरी निकासी रोक्नका लागि प्रहरीसँगै स्थानीय बासिन्दाले पनि सक्रियता देखाउँदै आएका छन्। स्थानीय बासिन्दाले अवैध रूपमा नदीजन्य पदार्थ चोरी भइरहेको जानकारी पाउन साथ प्रहरीलाई खबर गरी सहयोग गरिरहेका छन्।

डिभिजन वन कार्यालयले मातहतका सामुदायिक वनलाई नदीजन्य पदार्थको अवैध रूपमा सङ्कलन गर्ने कार्य रोक्नका लागि पत्राचार गरेको छ।

डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन अधिकृत भीमप्रसाद कँडेलका अनुसार सामुदायिक वन क्षेत्रभित्रको खोला, खहरेबाट अनियमित तरिकाले नदीजन्य पदार्थ लैजाने गरेको र सामुदायिक वनभित्र राख्ने गरेको जानकारी पाइएकाले त्यस्ता कार्य रोक्नका लागि पत्राचार गरिएको छ।

“त्यस्तो कार्य वन ऐन २०७६ विपरीत हुने हुँदा रोकथाम गर्नका लागि भनेका छौँ” उनले भने, वन रक्षकको टोलीलाईसमेत अवैध रूपमा हुने नदीजन्य पदार्थको ओसारपसार रोक्ने कार्यमा परिचालन गरिएको छ।”

यसैगरी, इप्रका झलारीले शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा चालु आवको हालसम्म ट्राफिक नियम विपरीत चल्ने एक हजार नौ सय सवारीसाधनलाई कारबाही गरी रु १२ लाख ८८ हजार पाँच सय रकम सङ्कलन गरी राजस्वमा जम्मा गरेको छ।

अवैध रूपमा चोरी तस्करी भएको ७४ दशमलव ९२ क्यूविक सालको काठ बरामद गरी आवश्यक कारबाहीका लागि सवडिभिजन वन कार्यालय कलुवापुरलाई बुझाइएको छ।

Logo